९ फाल्गुन २०७७, आईतवार
ताजा खबर
  

२० लाख डोजको भुक्तानी, तर १० लाख मात्रै खोप आउने

सरकारले कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आइतबार आउने भएको छ । सरकारले २० लाख डोज खोपका लागि करिब ९३ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले आइतबार दश लाख डोज कोभिसिल्ड खोप आउने बताए । अधिकारीका अनुसार एयर इन्डियाको उडानमार्फत खोप दिउँसो साढे १ बजे काठमाडौं आइपुग्नेछ । बिचौलियामार्फत २० सेन्ट महँगो पर्ने भएपछि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको पहलमा ४ डलरमा सीधै खरिद गरिएको हो । खोप भण्डारण क्षमता कम भएकाले हाल दश लाख डोज मात्रै आएको एक अधिकारीले बताए ।

पहिलो चरणमा आएको एक हप्तापछि थप दश लाख डोज खोप आउने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सरकारले २३ फागुनदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो । स्वास्थ्यमन्त्री त्रिपाठीका अनुसार २३ फागुनबाट ५५ वर्षमाथि उमेर समूहमा खोप लगाइनेछ । सरकारले विमानस्थलबाट खोप टेकुस्थित कोल्ड रुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण गर्नेछ । #नयाँ पत्रिका#