छेडागाडको चुवाँमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा

जाजरकोट, २ फागुन । छेडागाड नगरपालिका–३ को चुवाँमा शुुक्रबार नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । नगर कार्यपालिका निर्णयमा स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको आयुर्वेद शाखाले छेडागाडको चुवाँमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेको हो ।

आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथी लगाएतका चिकित्सा प्रर्णालीलाई एकीकृत रुपमा विकास र बिस्तार गर्न नेपाल सरकारले स्वास्थ्य नीति–२०७६ जारी गरेको जानकारी दिदै स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको आयुर्वेद शाखा प्रमुख प्रभात सुवेदीले स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहेको छेडागाडको चुवाँमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको जानकारी दिए ।

हाल विश्वलाई प्रभावित बनाई रहेको कोभिड–१९ जस्ता विभिन्न सरुवा रोगको रोकथाम, नियन्त्रण तथा उपचारमा आयुर्वेद, प्राकृतिक चिकित्सा प्रणाली, प्रभावकारी बन्दै गएको जानकारी दिदै शाखा प्रमुख तथा कविराज सुवेदीले चुवाँमा स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्रले सुत्केरी आमा, नवजात शिशु, जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा लिन र दिन कोशे ढुङ्गा सावित हुने बिश्वास व्यक्त गरे ।

आयुर्वेदिक, युनानी, हामियोप्याथी एवं प्राकृतिक चिकित्सा प्रणालीको विस्तार तथा प्रबद्र्धन गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार नगरपालिकाले सबै वडाहरुमा व्यामसाला, आरोग्य केन्द्र र योग केन्द्रहरु स्थापना गर्ने कामलाई जोड दिने छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतराले भनाई राखेका थिए । चुवाँमा स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्रको सेवालाई प्रभावकारी बनाउन चाहिने भौतिकपूर्वाधार, औजार तथा सामाग्री, जनशक्ति र औषधीको अभाव हुन नदिने नगरप्रमुख महतराले प्रतिबद्धता व्यक्त गरेका थिए ।

पानसमा बत्ति बाल्नुको साथै बोर्ड पढेर, रिवन काटेर प्रमुख महतराले चुवाँको नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरेका थिए । ब्लड प्रेसर चेक गराएर औपचारिक रुपमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरेका नगर प्रमुख महतराले औपचारिक कार्यक्रमका नेपालमा संघीयता कार्यान्वयन अभ्यासमै रहेको बताएका थिए । प्रतिनीधि सभा बिघटनको मुद्धाको बहस महिनौसम्म संबैधानिक अदालतमा भइरहेको जानकारी दिदै महतराले नीति र विधिमा रहेर नेपालमा संघीयता कार्यान्वयन हुन अझै समय लाग्ने भनाई राखेका थिए ।

निरंकुश सामान्ति व्यवस्थाको अभ्यास गरेका र भोगेका पुर्खाका सन्तानहरुले संघीयतालाई कार्यान्वयन गरिरहेको बताउदै नगर प्रमुख महतराले राजनैतिक आस्था, विचार र संगठनका आधारमा प्रदेश सरकारका साँसदहरुले बजेट बिनियोजन गर्ने गरेको आरोप लगाएका थिए । संघीयताको सर्वोच्व निकायका रुपममा यतिवेला देशमा तीन तहका सरकारहरु रहेको जानकारी दिदै नगर प्रमुख महतराले गाउँ तथा नगरसभाले प्राथामिकतामा राखेका आयोजनाहरुलाई प्रदेश सरकार र संघीय सरकारले समाबेश नगर्ने हो भने, सह–अस्तित्वको सिद्धान्त लागु हुन नसक्ने तर्क गरेका थिए ।

कोभिड–१९ जस्ता विश्वमा देखिएका विभिन्न सरुवा रोग र जलवायु परिवर्तनको असरले विश्व मानब समुदायलाई प्राकृतिक चिकित्सा प्रणालीमा जान बाध्य पारेको नेकपा जाजरकोट प्रचण्ड–नेपाल समुहका सचिवालय सदस्य चन्द्रबहादुर थापा (अपिल) ले भनाई राखेका थिए । नेपालका ऐन, कानुन र संविधानले जनधनको सुरक्षा गर्ने, भौगलिक विकास गर्ने, आर्थिक समृद्धिद्धारा जनतामा भएको गरिबी घटाउने, बेरोजगारी समस्यालाई समाधान गर्न उद्यमशिलता र स्वरोजगारका कार्यक्रम ल्याउने जिम्मेवारी स्थानीय तहलाई दिएको थापाले बताए ।

 

स्थानीय तहका प्रमुख तथा जनप्रतिनीधिहरुले राजनैतिक आस्था, विचार र संगठनका आधारमा नभएर भुगोलको आबश्यकताका आधारमा विकास निर्माणका कामहरुलाई अगाडी बढाउनुपर्नेमा थापाले जोड दिएका थिए । विकास निर्माणमा स्थानीय तहका जनप्रतिनीधिहरुको ईच्छाशक्तिमा भरपर्ने बताउदै नेकपाका नेता थापाले हाल राष्ट्रिय राजनीतिमा देखा परेको अन्यौलताबाट स्थानीय तहका जनप्रतिनीधिहरु प्रभावित हुन नहुने भनाई राखेका थिए । जनताको ईच्छाशक्ति र भुगोलको आबश्यकतालाई सहि ढंगले मुल्याङ्कण गर्न सकिएमा छोटो समयमा पनि धेरै विकास निर्माणका कामहरु सम्पन्न गर्न सकिनेमा नेता थापाले भनाई राखेका थिए ।

नागरिक आरोग्य सेवा केन्द्रको भवन निर्माण लगाएतका अन्य कामको लागि आबश्यक पर्ने जग्गा चुवाँकै ऐवान बुढाले दान गर्नुको साथै जग्गा रजिष्टेशन गरिसकेको जानकारी दिदै थापाले भवन निर्माणको लागि आबश्यक बजेटको व्यवस्था गर्न नगर प्रमुख महतरालाई अनुरोध गरेका थिए । जिल्ला सदरमुकाम खलंगामा रहेको ५० शैयाको जिल्ला अस्पताल, आयुर्वेद अस्पताल र जनस्वाथ्य कार्यालय संघीयता कार्यान्वयन पश्चात प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगत रहनेगरी स्वास्थ्य सेवा कार्यालयको छाँताबाट सेवा प्रवाह गरिरहेको अस्पताल विकास समितिकी अध्यक्ष धर्मशिला बस्नेतले बताईन् ।

नेपाल सरकारको स्वास्थ्य नीति–२०७६ अनुसार देशका सबै स्थानिय तहमा आयुर्वेद अस्पतालका शाखाहरु हुनुपर्ने बताउदै अध्यक्ष बस्नेतले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यस बर्ष जाजरकोट जिल्लामा आयुर्वेद शाखा बिस्तार गर्न ४ वटा कोटा दिएको जानकारी दिएकी थिईन । मन्त्रालयले जिल्लालाई दिएको कोटा अनुसार बारेकोट गाउँपालिकाको लिम्सामा, कुशे गाउँपालिकाको थर्पुभार्मामा, जुनीचाँदे गाउँपालिकाको मेशुमा र छेडागाड नगरपालिकाको चुवाँमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको जानकारी दिईन् ।

भेरी नगरपालिकाको खलंगामा, नलगाड नगरपालिकाको दल्लीमा, शिवालय गाउँपालिकाको जुगाथापाचौरमा, छेडागाड नगरपालिकाको कार्कीगाउँमा रहेका आयुर्वेदका शाखाहरुले स्वास्थ्य सेवा दिदै आएको अध्यक्ष बस्नेतले जानकारी दिईन् ।

अमुल्य मानव सम्पती भनेकै स्वास्थ्य भएको बताउदै अध्यक्ष बस्नेतले चुवाँमा स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्रको बृद्धि विकासमा जोड दिन स्थानीय तहका जनप्रतिनीधि र नागरिकहरुलाई अपिल गरेकी थिईन । देशमा व्यवस्था परिवर्तनको लागि ठुला–ठुला राजनैतिक आन्दोलन र क्रान्तिहरु भएको बताउदै अध्यक्ष बस्नेतले अन्त त सबै आन्दोलन र क्रान्तिहरु सहमति र सम्झौतामा आएर टुङ्गिएको भनाई राखेकी थिईन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी हाल विभाजनको दिशामा अगाडी बढेको भएता पनि अन्तिममा सहमति र सम्झौताको बिन्दुमा आई पुग्ने बिश्वास व्यक्त गर्दै अध्यक्ष बस्नेतले राजनैतिक आस्था, विचार र संगठनका आधारमा कुनै पनि जनप्रतिनीधिहरुले निर्णय लिन नहुने भनाई राखेकी थिईन् । चुवाँको नागरिक आरोग्य सेवा केन्द्रबाट हिमप्रकास थापाले दैनिक आयुर्वेद स्वास्थ्य सेवा दिने भएका छन् ।

तपाईको प्रतिक्रिया