१ फाल्गुन २०७७, शनिबार

चार हजार नदिएको झोकमा महिलाको

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, की एक महिलाको हत्या भएको छ । माघ २६ गते वेपत्ता भएकी ५३ वर्षिय देवीकला घर्ती माघ २८ गते मृत अवस्थामा फेला परेको प्रहरीले आज मात्र जानकारी गराएको छ ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले स्थानीय २३ वर्षिय दिपेन्द्र पुनलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा २ वर्ष अगाडि सापटी दिएको ४ हजार रुपैंया फिर्ता माग्दा नदिएको झोकमा पुनले घर्तिको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टाउकामा ढुंगाले हानेर घिसार्दै जंगलमा लिएर फालेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

२६ गते दिउँशो १ बजे किनमेलका लागि स्थानीय नाउला भन्ने स्थानमा गएको र त्यो दिन साँझसम्म घर नआई बेपत्ता भएपछि स्थानीयले खोजतलास गर्दा माघ २८ गते बेलुकी ५ बजेतिर स्थानीय टाकुरा गाउँको पाखो जंगलमा मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खवर गरेको डिएसपि श्रेष्ठको भनाई छ ।

प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि पिडित पक्षबाट हिजो कर्तव्य ज्यान शिर्षकको किटानी जाहेरी लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।