२१ माघ २०७७, बुधबार
ताजा खबर
  

विद्यालयमा जनवादी शिक्षा


                                        उपप्रा.पूर्णबहादुर सुनार एम‍ एड
“माक्र्सवादमा हजारौं सत्य छन् । एउटै वाक्यमा भन्नुपर्दा विद्रोह गर्नु जनताको अधिकार हो” भन्ने भनाइ माओको हो । शिक्षा औपचारिक र अनौपचारिक दुई किसिमका छन् । हिजोआज हामीहरु सूचनाको सागरमा डुब्छौं तर ज्ञान र समझदारीको अभाव भने भएकै छ । ज्ञानलाई योजनाबद्घ ढङ्गले समझदारीमा बदल्न सकिन्छ । समझदारीले हामीलाई सफलता दिलाउँछ ।
शिक्षाको भूमिका धेरै नै महङ्खवपूर्ण हुन्छ । यसको प्रभाव धेरै समयसम्म रहन्छ यसको असरको लहरा अनगिन्ती छन् । शिक्षा यस्तो हुनुपर्छ जसले एक पेट खानको निमित्त मात्र नभएर बाँच्ने तरिका सिकाउनको निमित्त पनि हुनुपर्छ ।
हाम्रा बालबालिकालाई विद्यालयमा जीवनोपयोगी र व्यावहारिक तरिकाले रुपान्तरण गर्न सक्नु पर्छ । उनीहरुको ज्ञान, सीप र धारणा निर्माणमा कसरी सहयोग गरिरहेको ? भन्ने प्रश्न शिक्षासम्बन्धी आधारभूत प्रश्न हो । यस प्रश्नको एउटा आधार पाठ्यक्रम र पाठ्यपुस्तक पनि हो । हाम्रो पाठ्यक्रम अव्यावहारिक, अवैज्ञानिक र घोर सैद्घान्तिक रहेको सत्यलाई बोध गर्दै यसको रुपान्तरण र सुधारका विषयमा बहस चलाउनै पर्ने भएको छ ।

भारतका शिक्षाविद् जिड्डु कृष्णमूर्तिको भनाइ यस्तो छ, निश्चय नै विद्यालय एक यस्तो स्थान हो, जहाँ हामी जीवनको सम्पूर्णता र समग्रताको बारेमा सिक्दछौं। जुन ज्ञानविज्ञानसम्बन्धी उत्कृष्टता नितान्त आवश्यक छ ।  शिक्षा केवल शास्त्रीय बौद्घिक कौशलमाथि निर्भर रहँदैन अपितु मन मस्तिष्कलाई बुझ्नलाई पनि बल दिनुपर्ने आवश्यकता हुन्छ । शिक्षाले जीवनयापन र प्राविधिक कुशलतामात्र नसिकाएर मानिसलाई बाँच्ने कुशलता पनि सिकाउनु पर्छ । विद्यालय यो स्थल हो जहाँ शिक्षक र शिक्षार्थीहरु बाह्य जगत र जानकारीको दुनियाँको मात्र अन्वेषण गर्दैनन् ।बरु उनीहरु आफ्नो विचार र व्यवहारको पनि अन्वेषण गर्दछन् ।

कम्तीमा पनि शिक्षामा गणतन्त्रको चेतना र रुपान्तरणको अवस्थामा रहेको नयाँ नेपालको विषयले मात्र पनि प्रवेश पायो भने पहिलो स्तरको सुधार भएको मान्न सकिन्छ । यसका लागि विद्यार्थी सङ्गठन, शिक्षक सङ्घ तथा सांस्कृतिक योद्धाहरुको ध्यान जानु जरुरी छ ।

विद्यालय र उच्चविद्यालय समेतमा अहिले पठनपाठनमा प्रयोग भएका भाषा, साहित्यका पाठ्यवस्तु अत्यन्त यथास्थितिवादी र परम्परागतबाट मुक्त रहेका छैनन्। नेपाली बालबालिकाले कस्ता भाषा, साहित्य पढ्नुपर्ने हो र ती पाठहरुको अन्तरवस्तु कस्तो हुनुपर्ने हो भन्ने विषयमा नीतिनिर्माण तथा सम्बन्धित निकायलाई दबाब सिर्जना गर्ने काम हुन सकेको छैन ।

फलस्वरुप भानुभक्त वा लेखनाथ अथवा अरु कसैका नामका साहित्य पढाउनुुपर्ने बाध्यता छ । यसमा आर्थिक, सांस्कृतिक, राजनीतिक उत्पीडन र त्यसबाट मुक्ति पाउनुपर्ने कुराको बोध हुने खालका सामग्री त छैनन् भने सामन्तवाद र साम्राज्यवादबाट मुक्तिका लागि आवश्यक प्रगतिशील सामग्री त छँदै छैनन् । दबाव र आन्दोलनबाट सुधार ल्याउन सकिने अवस्था पनि छँदै छ ।

साहित्यको हाम्रो पाठ्यक्रम कस्तो हुने भन्नेबारे हामीले बहस चलाउनु जरुरी छ । यस्तो बहस प्रगतिवादीहरुका बीचमा मात्र होइन, शिक्षाका बारेमा अग्रगामी र प्रगतिशील मान्यता राख्ने सबैका बीचमा चलाउनुपर्छ । साहित्य कुनै पनि देशका जनताको जीवनको अभिव्यक्ति दिने हुनुपर्छ भन्नेबारे सहमति बनाउन सकिने भएपछि पाठ्यक्रममा राखिले विषयवस्तुबारे पनि सहमति निर्माण गर्न सकिन्छ ।

साहित्यले शाब्दिक विम्बका रुपमा विद्यार्थीको रचनात्मक क्षमताको विकास गर्न सक्नुपर्छ । यसले मानसिक र बौद्धिक परिष्कारको चेतनालाई आत्मसात् गर्न सक्नुपर्छ र श्रमप्रति आस्था जगाएर आफूलाई पनि त्यसमा प्रवृत्त गराउन सक्नुपर्छ । विद्यालयमा साना कक्षादेखि माथिल्ला कक्षाहरुमा नेपाली, अङ्ग्रेजी, नेवारी, मैथिली, मगर, तामाङ आदि भाषालगायतका साहित्यको पठनपाठन हुने गरेको छ । देशका बीस लाखभन्दा बढी बालबालिकाले पढ्ने साहित्यमा पाठबारेमा देशको प्रगतिशील बौद्धिक समूह मौन जस्तै छ ।

नेपाली भाषा बाहेकका अन्य भाषाका साहित्यिक पाठ र तिनको छनोटमा त झन् समस्या रहेको छ । कुनकुन लेखकका पाठ कसरी र कुन प्रक्रियाबाट चयन भएका हुन भन्नेबारे नै अन्योलको अवस्था छ । यी सबै भाषाका पाठ चयनका आधारहरुबारे पनि स्पष्ट हुनु आवश्यक छ । बादशाहलाई पनि ढाल्ने शक्ति भएका हामी क्रान्तिकारीले आँट्यौं भने शैक्षिक विकृति र विसङ्गतिका केन्द्रमा प्रहार गर्न र त्यसको अन्त्य गर्न पनि सक्छौं ।

विद्यालयमा जनवादीपनको शिक्षाका लागि विद्यार्थी केन्द्रित कार्यकलाप, सहभागितामूलक शिक्षणविधि,पर्याप्त शैक्षणिक सामग्री साथै अत्याधुनिक सूचना प्रणालीको पहँुचमार्फत विद्यार्थीहरुको बौद्धिक क्षमतामा गुणात्मक विकास गर्ने कुरामा केन्द्रित हुनुका साथै व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यमा हामी सबैमा चासो छ ।

तसर्थ आफ्नो कार्यको विषयमा कुनैपनि विश्वासको कुनै माग या अपेक्षा छैन, यहाँ अनुयायी छैनन् यहाँ कुनै वाद र सम्प्रदाय छैन, कुनै पनि दिशामा उन्मुख गर्नको लागि कुनै पनि प्रकारले फुस्ल्याउने र प्रेरित गर्ने कुरा छैन । यसका लागि भय, पूर्वसंस्कार, सत्ता प्रामाण्य र रुढिवादीताबाट मुक्त हुनुपर्दछ । जसले सर्वसाधारण र सर्वहारा वर्गका छोराछोरीले पनि शिक्षा ग्रहण गर्न सकुन् । अन्यथा व्यायापारीकरण गरिएका विद्यालयहरुको भुलभुलैयामा भुलेर विद्यार्थीको मात्र होइन अभिभावकको सपना र चाहना पनि भताभुङ्ग हुने स्थिति निश्चित छ ।
                 

                लेखक भेरी ज्ञानोदय क्याम्पसका उपप्राध्यापक हुन् ।