दुर्गम गाउँमा नक्कली प्रमाणले असुल्दै पैसा, सोलार र चुलोमा भ्रम, चार जना प्रहरी नियन्त्रणमा

पक्राउ परेका ठगी धन्दामा संलग्न चार जनालाई प्रहरीले गर्यो सार्वजनिक

जाजरकोट, १९ माघ । नक्कली कागजात बनाएर सौर्य उर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको नलगाड नगरपालिकाका विभिन्न वडाबाट रकम संकलन गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका ९ स्थायी ठेगाना भई हाल नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने बर्ष २६ का यज्ञप्रसाद रेग्मी र सोही ठाँउका ३३ बर्षिय लक्ष्मीप्रसाद हमाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए । त्यस्तै, जाजरकोट बारेकोट १ रामीडाँडा निवासी ४० बर्षका हरिचन्द्र बस्नेत र सोही ठाँउका ३३ बर्षिय मानबहादुर महतारा रहेको थापाले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको उनको भनाई छ ।

नलगाड नगरपालिकाले ग्रामीण विकास तथा क्लीन इन्भरमेन्ट नेपाल नामक संस्थालाई सोलार वितरणका लागि अनुमति दिएको थियो । नगरको अनमुति अनुसार वडाध्यक्षहरुले नै अति विपन्न परिवारका लागि ८० वाट क्षमताको सौर्य उर्जा र ३५ केजी तौलको सुधारिएको चुलो जडान गरिदिने भन्दै प्रत्येक घरधुरीबाट तीन हजार सात सय ५० रुपैया संकलन गरेका थिए ।

सोलार र चुलोको मुल्य २५ हजार पर्ने भएपनि २१ हजार दुई सय पचास बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र ग्रामीण विकास तथा क्लीन इन्भरमेन्टले ब्यहोर्ने भन्दैै झुक्याएका थिए । तर वडाध्यक्षहरुले नगद बुझेको नगदी रसिद नदिएर सामान बुझेको भरपाई गराएका थिए ।

एउटै वडाबाट ६ लाख रुपैयाँ सम्म संकलन भैसकेको स्थानियको भनाई छ । नलगाडका १३ वटै वडाबाट संकलन गरिएको रकम वडाध्यक्ष मार्फत उक्त संस्थालाई बैक मार्फत पठाउने फारम भरेको ४५ दिन भित्र समान उपलब्ध गराउने उल्लेख गरिएको थियो । भरपाई लगायतका कुरामा समेत संकास्पद देखिएपछि उनीहरुको ठगी धन्दा सार्वजनिक भएको हो ।

नगरपालिकाले समेत संस्थाको आधिकारिकता बुझ्दै नबुझी अनुमति दिएकोले आफुहरु ठगिमा परेको स्थानियको भनाई छ । आफ्नो संस्थाको नाम जोडेर रकम संकलन गरिरहेको जानकारी पाएपछि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले आइतवार एक विज्ञप्ती प्रकाशित गरि केन्द्रको कुनै सहकार्य, समन्वय र साझेदारी नरहेको स्पष्ट पारेको छ ।

केन्द्रका नायव कार्यकारी निर्देशक तथा प्रवक्ता नवराज ढकालले अनाधिकृत दुष्प्रचार र गलत कार्य गर्ने संस्था सँग सजग रहन आग्रह गरेका छन् । विज्ञप्तीमा भनिएको छ ‘ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपाल नामक संस्थाले अनाधिकृत रुपमा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र सँगको

सहकार्य रहेको दुष्प्रयास गदै जाजरकोट लगायतका केही जिल्लाका विभिन्न समुदाय, घरधुरीबाट सौर्य उर्जा र सुधारिएको चुलो जडानको लागि अमन इन्टेरियर एण्ड डेकोरेशन विजनेश गु्ररुप नामक संस्थालाई जिम्मेवारी दिइएको भनी रकम संकलन गरेको जानकारी प्राप्त भएकोले उक्त सँस्था सँग यस बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कुनै समन्वय, सहकार्य र साझेदारी नरहेको तथ्य सवै सरोकारवालाहरुलाई जानकारी गराउँदछौ ।’

जिल्ला बाहिरबाट अनाधिकृत संस्था र ठगी कार्यमा प्रत्यक्ष संलग्न वडाध्यक्षका विरुद्ध समेत उजुरी दिने तयारी भैरहेको नलगाड नगरपालिका ३ का कमल प्रसाद रोकायले जानकारी दिए ।

पक्राउ परेका ठगी धन्दामा संलग्न चार जनालाई प्रहरीले गर्यो सार्वजनिक
नक्कली कागजात बनाएर ठगी धन्दा गरिरहेका चार जनालाई जाजरकोट प्रहरीले आईतबार पक्राउ गरेको थियो । आबश्यक अनुसन्धान पश्चात पक्राउ परेका चार जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । पक्राउ परेका ४ जनाको शरिर खानतलास गर्दा प्रहरीले ४ लाख ४० हजार ४ सय ४५ रुपैया नगद सहित अन्य सामानहरु बरामद गरेको छ ।

जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाका नागरिकहरुबाट रकम संकलन गरीरहेका चार जनालाई जाजरकोटको प्रहरीले जिल्ला सदरमुकाम खलंगाको शान्तिचौतारा स्थित राज सेकुवा एण्ड सुकुटी सेन्टरको छैठौ तलाको उत्तर पश्चिम कोठा भित्र बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले जानकारी दिएका छन् ।

गोप्य सुचनाको आधारमा पुजा केसी (बोहरा) ले शान्चिौतारामा संचालन गर्दै आएको राज सेकुवा एण्ड सुकुटी सेन्टरको छैठौ तलाको उत्तर पश्चिम कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख थापाले बताए ।

प्रहरीले पक्राउगरी सोमबार सार्बजनिक गरिएकाहरुमा जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका–९ हाल बाँके जिल्लाको नेपालगञ्ज उप–महानगरपालिका–१८ बिशालचोकका २६ बर्षिय यगप्रसाद रेग्मी, चन्दनाथ नगरपालिका–९ श्रीढुस्काका ३३ बर्षिय लक्ष्मीप्रसाद हमाल, जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडाका ४० बर्षिय हरिचन्द्र बस्नेत र ३३ बर्षिय मान बहादुर महतारा रहेका छन् ।

पक्राउ परेका चार जनाबाट प्रहरीले ४ लाख ४० हजार ४ सय ४५ रुपैया नगद सहित ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपाल लेखिएको प्रयोग भएको लेटर प्याड, अमन ईन्ट्रेरियर एण्ड डेकरेशन विज्नेश ग्रुप लेखिएको खाली लेटर प्याड, छाप, च्म्ऋल् लेखिएको खाली लेटर प्याड, छाप, रकम संकलन गरेको रजिष्टर, रकम बुझाएको ठेलीको अर्धकट्टी, ६ वटा नेपाली नागरिकताको प्रमाण–पत्र, ३ वटा मतदाता परिचय–पत्र, कृषि विकास बैक लिमिटेडको चेक बुक, नलगाड नगर कार्यपालिकाको कार्यालयको पत्र, ३ वटा मोवाईल तथा अन्य कागज पत्रहरु बरामद गरेको डिएसपी थापाले जानकारी दिएका छन् ।

चार जनाका विरुद्धमा जिल्ला प्रहरी कार्यालयले ठगी सम्वन्धीको कसूरमा मुद्दा दर्ता गर्नुको साथै जाजरकोट जिल्ला अदालतबाट १० दिनको लागि म्याद थप गराई आबश्यक अनुसन्धान गरी रहेको छ । प्रारम्भिक सुधपुछ गर्दा ७ हजार थान सौर्य उर्जा (सोलार सेट) तथा सुधारिएको फलामे चुलो वितरण हवाला दिएर ठगी गर्ने गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया