फाईल तस्वीर
जाजरकोट, २ माघ । स्थानीय तहमा अनियमितता र भ्रष्टाचारले सिमा नाघेको छ । सार्वजनिक निर्माणका योजनाहरु सम्पन्न भैसक्दा पनि उपभोक्ता समितिले पैसा नपाएर कामदारहरु ठगिएको पाइएको छ । जाजरकोट शिवालय गाउँपालिका ७ का वडाध्यक्ष बिरवल खत्रीले आफुले गरेको भ्रष्टाचारको ढाकछोप गर्न सर्वसाधारणलाई गाली गलौज र धम्की दिने गरेको पाइएको छ ।
२०७५ मंसिर देखि असार मसान्तसम्म निर्माण गरी सक्नुपर्ने सोही वडामा रहेको स्वास्थ चौकीको दुई कोठाको शौचालय निर्माणका लागि स्वच्छता परियोजना संस्थाले रु ९ लाख ९५ हजार र गाउँपालिकाले रु १० लाख ६८ हजार ८ सय ८५ गरि जम्मा रु १९ लाख ७८ हजार ३सय ८५ छुट्याएको थियो । उक्त दुई कोठाको शौचालय निर्माणको लागि निर्माण समिति गठन गरिएको थियो । उपभोक्ता निर्माण समितिमा क्रमशः मोहन बुढा अध्यक्ष, पदम बिक सचिव, धन बहादुर शाही कोषाध्यक्ष रहेका थिए ।
यस्तै सदस्यहरुमा रबिन्द्र खनाल, प्रतीभा वि.सी. लगायत रहेको निर्माण समिति गठन गरिएको थियो । उक्त शौचालय निर्माणको काम सकिएको करिब २ बर्ष बितिसक्दा पनि मजदुरहरुले काम गरेको पैसा पाएका छैनन् । स्वच्छता परियोजना संस्थाले समान सहित सबै रकम चुक्ता गरिसकेको र गाउँपालिकाबाट पाउनु पर्ने रकम रु १० लाख ६८ हजार ८ सय ८५ मा जम्मा रु दुई लाख मात्र पाएकोे र बाँकी रु ८ लाख ६८ हजार ८ सय ८५ रुपैयाँ वडाध्यक्षले अहिलेसम्म नदिँदा कामदारहरुलाई दिन नसकिएको र स्थानीय जनप्रतिनिधिबाट सोझो सिधा जनता ठगिनु परेको उपभोक्ता निर्माण समितिका अध्यक्ष मोहन बुढाले बताए ।
रकम दिनुको साटो वडाध्यक्ष खत्रीले अझै उल्टै गाली गलौज र धम्की दिएको उपभोक्ता निर्माण समिति अध्यक्ष बुढाले बताए । लामो समयसम्म काम गरेको पैसा नपाएपछि गत पुस २० गते वडा भेलाको क्रममा कामदारहरुले काम गरेको पैसा पाउनुपर्ने माग राखेका थिए । सोही क्रममा वडाध्यक्ष वीरबल खत्रीले निर्माण समितिका अध्यक्ष मोहन बुढालाई हातपात गर्न खोजेका थिए ।उपस्थित सबैले उक्त रकम निर्माण समितिले पाउनुपर्ने माग राखेका छन ।
जनप्रतिनिधिहरुको यस्तो हर्कत र भ्रष्टाचारका विरुद्ध युवाहरु एकजुट भएर प्रतिकार गर्ने तयारी थालेका छन् । यस विषयमा बुझ्न वडाध्यक्ष खत्रीसँग सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । #भेरीमालिका#
















































। २ माघ २०७७, शुक्रबार