सामूहिक सरुवा माग गर्दै जुनीचाँदेका कर्मचारी प्रशासन

जाजरकोट, १ माघ । जुनीचाँदे गाउँपालिकामा कार्यरत सबै कर्मचारीले सामूहिक सरुवाको माग गरेका छन् । आफूहरूको सुरक्षाको ग्यारेन्टी नभएको भन्दै उनीहरूले सामूहिक सरुवाको माग गरेका हुन् । कर्मचारीले सामूहिक सरुवाको माग गर्दै गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । ‘दैनिक धम्की आउँछ, हाम्रो सुरक्षाको ग्यारेन्टी छैन’ प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले भने, ‘मैंले पहिले नै सरुवा मागेको थिएँ, अहिले साथीहरूले पनि माग्नु भएको छ।’

आइतबार राति मात्रै प्रशासकीय अधिकृतलाई छेडागाड नगरपालिका–६ का कृष्णबहादुर खड्का र जुनीचाँदे गाउँपालिका–१० का प्रेमबहादुर शाहीले क्वाटरमै आएर धम्काएका थिए । कर्मचारीहरूले धम्की दिनेलाई कारबाही गर्न पनि माग गरेका छन्। ज्ञापनपत्रमा शान्तिपूर्ण वातावरण नभएसम्म अत्यावश्यक बाहेकका सेवा दिन नसकिने पनि उल्लेख गरिएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले कार्यालयमा शान्तिपूर्ण वातावरण मिलाउने र कर्मचारीलाई काममा फर्कन आग्रह गरिएको बताए । उनले भने, ‘हामीले सुरक्षाको व्यवस्था गर्ने सोचेका थियौँ, त्यहाँ बाट प्रमुख प्रशासकीय अधिकृत सरले कुरा मिलि सक्यो भन्नुभएको छ ।’ यता आरोपित पक्षलाई फोन गर्न खोज्दा फोन उठेन ।

तपाईको प्रतिक्रिया