जाजरकोट, २५ पुस । डोल्पा भेरी कोरीडोर मार्ग अन्तर्गतको खलंगा पासागाड देखि रिम्नासम्मको सडक खण्ड स्तरोन्नति तथा कालोपत्रेको काम अगाडि बढेको छ । १६ किलोमिटर दुरीमा कालोपत्रे काम अगाडि बढेपछि स्थानीयलाई आवतजावतमा सहज हुनुको साथै धुलोको सास्ती हट्ने भएको हो । खलंगा रिम्ना सडक ट्रयाक खोलिएको १२ बर्ष पछि स्तरोन्नती तथा पिचको काम थालिएको छ ।
हिउँदमा धुलाम्मे तथा बर्खामा हिलाम्मे हुने सडकका कारण स्थानीयले संधै हैरानी ब्यहोर्दै आएका थिए । सडक निर्माणको काम अगाडि बढेपछि ठुलो संख्या स्थानीय मजदुरहरुले काम पाउनुको साथै रोजगारी पाएको भेरी नगरपालिका १ पिपेका भीमबहादुर रानाले बताए । कामको खोजीमा जिल्ला बाहिर जानु पर्ने बाध्यता थियो सडक निर्माणले बेराजगारीलाई रोजगारी मिलेको पिपेका हेमन्त बस्नेतको भनाई छ । अहिले पासागाड, इउरी, फुलबारी, कालेगाउँ, रावतगाउँ, पिपे, सालघारी, रिम्ना लगाएत स्थानमा धमाधम काम भईरहेको छ ।
सडक कडा चट्टान फोड्ने, सडक चौडा गर्ने, नाली निर्माण, माटो कटिङ्ग, मेसनरी वाल लगाउने लगाएतको काम भइरहेकोे दिवा–यति विल्डर्स जे.भीका साइट इन्चार्ज लक्ष्मण खतीवडाले जानकारी दिए । ‘तीन बर्ष भित्रमा निर्माण सक्ने गरी तिव्र गतीमा काम भइरहेको छ, उनले भने ।’
साँघुरो सडकको कारण सडक दुर्घटनाको जोखिम हट्नुको साथै स्थानीयलाई सहज सुविधा पुग्ने बारेकोट गाउँपालिका ९, सक्लाका धुब्र गौतमले बताए । सडकको पिपे सालघारीमा १ किलोमिटर स्थान परिवर्तन गरेर माथिको भागबाट सडकको सिधा तथा छोटो दुरी कायम गरिएको छ । रिम्ना र पिपेको विचको कडा चट्टान फुटाउने काम भईरहेको छ ।
सडकको स्तरोन्नति तथा कालोपत्रेको काम हुने भएपछि सवारी दुर्घटनामा कमी आउनुको साथै यातायात सन्चालनमा सहज हुने देखिन्छ । कच्ची सडक खाल्डाखुल्डी लगाएत कारण आवजावतमा निकै कठिन हुने गरेको थियो । दवा–यती विल्डर्स जे.भी साखदोवाटो ललितपुरले ५१ करोड लागतमा सडकको स्तरोन्नती तथा कालोपत्रको जिम्मा लिएको छ । व्यवसायीले ३ बर्षमा सडकको १६ किलामीटर दुरी कालोपत्रे गर्ने कार्य तोकेको समय अगावै सम्पन्न गर्ने गरी काम गर्दै आएको छ ।
सडकको कुल चौडाइ ९ मिटर छ । पासागाड देखि रिम्नासम्म सडक छेउछाउमा पर्ने घरको मुआव्जा वितरण प्रक्रिया अघि बढाएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । जाजरकोट – डोल्पा १ सय १७ किलोमिटर मोटरबाटो नेपाली सेनाले निर्माण गरेको हो । यो सडकको विभिन्न नदी तथा खोलामा दर्जन बढी मोटरेवल पुल निर्माण गर्नु पर्नेछ ।
















































। २५ पुष २०७७, शनिबार