
जाजरकोट, २४ मंसिर । जिल्लाको सदरमुकाम खलंगामा व्यवस्थित वसपार्क निर्माणको प्रक्रिया शुरुवात भएको बर्षौ वित्न लाग्दा पनि वसपार्क अझै निर्माण हुन सकिरहेको छैन । खलंगा बजारमा वसपार्कको अभाव भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज पन्त सहितको टोलीले नयाँ बर्षपार्क थाप्लेमा निर्माण गर्ने निर्णय गरेको थियो ।
भेरी नगरपालिकाको पहलमा वसपार्क निर्माणको काम अगाडि बढेपनि बजेट अभावमा बसपार्क निर्माण स्थल अलपत्र परेको छ । जिल्लामा दुई सय भन्दा बढि संख्यामा सवारी साधनहरु भएतापनि तिनीहरुको पार्किङ्गको ब्यवस्था अझै हुन सकिरहेको छैन । सदरमुकाम खलंगा बाट दैनिक दजर्न भन्दा बढि स्थानमा सवारी साधनहरु छुटने गर्छन ।
पहिले देखि वसपार्क निर्धारण गरिएको शान्तिचौतारामा सवारी साधनहरु नअट्ने भएपछि थाप्लेमा बसपार्क निर्माणका लागि २०७६ माघ २९ गते बाट वसपार्क निर्माणको काम सुरु गरिएको थियो । करिब १४ लाख ५९ हजार ९ सय ३५ लागतमा वसपार्क निर्माण उपभोक्ता समिती मार्फत गर्ने स्टमेट बनाइएको थियो ।
उपभोक्ता समितीले अहिले २ लाख खर्चमा जग्गा सम्माउने मात्र काम गरेको छ । बसपार्क निर्माणमा सरोकारवालाहरुले खासै चासो नदेखाएका छैनन । बसपार्कको समस्या स्थानीयलाई भन्दा सवारी धनीलाई भएतापनि उनीहरुले पनि खासै चासो नदेखाएकोले वसपार्क निर्माण कार्य अधुरै रहेको छ । वसपार्कको अभाव भएपछि वस धनीहरुले आ–आफनो घर अगाडि बसलाई पार्किङ्ग समेत गरिरहेका छन् ।
व्यवस्थित वसपार्क नहुँदा वसका महत्वपूर्ण पार्टसहरु चोरी हुने गरेको वस धनीहरुले दुखेसो गरीरहेका छन् । बसपार्क निर्माणका लागि थाप्लेमा रहेको सार्वजनिक जग्गा प्रस्ताव गरिएको छ । निर्माणस्थलमा डोजर प्रयोग गरी माटो सम्माउने काम भएपनि अरु महत्वपूर्ण काम हुनै बाँकी छ । जिल्लाको सदरमुकाम समेत रहेको नगपालिका भित्र सवारी चाप उच्च भएपनि ब्यवस्थित बसपार्कको उपलब्धता भने छैन । सदरमुकाम खलंगा बजारबाट दिनहुँ काठमाण्डौँ, पोखरा, सुर्खेत, नेपालगञ्ज नारायणगढ, बुटवल लगाएतका शहरमा सार्वजनिक सवारी साधनहरु छुटने गर्छन । तर जिल्लामा भित्रिएका र बास बस्नुपर्ने सवारी साधनहरु भने सुरक्षित ढङगले पार्किङ्ग गर्न पाएका छैनन ।
कामदारले पाएनन् ज्याला
वसपार्क निर्माणका लागि खटिएका कामदारले ज्याला नपाएको गुनासो गरेका छन । सदरमुकाम खलंगामा बस्ने कामदारले ज्याला नपाएको गुनासो गरेका हुन । उनीहरु कोरोना महामारीका कारण लकडाउनले छाक टार्न समेत मुस्किल परेको एक जना कामदारले नाम नखुलाउने सर्तमा बताए । ‘वसपार्क निर्माणको काममा रातादिन काम गरियो, तर हामीलाई नत उपभोक्ता समितीले पैसा दिएको छ नत नगरपालिका नै पहल गर्छ उनले भने ।’ हामी जस्ता मजदुर वर्गका लागि तत्काल ज्यालाको व्यवस्था गर्न आग्रह गरे । उनी मात्र होइन वसपार्क निर्माणका लागि खटिएका कुनै कामदारले ज्याला पाएका छैनन । न वसपार्क बनेको छ नत कामदारले पैसा पाएका छन कसले खायो पैसा भन्ने कुरा चर्चामा आएको देखिन्छ ।
नगरपालिकाले भुक्तानी दिएन उपभोक्ता समिती
निर्माणको पहल लिएको भेरी नगरपालिकाले भुक्तानी नदिएको उपभोक्ता समितीको आरोप छ । कुल १२ लाख लागतमा निर्माण हुन लागेको वसपार्कको हाल सम्म कुनै भुक्तानी नदिएको उपभोक्ता समितीले आरोप लगाएको हो ।
उपभोक्ता समितीका सचिव प्रकाश जंग शाहीले भेरीमालिका संग भने, ‘अहिले सम्म हामीले कुनै भुक्तानी पाएका छैनौ, उपभोक्ता समितीको पैसाले यहाँको जमिन सम्म्याउने काम भएको छ ।’ ‘पैसा नै भुक्तानी नभएपछि हामीले कसरी कामदारको ज्याला दिन सक्छौ उनले थपे ।’ यता निर्माणको पहल थालेको भेरी नगरपालिकाले कुनै पनि रकम भुक्तानी नभएको स्वीकार गरेको छ ।
नगरपालिकाका सुचना अधिकारी सुर्य लम्सालले, कोरोना भाइरसका कारण कुनै पनि रकम भुक्तानी हुन नसकेको बताए । ‘कोरोना भाइरस कामदार तथा नगरपालिका कर्मचारी देखियो, यसले गर्दा वसपार्क निर्माणको काम पनि रोकियो त्यसैले कुनै पनि रकम भुक्तानी भएको छैन उनले भने ।’ ‘उपभोक्ता समितीलाई भनेका छौँ अव आउनुहोस, केही पैसा लिएर जानुहोस् काम पनि तत्काल सुरु गर्नुहोस भनेको उनले थपे ।’ अव लेखापाल आएपछि तत्काल काम अनुसारको भुक्तानी गरिदिने बताए ।

















































। २४ मंसिर २०७७, बुधबार