
जाजरकोट, २४ मंसिर । गुणस्तरीय सेवा प्रवाहका लागि छेडागाड नगरपालिकामा आठ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको छ । पाँचतारा यूवा संरक्षक मञ्च र सेभ द चिल्ड्रेनको संयूक्त साझेदारीमा सञ्चालित नेपाली यूवाका लागि स्वास्थ्य रुपान्तरण परियोजनाले आठ लाख बराबरको सामग्री हस्तान्तरण गरेको हो ।
नगरपालिका भित्रका ७ वटा स्वास्थ्य संस्थामा ८ लाख बराबरको जिन्सी सामाग्रीहरु वितरण गरिएको पाँचतारा यूवा संरक्षक मञ्च जाजरकोटका कार्यरत्त मधुकर पाण्डेले जानकारी दिए । स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित, सरल तथा गुणस्तरीय बनाउनका लागि विभिन्न जिन्सी सामग्री हस्तान्तरण गरिएको उनको भनाई छ ।
विशेष गरी किशोरकिशोरी मैत्री सेवा र सेवा प्रवाहको क्रममा प्राप्त हुने तथ्यांक संकलन तथा व्यवस्थित गर्नका लागि डेस्कटप कम्प्युटर सेट, टेलिभिजन, टेवुल,कुर्सी,पोस्टर आदि सामग्री वितरण गरिएको उनले बताए । स्वास्थ्य संस्थाका साथै इन्द्रज्योती मावि साल्मा, रामोदय मावि दशेरा र वोगेश्वरी मावि पजारु गरी नगरपालिका भित्रका तीन विद्यालयमा खेलकुद सामग्रीहरुका साथै किशोरकिशोरी मैत्री सुचना कक्षको लागि आवश्यक सामग्री वितरण छ ।

स्वास्थ्य सेवा प्रवाहलाई जनमैत्री, गुणस्तरीय,व्यवस्थित, सहज तथा जनशक्तिको क्षमता विकास गर्ने विश्वास गर्नेमा सामग्रीले सहयोग गर्ने विश्वास लिईएको छ । पाँचतारा यूवा संरक्षक मञ्च र सेभ द चिल्ड्रेन विचको साझेदारी बाट आफ्नो कार्यक्षेत्र भित्रका स्वास्थ्य संस्थाहरुमा परियोजनाको सुरुवाती चरण बाट नै वेला वेलामा आर्थीक प्राविधिक, भौतिक, शैक्षिक रुपले सहयोग गर्दै आएको पाण्डेको भनाई छ ।
उक्त सामग्री उपलब्ध गराएकोमा आफुहरु साह्रै खुशी भएको र आगामी दिनहरुमा यस्तै सहयोग पाउने आशमा रहेको छेडागाड नगरपालिका प्रमुख लालबहादुर महताराले बताए । सामग्री वितरण कार्यक्रममा वडाका वडाध्यक्षहरु, नगर स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र कुमार शर्मा, सेभ द चिल्ड्रेका कार्यक्रम संयोजक चन्द्रसिंह सेजुवाला, तथा विभिन्न गैर सरकारी संस्थाहरुको उपस्थिति रहेको थियो । भेरी नगरपालिकाका स्वास्थ्य चौकीहरुमा पनि सामग्री हस्तान्तरण गर्ने परियोजनाले जनाएको छ ।
















































। २४ मंसिर २०७७, बुधबार