अपाङ्गता भएकाहरुमाथि अझै विभेद, गाउँगाउँमा सरकार आए, अधिकार आएन

सन्दर्भ तस्वीर
जाजरकोट, १९ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुमाथि समाजमा अहिले पनि विभेद कायमै रहेको सरोकारवालाहरुले औल्याएका छन । अपाङ्गता भएका व्यक्तिहरु पनि समाजका अन्य व्यक्ति सरह नभएको भन्दै उनीहरुले सबैमा समान अवसर हुनुपर्नेमा जोड दिएका छन ।

स्थानीय सरकार घरघरमा पुगे पनि अपाङ्गता भएका व्यक्तिले भने अधिकार नपाएको उनीहरुको गुनासो छ । भेरी नगरपालिकाको अपाङ्ग संघले २९ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विहीबार खलंगामा आयोजना गरिएको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन ।

जाजरकोटमा अपांगता भएका व्यक्तिहरुको अवस्था कस्तो छ भन्ने कुराको कुनै तथ्यांक समेत नभएको अपांग संघ जाजरकोटका सचिव विशाल किरण बस्नेतले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिहरुले राज्य बाट पाउने सेवा सुविधा समेत नपाएको उनको भनाई छ । उनले अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त विद्यालय र होष्टेलको अभाव, पहुँचयुक्त भौतिक संरचना र समुदाय तहमा पुर्नस्थापना सेवाको अभाव भएको बताए ।

नजारेरै परिवार भित्रै पनि अपाङ्गता भएका व्यक्तिहरुलाई विभेद भईरहेको उनको भनाई छ । अपाङ्गता संघ जाजरकोटका अध्यक्ष यमबहादुर बस्नेतले राज्यको स्पष्ट नीति नबन्दा अपाङ्गता भएका व्यक्तिहरुले समस्या झेल्नुपरेको बताए । स्थानीय सरकारले नै अपाङ्गताहरुको पहिचान गर्नुपर्ने उनको भनाई छ ।

पत्रकाहरुले समेत समाचार लेख्दा शब्द चयनमा ध्यान दिनुपर्ने उनको भनाई छ । भेरी नगरपालिका उपप्रमुख भावना भण्डारीले अपाङ्गता भएका व्यक्तिहरुका लागि आर्यआर्जनमुलक कार्यक्रम ल्याउने बताईन । उनीहरुको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने उनको भनाई छ ।

सार्वजनिक यातायातमा हुदैन छुट
सार्वजनिक यातायातको भाडामा छुट नहुने अपाङ्गता भएका व्यक्तिहरुले गुनासो गरेका छन । दैलेख घर भएका गङ्गे अधिकारी जाजरकोटको भेरेमा पढ्ने विद्यार्थी हुन । उनी दृष्टिविहीन हुन । तर सुर्खेत बाट जाजरकोट आउँदा मलाई छुट हुन्छ मात्र भनेका थिए । गाडीवालाहरुले तपाई नचढ्नुहोस भने उनले दुखेसो पोखे ।

उनी मात्र होइन अपाङ्गता भएका कुनै पनि व्यक्तिले सार्वजनिक यातायातमा छुट पाउन सकेका छैन । सरकारले अपाङ्गता भएक व्यक्तिहरुका लागि सार्वजनिक यातायातमा छुट हुने व्यवस्था भएपनि कार्यान्वयन नभएको अपाङ्गता भएका व्यक्तिहरुले बताउँदै आएका छन ।

तपाईको प्रतिक्रिया