जाजरकोटमा कोरोना कहर : सावधानी घट्यो त्रास हटेन

अनिवार्य रुपमा मास्कको प्रयोग गर्न प्रशासनको निर्देशन

No description available.जाजरकोट, १९ मंसिर । घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न जाजरकोट प्रशासनले निर्देशन जारी गरेको छ । विहीबार बसेको नोभेल कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय समन्वयन समितीको वैठकमा अनिवार्य मास्कको प्रयोग गर्न निर्देशन जारी गरिएको हो ।

घर भित्र बसेको अवस्थामा बाहेक अन्य अवस्थामा हिडडुल गर्ने,यात्रा गर्ने,पठनपाठन गर्ने लगायत जुनसुकै क्रियाकलापमा संलग्न जो कोहीले अनिवार्य मास्कको प्रयोग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

उनले भने, ‘कोरोना भाइरस संक्रमितको संख्या धेरै नभएपनि कारोनाको जोखिम कायम रहेकोले अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ ।’ मास्कको प्रयोगले कोरोनाको जोखिमलाई न्युनिकरण गर्न ठुलो सहयोग गर्ने भएकोले अनिवार्य मास्कको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय जाजरकोटले अपिल समेत गरेको छ ।

साथै, अहिले जिल्लाका विद्यालयहरु सञ्चालनमा रहेको जानकारी हुन आएकोले उक्त क्षेत्रमा सञ्चालित विद्यालयमा के कसरी पठनपाठन गरिएको छ, ती विद्यालयमा कोभिड १९ संक्रमणको रोकथामका उपायहरु अवलम्वन गरिएका छन छैनन, यावत विषयमा विद्यालय अनुगमन गरी नियमित प्रतिवेदन पेश गर्न अनुगमन समिती गठन गरिएको प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

भिटिएम अभावले परीक्षणमा समस्या
कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न प्रयोग हुने भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) अभाव भएको छ । स्वास्थ्य कार्यलयमा पर्याप्त संख्यामा भिटिएम नभएको स्वास्थ्य कार्यालय जाजरकोटका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिइन । भिटिएम अभावका कारण कोरोना परिक्षणमा समस्या भएको उनको भनाई छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयले पैसा खर्चमा अख्तियारी नदिने र पैसा पनि नपठाउने भएकोले भिटिएम खरिद गर्न नसकिएको उनको भनाई छ । विहीबार बसेको वैठकले जिल्लाका सात वटै पालिकाले एक सय जति भिटिएम खरिद गर्ने निर्णय गरिएको छ । भिटिएम अभावले कोरोना परिक्षणमा समस्या मात्रै होइन, कोरोना समाजमा फैलिने ठुलो डर भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

जाजरकोटमा १५ सक्रिय कोरोना संक्रमित
जाजरकोट जिल्लामा १५ सक्रिय कोरोना संक्रमित रहेका छन । जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटको तथ्यांक अनुसार परीक्षण गरिएका मध्ये जम्मा १५ सक्रिय कोरोना संक्रमित रहेका छन । जिल्लामा कोरोना भाइरसको जोखिम खासै नरहेपनि सर्तकता अपनाउनुपर्ने डाक्टर औरसिहं राठौरले जानकारी दिए ।

‘पछिल्लो समय जिल्लामा कोरोनाको जोखिम बढ्दै क्रममा रहेको छ,’ ‘प्रहरीको भर्ना फारमका लागि पनि सदरमुकाममा सर्वसाधारणको लर्काे लाग्ने गरेको छ ।’ कोरोना बाट बच्न उच्च सर्तकता अपनाउन सबैलाई आग्रह गरेको डाक्टर राठौरको भनाई छ ।  #भेरीमालिका#

तपाईको प्रतिक्रिया