जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा पाँच महिना देखि विशेषज्ञ डाक्टरविहीन बनेको छ । दरवन्दीमा रहेका डाक्टर सुदिप किरण बस्नेत अध्ययन विदामा बस्दा लिम्सा डाक्टरविहीन बनेको हो ।
करार सेवामा रहेका डाक्टर नविन साहनी गत साउनमा जुनीचाँदे गाउँपालिकामा सुरुवा भईसकेका छन । दरबन्दीमा रहेका डाक्टर अध्ययन विदामा बस्दा समस्या भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए । उनका अनुसार, पाँच महिना देखि डाक्टर नआएपछि गाउँ कार्यपालिकाको निर्णयले डाक्टरलाई दिने सेवा सुविधा सबै कटौती गरिएको छ ।
विशेषज्ञ डाक्टर नहुँदा बारेकोटबासीहरु अहिले विशेषज्ञ स्वास्थ्य सेवा बाट वञ्चित भएका छन । स्वास्थ्य शाखा प्रमुख सिंहले भने, ‘डाक्टर मागका लागि हामीले पटकपटक मन्त्रालयलाई परिपत्र गरेपनि अहिले सम्म डाक्टरको कुनै व्यवस्था गरिएको छैन ।’
संघीय सरकारले डाक्टरको व्यवस्था गर्ने भएपनि कुनै चासो नदेखाएको गुनासो गरे । बारेकोट गाउँपालिकामा स्वास्थ्यका ५ दरबन्दी खाली रहेको सिंहको भनाई छ । गाउँपालिकामा अहिले चौथो÷पाँचौ, छैटौँ पद दरबन्दीका स्वास्थ्यकर्मीले सेवा सुविधा दिईरहेका छन । पोस्टमार्टका लागि अहिले पालिका बाहिर लिनुपर्ने बाध्यता थपिएको छ ।
अहिले पोस्टमार्टम लगायतका सेवा सुविधाका लागि जिल्ला अस्पताल तथा अन्य ठाउँमा स्थानीय धाउन बाध्य भएको स्थानीय गोपाल नेपालीले बताए । उनले भने, ‘गाउँमा अकास्मात घटेका घटनाहरुको पोस्र्टमाटम गर्न कहाँ लिने भन्ने चिन्ता थपिएको छ ।’ प्राथामीक स्वास्थ्य केन्द्रमा परिमार्जित स्वास्थ्य दरबन्दी संरचना २०७६ अनुसार मेडिकल अधिकृत आठौँ हुनुपर्छ ।
तर लिम्सामा भने दरबन्दी रिक्तरहेको पाँच महिना सम्म पनि डाक्टर नआउँदा बारेकोटका, सक्ला, रोकायगाउँ, नायकवाडा तथा रामीडाँडाका स्थानीयलाई निकै समस्या परेको छ । एक्सरे गर्ने एकजना अहेव तालिम लिएका छन् तर त्यसको रिपोर्टिङ गर्ने डाक्टर नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता छ रहेको छ ।
उपचारको आशले स्वास्थ्य केन्द्र पुगेका बिरामी उपचार नपाइ फर्किने गरेका छन । सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अधिकृत, आफ्नै फार्मेसी, एक्सरे सेवा, इसीजी सेवा लगायत हुनुपर्ने हुन्छ । तर लिम्साका यी कुनै पनि सेवा सुविधा छैनन् । यता डाक्टर व्यवस्थापनको विषयमा गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
















































। १७ मंसिर २०७७, बुधबार