
जाजरकोट । जिल्लाका ग्रामीण क्षेत्रका महिला हिंसाको सिकार बनिरहेका छन । उनीहरु आफ्नै आफन्त तथा अन्य व्यक्तिहरु बाट हिंसाको सिकार बन्ने गरेका छन । जिल्ला प्रहरी कार्यालय जाजरकोटको तथ्यांकमा आर्थीक बर्ष २०७६÷७७ मा ५६ उजुरी दर्ता भएका छन ।
अधिकांश उजुरीहरु माद्यक पदार्थ सेवन गरी आफ्नै श्रीमान तथा आफन्त बाट हिंसा खेप्नु परेको निवेदन आउने गरेको महिला तथा बालवालिका जेष्ठ नागरिक कक्षमा कार्यरत प्रहरी जवान झरना खड्काले जानकारी दिइन् ।
७६÷७७ मा आएका उजुरीहरु मध्ये ४२ वटाको मिलापत्र गरिएको छ भने, ७ वटा अदालतमा विचारधीन रहेका छन । ५ वटा उजुरीहरु गाउँमै मिलाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यस्तै आर्थीक बर्ष २०७७÷७८ मा हालसम्म १८ वटा उजुरीहरु जिल्ला प्रहरी कार्यालयमा आएका छन । जसमध्ये १३ वटा मिलापत्र गरिएको छ भने ३ वटामा छानविन हुन बाँकी रहेका छन । २ वटा उजुरीहरु अन्य निकायमा विचारधीन छन ।
कोरोना भाइरस कोभिड १९ का कारण समेत महिला हिंसाका घटनाहरु बढि घटिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक महेश आचार्यले बताए । उनले भने, ‘पछिल्लो समय महिला तथा बालवालिका हिंसामा परेका घटनाहरु दिन प्रतिदिन प्रहरी कार्यालयमा आईरहेका छन ।’ महिला तथा घरेलु हिंसाको प्रत्यक्ष मारमा महिला तथा बालबालिका परेको आचार्यको भनाई छ ।
नाजुक स्वास्थ्य बाह्रै महिना काम
जाजरकोटमा बसोबास गर्ने महिलाको जनजीवन ज्यादै कष्टकर छ । उनीहरुको जीवन बाह्रै महिना खेतबारीकै काममा बित्दछ । महिलालाई घरको कामकाजले बिरामी पर्दा सिटामोल किन्नेसम्म फुर्सद पनि नहुने उनीहरु बताउँछन । यसले गर्दा विभिन्न खाले दीर्घरोगबाट सङ्क्रमित हुनु परेको छ । परम्परागत प्रणालीको खेतीले यहाँका महिलाको जीवन झनै कष्टकर बनाएको र एउटै खेतमा पाँचदेखि दश पटकसम्म खट्दा पनि उत्पादन दुई महिना पनि खान नपुग्ने गरेको बारेकोट गाउँपालिका १ की महिलाअधिकारकर्मी निर्मला विकले बताईन ।
एकातिर खेतबारीको कामको चाप, अर्कोतिर महिलाले मात्र काम गर्नुपर्छ भन्ने गलत मानसिकता पुरुषमा हावी भएकाले ग्रामीण महिला झनै समस्यामा परेको उनको भनाई छ । बालबच्चालाई स्याहार्नेदेखि खेतबारीको काम हुँदै चुलोचौकासम्म आफँै गर्नुपर्ने यहाँका महिलाको नियति भएको भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले बताइन ।
त्यसमाथि जाजरकोटका दलित महिलाको अवस्था झन दर्दनाक भएको र सानैमा बिहे गराइदिने यहाँको प्रचलनले २० वर्ष नकाट्दै चार पाँचवटा बच्चाको आमा बन्नुपर्ने अवस्था भएको उनको भनाई छ ।
न्यायिक समितीमा महिला हिंसाका उजुरी बढ्दै
स्थानीय तहमा गठन भएका न्यायिक समितीमा महिलाका उजुरीहरु बढ्दै गएका छन । घरेलु हिंसाका घटनाहरु न्यायिक समितीमा महिनामा ५÷६ वटा आउने गरेको भेरी नगरपालिका उपप्रमुख एवम् न्यायिक समिती संयोजक भावना भण्डारीले बताईन ।
‘नगरपालिका भित्र महिला हिंसाका घटनाहरु घटिरहेका छन, तर प्रहरी अनुसन्धान फितलो भएको छ उनले भनिन ।’ पछिल्लो समय जाजरकोटको स्याँलामा भएको हत्याको अहिले सम्म न्याय पाएका छैनन । प्रहरी अनुसन्धान कमजोर भएका कारण पत्ता नलागेको उनको भनाई छ । न्यायिक समितीमा महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढिरहेको समेत उनले बताईन । कोरोना भाइरसले गर्दा समेत महिला हिंसामा वृद्धि भएको जानकारहरु बताउँछन ।
नारामै सीमित १६ दिने अभियान
प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म महिला हिंसा विरुद्धको १६ दिने अभियान चलाउने गरिएको छ । यस बर्ष पनि लैगिंक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति समाज र सबैको एक्यवद्धता भन्ने नाराका साथ १६ दिने अभियान सुरु भएको छ ।
प्रत्येक वर्ष मनाउने १६ दिने अभियान नारामै सीमित हुने गरेको बारेकोट गाउँपालिका २ रोकायगाउँकी कृष्णाकुमारी विकले बताईन । ‘महिला हिंसा विरुद्धको १६ दिने अभियान चलाईन्छ, तर हामीलाई यसले केही गर्दैन चुलो चौखोमै हाम्रो दैनिक वित्ने गरेको छ उनले भनिन् ।’
बाह्रै महिना काम गरेर खाने महिलाहरुले १६ दिने अभियानले नछुने महिला अधिकारकर्मीको भनाई छ । जिल्ला समन्वय समितीका प्रमुख मनवहादुर रावलले केही महिलाको जीवनमा परिवर्तन आएपनि अधिकांश महिलाको जीवनमा परिवर्तन नआएको बताए । बुधबार अभियानको सुरुवात गर्दै, ‘जाजरकोटका महिलाहरुको दैनिकी चुलो चौखोमै वित्ने गरीको छ । विगतका वर्षहरुमा चलाएका अभियानले महिलाको जीवनमा केही पनि परिवर्तन आएको छैन उनले भने ।’
यस्तै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले, २१ औँ शताब्दीमा पनि जाजरकोटका महिलाको जीवनमा खासै परिवर्तन नआएको बताए । उनले भने, ‘जाजरकोटमा ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई १६ दिने अभियानले छोएको छैन ।’ अव स्थानीय सरकारले यस्ता खालका महिलाको जीवनमा परिवर्तन हुने खालका कार्यक्रम ल्याउनमा ध्यान दिने घर्तीले बताए ।
अभियान नारामा मात्र सीमित राख्नुपर्ने परिवर्तनतिर सबैले ध्यान दिनुपर्ने नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले बताए । ‘कोरोना महामारीका कारण पछिल्लो समय देशभर महिला हिंसाका घटनाहरु घटिरहेका छन, यता तिर सबैले ध्यान दिई महिला सशक्तिकरणका आवाज उठाउन आवश्यक छ उनले भने ।’ #भेरीमालिका #
















































। ११ मंसिर २०७७, बिहीबार