बारेकोटमा यातायात जोडिएपछि ..‍‍‍……..


कालीबहादुर नेपाली
जाजरकोट, १९ कात्तिक । जिल्लाको बारेकोट गाउँपालिका २ का धनबहादुर नेपाली आज भन्दा २० बर्ष पहिले नुन लिन सल्यानको सल्लीबजार हिडेको तितो अनुभव सुनाउँछन । उनी जस्तै, सोही ठाउँका ८२ बर्षिय कलिमध्ये कामीले नुन किन्न नेपालगञ्ज हिडेको समेत अनुभव सुनाए ।

उनीहरु मात्र होइनन, दुई दशक पहिले बारेकोटका स्थानीयहरु नुन, चामल, तेल, लगायतका दैनिक उपभोग्य सामग्री किन्नका लागि नेपालगञ्ज,चौरजहारी, खलंगा रिम्ना, कालीमाटी लगायतका क्षेत्रमा जाने गरेका थिए । अहिले गाउँपालिकाको केन्द्रमा गाडी पुगेपछि बारेकोटबासीमा खुशीको सिमा नै छैन । दिन लगाएर हिडेका स्थानीय मिनेटमा सामग्री पाउँदा निकै खुशी भएको लिम्साका रामबहादुर रोकायले बताए ।

उनले भनेर्, गाउँपालिकामा गाडी आउँदा सबै सामग्री सस्तो मुल्यमा पाउँदा अहिले स्थानीय निकै खुशी भएका छन ।’ जिल्ला सदरमुकाम लगायतका अन्य स्थानमा जान नलगाड नगरपालिकाको कालीमाटी सम्म हिडेर पुग्नुपर्ने समस्या समाधान भएको स्थानीय गोपाल नेपालीले बताए । उनले भनेर्, यहाँ कल्पना समेत नगरेको ठाउँमा गाडी चढ्न पाउँदा हामी निकै खुशी भएका छौँ । हामीलाई लाग्दथ्यो यहाँ कहिले आउँला गाडी ।’ हिडेर नेपालगञ्ज पुगेका हामी बारेकोटमा गाडी आउँदा अचम्म लागेको ९२ बर्षिया स्थानीय प्रदिप कामीले बताए ।

लिम्सामा सडक यातायातको सुविधा पुगेपछि स्थानीयवासीलाई सदरमुकाम खलंगा आउन २ र ३ दिन हिँड्नुपर्ने बाध्यता टरेको गाउँपालिका उपाध्यक्ष ओमा शाहीले बताइन । उनका अनुसार सडक सुविधाले बारेकोटवासीको नुन, चामल लगायत खाद्यान्न र दैनिक उपभोग्य सामग्री थाप्लोमा बोक्नुपर्ने बाध्यता टरेको छ ।

सदरमुकाम खलंगा देखि ७० किलोमिटर दुरीमा ट्रयाक खुलेपछि लिम्सासम्म जिप, मोटरसाइकल लगायत हलुका सवारी साधन गुड्न थालेका छन् । बारेकोट सडक सञ्जालसँग जोडिएपछि जिल्लाका सातवटै पालिकाको प्रशासनिक केन्द्र र ७० प्रतिशत वडा केन्द्रमा यातायातको सुविधा पुगेको छ । वैशाख देखि बारेकोटका १, २, ७, ८ र ९ नम्बर वडा केन्द्र पनि सडक सञ्जालसँग जोडिएका छन् । गाउँपालिकाले गत आर्थिक वर्षमा सडक निर्माणका लागि ३ करोड बजेटमा १४ किलोमिटर सडक निर्माण गरेको छ ।

नलगाड जलविद्युत कम्पनीले गत आर्थिक वर्षमा नलगाड नगरपालिकाको कालीमाटीदेखि सिर्केसम्मको २२ किलोमिटर सडक निर्माण गरेपछि लिम्सा सम्म सडक पु¥याउन सजिलो भएको हो । सडकले वर्षौंदेखिको सास्ती हटाएको बारेकोट–२ का विष्णु पुनले बताए । ‘घोडा–खच्चडको भरमा दैनिक उपभोग्य सामान ढुवानी गरिरहेका थियौं,’ उनले भने, ‘यातायातको सुविधा नहुँदा बिरामीले उपचार नपाएर बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता थियो ।’

उनका अनुसार विगतमा दुई दिन लगाएर खलंगा जानुपर्ने बाध्यता थियो । सडक सुविधापछि सदरमुकाम सम्मको दुरी ६ घण्टामा छोटिएको छ । स्थानीय कमल विकले बाह्रै महिना गाडी चल्ने गरी सडकको स्तरोन्नति गर्न माग गरे । गाउँपालिकाले गत आर्थिक वर्षमा चार सडक निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

चालु आर्थिक वर्षदेखि गाउँपालिका र केन्द्र सरकारको सहकार्यमा आठ करोड बजेटमा सिर्के –लिम्सा सडकको स्तरोन्नति सुरु हुने उपाध्यक्ष शाहीले बताईन । खलंगादेखि नलगाडको कालीमाटीसम्म ३५ किलोमिटर दुरी जाजरकोट–डोल्पा सडक खण्डभित्र पर्छ । कालीमाटीदेखि सिर्केसम्मको २२ किलोमिटरमा नलगाड जलविद्युत कम्पनीको पहुँचमार्ग जोडिएको छ । ‘जुम्लासँग सडक जोड्नका लागि काम तीव्र बनाइएको छ,’ उनले भने, , ‘सडक जोडिएसँगै बारेकोटको बहुमूल्य जडिबुटीले बजार पाउने आशा छ ।’ कोरोना भाइरसको संक्रमणको त्रासका कारण पूर्वाधार निर्माणलाई तीव्रता दिन नसकिएको उनले गुनासो गरे ।

सदरमुकामको दरमा खाद्यान्न
गाउँपालिकाको केन्द्र सम्म यातायातको साधन पुग्न थालेपछि व्यापारीहरुले सदरमुकाम कै दरमा खाद्यान्न वितरण गर्न थालेका छन । सदरमुकाम बाट ल्याएको सामान भाडामा अलिकति तल माथी गरिन्छ अरु त्यही मुल्यमा वितरण गरिदै आएको स्थानीय व्यापारी झलक घर्तीले बताए । उनका अनुसार, अहिले बारेकोटमा विभिन्न डिलरहरु सञ्चालन भैसकेका छन । उनीहरु विच बजारमा प्रतिस्पर्धा समेत चले्को छ ।

२५ केजीको चामलको बोरालाई २० हजार समेत हालेका स्थानीय ११ सयमा पाउँदा निकै खुशी भएको स्थानीय गोपाल नेपालीले बताए । चामल मात्र होइन यातायात जोडिए संगै बारेकोटमा प्रत्येक समानको मुल्य घटेको उनको भनाई छ ।

उत्पादनले बजार पाउने आशमा कृषक
बारेकोट गाउँपालिका भित्रका किसानले उत्पादन गरेको स्रोत साधनले बजार नपाउँदा निकै चिन्तित बनेका स्थानीय यातायातको सुविधा पुगे संगै हर्षित भएका छन । आफुले उत्पादन गरेको सामग्रीले बजार पाउन सकेको थिएन ।

अव गाडीको मद्धतमा सदरमुकाम लगायत अन्य ठाउँमा लिन सजिलो भएको बारेकोट गाउँपालिका ३ का सिर्जना विकले बताइन । उत्पादन हुने तर बजारमा खपत नुहँदा आलु घरमै कुहिने गरेको बारेकोट गाउँपालिका ४ गोठगाउँका हरीगोपाल सिंहले जानकारी दिए । उनले भनेर्, अव गाउँपालिकाको केन्द्र सम्मब गाडी पुगेको छ । त्यहाँ बाट बाहिर पुर्याउन सजिलो भएको छ ।’

तपाईको प्रतिक्रिया