जाजरकोटमा सडक क्रान्ति, धमाधम खुल्दै सवारी साधन विक्री केन्द्र, समयमा काम नसक्नेलाई कारबाही

जाजरकोट । जाजरकोट हुँदै रणनीतिक सडक विस्तार भएपछि अहिले जिल्लामा मोटरसाइकलका बिक्रीकेन्द्र (सोरूम) खोल्ने प्रतिष्पर्धा चलेको छ । दुई वर्षअघि मोटरसाइकल खरिद गर्न नेपालगन्ज र सुर्खेतसम्म पुग्ने जाजरकोटीहरूले अहिले सदरमुकामै स्थापना भएका सोरूम बाट नै खरिद गर्ने गरेका छन ।

जाजरकोट सदरमुकाम रहेको भेरी नगरपालिका भएर जाजरकोट(डोल्पा सडक खण्ड, जाजरकोट(जुम्ला र मध्यपहाडी लोकमार्ग सञ्चालन भएपछि मोटरसाइकलका स्वरोम जिल्लामा भित्रने क्रम बढेको हो । जाजरकोट, रुकुम पश्चिम र डोल्पाको बीच भागमा पर्ने जाजरकोटमा अहिले सवारी साधन खरिद तथा बिक्री निकै बढेको छ ।

साउनदेखि असोज सम्म मात्र सदरमुकाम बाट १ सय २० भन्दा बढी मोटरसाइकल बिक्री भएको लक्की तथा आदर्श सप्लायर्सका प्रमुख नगेन्द्र शाहले जानकारी दिए । यो सहित जाजरकोटमा तीन वटा कम्पनीबाट उत्पादित मोटरसाइकलहरू बिक्री भइरहेका छन । गाउँ गाउँसम्म सडक विस्तार भएसँगै यातायातका साधनको चाप समेत बढेको छ। हलुका सवारी साधन देखि ठुला साधनसम्म जिल्लामा गुड्ने गरेका छन्।

जिल्लामा यातायातको सहज पहुँच सँगै यहाँको जग्गा कारोबार समेत महंगो भएको छ। मुख्य सडक तथा पर्यटन मार्ग भएका कारण जाजरकोट भएर जाने सवारी साधनहरूको चाप बढेको हो । चार वर्षको अन्र्तरालमा जिल्लामा सडक निर्माणको ठुलो गति लिएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए ।

अहिले जिल्लाको सडकलाई कालोपत्रे (पीच) गर्ने क्रम बढेको छ । सातै स्थानीय तहमा सडकको पहुँच पुगेको छ । स्थानीय तहका मुकामबाट गाउँ गाउँमा पुग्ने सडक निर्माण कार्य जारी रहेको छ। ४ सय किलोमिटर भन्दा बढी आन्तरिक सडक निर्माण भएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिए ।

नलगाड जलविद्युत आयोजना ४ सय १७ मेगावाट आयोजना समेत जाजरकोटमै निर्माण कार्य शुरू भएका कारण सडक तथा विद्युत लाइन विस्तार गर्न थप बल पुगेको छ । छिन्चु जाजरकोट सडकखण्डमा नौ वटा पुल निर्माण अन्तिम चरणमा पुगेका छन्। जाजरकोट डोल्पा सडक खण्डमा १३ पुल निर्माण प्रक्रिया शुरू भएको सडक डिभिजन प्रमुख भट्टले बताए ।

जिल्लामा केन्द्रीय विद्युतको सव स्टेशन निर्माणका लागि समेत सडक अनिवार्य भएकाले अहिले सडक निर्माण कार्य तीव्र पारिएको छ । विदेशी तथा स्वदेशी पर्यटकहरू समेत जिल्ला आउन सहज भएको छ ।

काममा लाप्रवाही गर्नेलाई कारबाही
ठेक्का लिएको लामो समय सम्म तोकिएको काम नगर्ने निर्माण व्यवसायीलाइ सडक डिभिजन चौरजहारीले स्पटीकारण सोधेको छ । रुकुम पश्चिमका दुइ ठाउँमा काम नगर्ने व्यवसायीलाई स्पष्टीकरण सोधिएको डिभिजन प्रमुख नरेन्द्र भट्टले जानकारी दिए । स्पटीकरण सोधिएको पत्रमा भनिएको छ, निर्माण कार्यहरुको लागि यस डिभिजन संग खरिद सम्झौता गरेका तपसिलका निर्माण कम्पनीहरु ठेक्का सम्झौता भएको लामो समय व्यतित भैसक्दा पनि निर्माण कम्पनी साइटमा

मोबिलाइज नभएको तथा बिभिन्न मितिमा यस डिभिजनद्वारा निर्माण कार्य आरम्भ गर्न मौखिक,लिखित रुपमा ताकेता ,सचेत गराएको भएतापनि उक्त ताकेताको बेवास्ता गरि निर्माण कार्य आरम्भ नगरेको तथा निर्माण कार्यलाई अलपत्र पारी चरम लापरवाही गरेको कार्यप्रति यस डिभिजनको गम्भिर ध्यानाकर्षण भएको छ ।

हाल सम्म निर्माण कार्य शुरुवात हुन नसकेको उचित कारण सहितको स्पस्टिकरण पत्र तथा यस उपरान्त निर्माण कार्य सम्पन्न गर्ने तपाइको कार्ययोजना ,संसोधित कार्यतालिका, यो सूचना प्रकाशित मिति बाट १५ दिन भित्र यस कार्यालयमा पेश गर्नुहुन, साथै उक्त अबधि भित्र साइटमा मोबिलाइज समेत हुन जानकारी गराईन्छ र यो सूचनाको बेवास्ता गरेमा बा उक्त अबधि भित्र साइट मोबिलाइज हुन नसकेमा सार्बजनिक खरिद ऐन, २०६३, सार्बजनिक खरिद नियमावली, २०६४ तथा

ठेक्का सम्झौतामा उल्लेखित सर्त ः प्राबधान बमोजिम ठेक्का सम्झौता अन्त्य गर्ने, कार्य सम्पादन जमानत जफत गर्ने, कालोसूचिमा राख्न सिफारिस गर्ने र बांकी निर्माण कार्यहरुको मुल्यांकन गरि सरकारी बाँकी सरह असुल उपर गर्ने लगाएतका आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ । १५ दिने स्पटीकरणमा पर्ने निर्माण व्यवसायीको लिष्ट उल्लेख गरिएको छ ।   पत्रकार हेमन्त केसीकाे सहयाेगमा तयार पारिएकाे

तपाईको प्रतिक्रिया