
अग्लाे डाँडामा फाेन गर्न ध्याउँदै कुशेकी लिला तस्वीर :
जाजरकोट । कुशे गाउँपालिका वडा नम्वर ६ भार्माकी लिला रोकायलाई काठमाडौमा पढ्न गएका छोरासंग कुरा गर्नु परे अग्ला डाँडाकाँडाको खोजीमा घरवाट निस्किनै पर्छ । आफनो घर नजिकै फोनको टावर नआउने भएपछि उनी घर देखि अलि टाढाको जंगल क्षेत्रमा रहेको अग्लो डाँडामा जान्छिन । यति मात्र होइन साँझ विहान फोन गर्न घरायसी कामले घरवाहिर जान नसक्ने भएपछि लिला दिनमा गाईवाखालाई पनि फोन लाग्ने ठाउँतिर लिन्छिन ।
एक हातले गाईवाख्रा नियन्त्रण गर्ने लठठी र अर्काे हातमा फोन समातेर लिला सधैं अग्लो डाँडा भएको जंगल छेउतिर जाने गर्छिन । यो उनको दैनिक दिनचर्या जस्तै वनेको छ । घर वरिपरि मात्र होइन गाउँमै फोन टिप्दैन अनि छोरासंग कुरा गर्न परे अग्लो डाँडातिर जानु पर्ने वाध्यता रहेको उनले बताईन । वाहिर गएका छोराछोरीले फोन गरिरहन्छन अनि उनीहरुसंग कुरा गर्न डाँडातिरको जंगलमा नगई हुदैन, उनले भनिन ।
लिला मात्र होइन, कुशे ३ दत्तिउरका विकास वस्नेतलाई पनि फोन गर्नु परे घर देखि टाढा जानुपर्ने वाध्यता छ । उनी पनि लिला जस्तै फोन टावर खोज्न दैनिक जंगलमा रहेको अग्लो डाँडातिर जाने गर्छन । लिला र विकास मात्र होइन जिल्लाका अधिकांश जनताले कुनै पनि फोन सेवा सहज र सुर्लभ रुपले प्रयोग गर्न नपाउँदा जंगल र डाँडाकाडाको जोखिम मोल्न वाध्य भएका छन ।
सरकारी स्वामित्वको मात्र होइन कुनै निजि कम्पनीको टेलिफोन सेवाको भरपर्दाे र सुलभ सेवा नभएपछि कुशेका झन्डै चार हजार घरपरिवारका सर्वसाधारणहरु फोन गर्नकै लागि जोखिम मोलेर फोनको टावर खोज्न जंगल र डाँडाकाडा तिर जाने गर्छन ।
जनताले भोगिरहेको यो विषय देख्नेलाई सामान्य लागेपनि स्थानीयका लागि भने ठुलो समस्याको रुपमा रहेको स्थानीय प्रेमवहादुर रोकायले वताए । उनले फोन गर्नकै लागि कहिले काहि दुइ तीन घन्टा खर्चिनु पर्ने वाध्यता रहेको वताए । सरकारी सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले गाउँमा निर्माण गर्न लागेका टेलिफोन टावरहरुको निर्माण समयमै नभएका कारण अहिले सर्वसाधारणहरुले निकै दुख पाएको सरोकारवालाहरु वताउछन ।
दुनियाँ सुचना प्रविधिको यो उन्नत युगमा हुदाँ पनि कुशेका जनताले फोन गर्न नपाउनु निकै दुखको कुरा भएको उनीहरुको भनाई छ । गाउँपालिकाका टेलिफोन सेवा सन्चालन गर्न साढे तीन वर्ष अघि आफुले गाउँपालिकाको अध्यक्ष निर्वाचित भए लगत्तै पहल सुरु गरेपनि नेपाल टेलिकम, सुचना प्रविधि तथा सन्चार मन्त्रालय र अन्य सरोकारवाला निकायको गैरजिम्मेवारीका कारण समस्या आएको गाउँपालिका अध्यक्ष हरिचन्द्र वस्नेतले वताए ।
उनले गाउँपालिकाको पहिलो वैठक देखि हाल सम्म पाँच पटक कुशेमा फोन सेवाको विस्तार तथा सुधारका लागि कार्यपालिकावाट निर्णय गरेर नेपाल टेलिकमको केन्द्रिय कार्यालय काठमाडौं, क्षेत्रिय कार्यालय नेपालगन्ज र सुचना प्रविधि तथा सन्चार मन्त्रालय सिंहदरवारमा लिखित तथा मौखिक रुपमा ताकेता गरे पनि काम गतिलो सुनुवाई नभएको वताए । अध्यक्ष वस्नेतले फोन सेवा विस्तार तथा सुधारको जिम्मेवारी टेलिकमको मात्र भएकाले पनि समस्या आएको वताए । गाउँपालिकाको जिम्मेवारी र क्षेत्राधिकार भएको भए आफुहरुले गाउँपालिकामा दशवटा टेलिफोन टावर वनाउन सक्ने अध्यक्ष वस्नेतले वताए ।
जनता प्रति गैरजिम्मेवार संघीय सरकार र नेपाल टेलिकमका कारण ग्रामीण भेगका जनताले अहिले पनि आधारभुत रुपमा फोन सेवा पाउन नसकेको अध्यक्ष वस्नेतले वताए । नेपाल टेलिकमका कारण कुशे गाउँपालिकाका गाउँहरुमा मात्र होइन जिल्लाको वारेकोट, जुनीचाँदे, शिवालय गाउँपालिका तथा नलगाड र छेडागाड नगरपालिकाका ग्रामीण वस्तीहरुमा पनि सर्वसाधारणले निकै सास्ती र जोखिम भोगिरहेको नागरिक अगुवा केशवजंग शाहले वताए ।
उनले काम नगर्ने ठेकेदार, जनताप्रति उत्तरदायि नहुने कर्मचारी र जनताको मर्का सुनुवाइ नगर्ने शासन सत्ता सन्चालकहरुका कारण जनताले धेरै पिडा र कष्ट वेहोर्नु परेको वताए । जनताको दुख र पिडा देखेपनि नदेखे झै गर्ने,आवाज सुनेपनि नसुने झै गर्नेहरु वाटोमा ढलेको मुढो जस्तै भएको उनले वताए ।
काम गरेन प्रदेशसभा सदस्यको कागजले
भारतीय कम्पनीको लापरवाहीका कारण तोकिएको समयमा निर्माण कार्य हुँन नसकेको मोबाइल टावरहरु अहिले अलपत्र छन । पटक पटक म्याद थप गर्दा पनि निर्माण कार्य नगरेर अलपत्र पारेको भन्दै नेपाल टेलिकमका अधिकारीको रोवहरमा जाजरकोट क्षेत्र नं. १ का प्रदेशसभा सदस्य गणेशप्रसाद सिहंले लिखित कागज गराएका थिए ।
जिल्लाका ६ वटा ठाउँमा निर्माण हुन लागेका नमस्ते प्रविधिको मोबाइल टावर निर्माण कार्य सम्पन्न भइसक्ने समयमा सामग्री समेत ढुवानी नहुँदा समस्या आएको प्रति प्रदेशसभा सदस्य सिहंले आपत्ती जनाएर तत्काल निर्माण गर्ने सर्तका साथ कागज गराएका थिए । मजकोट,सेरी ,नायकवाडा ,डाँडागाउँ,सक्ला, र पैक लगायतका ठाउँमा मिती तोकेर निर्माण गर्न कम्पनीलाई सहमत गराइएको थियो ।
मजकोट र सेरीमा अगस्ट भित्र नायकवाडामा सेप्टेम्बरको पहिलो साता, डाँडागाउँमा सेप्टेम्बर भित्र , सक्ला र पैँकमा जति सक्दो चाँडो बन्ने अप्टर ईन्डियन कम्पनीले प्रतिबद्धा जनाएको थियो । तत्कालिन प्रमुख जिल्ला अधिकारी जनराज पन्तको रोहवरमा जिल्लाका सात स्थानीय तहका जनप्रतिनिधीहरुको उपस्थितीमा लिखित कागज गरिएको थियो ।
कागज गरिएका स्थानहरुमध्ये जुनीचाँदेको मजकोटमा सञ्चालनमा आएको छ भने अन्य स्थानीय तहमा टावरका सामग्री अलपत्र परेका छन । यस विषयमा प्रदेश सभा सदस्य गणेशप्रसाद सिंहलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । #भेरीमालिका दैनिक# हटेन #फाेनकाे समस्या #
















































। ३१ भाद्र २०७७, बुधबार