
रमेश भारती । सरकारले आज (२९ भदौ गते) विभिन्न कार्यक्रम गरेर राष्ट्रिय बाल दिवस मनाउदै आएको थियो । यो वर्ष कोरोना भाइरसका कारण बालदिवस कार्यक्रम सबै बालबालिकाले घरघरबाट मनाउँदै छन् । सरकारले यो वर्ष ‘विपद्मा बालअधिकारको सुनिश्चितता, हामी सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका मनाउने भएको छ ।
नेपालमा २०२१ सालदेखि हरेक वर्षकाे ४ भदौमा बालदिवस मनाइँदै आएकाे छ । लोकतन्त्र स्थापनापछि २०६३ सालमा २९ भदाैमा राष्ट्रिय बालदिवस मनाउन थालिएको हो । सरकारले बालबालिकाका हकअधिकार, बाल श्रम शोषण अन्त्य गर्दै विद्यालय पठाउनका लागि विषेश पहल गर्न दिवस मनाउन थालिएको हो ।
१६ लाख बालबालिका विद्यालयबाहिर
सरकारी तथ्यांकअनुसार ५ देखि १७ वर्ष उमेरका ४० प्रतिशतभन्दा बढी अर्थात् ३१ लाख ४० हजार बालबालिका श्रम गर्न बाध्य छन् । तीमध्ये १६ लाख बालबालिका बालश्रम गर्न बाध्य रहेको र त्यसका कारण उनीहरूको शिक्षा, स्वास्थ्य, मानसिक, शारीरिक र सामाजिक विकासमा अवरोध पुगेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।
बालश्रमिकमध्ये करिब ७ लाख जोखिमयुक्त काममा आवद्ध छन् । बाल श्रमिकमध्ये करिब ४ लाख बालिका रहेको आईएलओको प्रतिवेदनमा उल्लेख छ । सरकारले सबै बालवालिकालाई विद्यालय पठाउन अभियान चलाए पनि सफल हुन सकेको छैन । सरकारकै विभिन्न अध्ययनले करिब १६ लाख बालबालिका विद्यालय जानबाट अझै वञ्चित रहेको औंल्याइरहेका छन् ।
सरकारले सबै बालबालिकालाई विद्यालय पठाउने योजनासँग प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिरहका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय प्रवक्ता टेकराज निरौलाले बताएका छन् । विद्यालय जान वञ्चित भएका बालबालिकालाई समेत विद्यालय पठाउन विशेष शैक्षिक योजना ल्याएको र बाल शोषणसँगै बाल श्रम अन्त्य गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।
हाल संसारभर १५ देखि २४ वर्ष उमेर समूहका ५४ करोड १० लाख कामदार रहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को तथ्याङ्क छ । यो विश्व श्रमिक शक्तिको झण्डै १५ प्रतिशत हो । यो उमेर समूहको झण्डै ४० प्रतिशत श्रमिक व्यवसायजन्य जोखिममा पर्दै आएका छन् । विश्वमा १५ देखि १७ वर्ष उमेर समूहका श्रमिकको सङ्ख्या झण्डै ३ करोड ७० लाखभन्दा बढी छ ।
कोरोनाका कारण बालबालिका जीविकोपार्जनमा समस्या
नेपालमा बाल कल्याण समितिका साथै श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालयले बालश्रम विरुद्ध काम गर्दै आएका छन् ।
दिगो विकास लक्ष्यमा उल्लेख गरिएका आउँदो सन् २०३० सम्ममा सबै कामदारका लागि सुरक्षित र स्वस्थकर वातावरण उपलब्ध गराउने र सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रमको उन्मूलन गर्ने श्रम मन्त्रालयले योजना अघि सारेको छ ।
सरकारले बालश्रम अन्त्य गर्ने योजना मात्र अघि सार्यो । उनीहरूका समस्या के छन् भनेर राज्यले नखोज्ने गरेका कारण श्रम गर्न बाध्य रहेको राष्ट्रिय बालअधिकार परिषद्की कार्यक्रम प्रमुख यमुना भुसाल बताउँछिन् ।
‘कतिपय बालबालिका बाध्यताले काम गर्नुपर्ने अवस्था छ । यो विषयमा राज्य केन्द्रित भएर काम गरेको छैन । उनीहरू किन श्रम गर्न बाध्य छन् भन्ने विषयमा सरकार केन्द्रित हुनुपर्छ,’ उनले भनिन्, ‘श्रम गर्ने कतिपय बालबालिकाका लागि विद्यालयभन्दा काम महत्त्वभित्र पर्छ । काम नगरी खान पाइँदैन् । त्यस्ता बालबालिका कसरी विद्यालय जान्छन् ? उनीहरूका हकमा खोइ त राज्यले विशेष कार्यक्रम ल्याउन सकेको ?’
नेपालमा इँटाभट्टा, यातायात, निर्माण क्षेत्र, घरायसी काम, उद्योग, कलकारखाना, होटल लगायत क्षेत्रमा बालबालिकाले श्रम गर्दै आएका छन् । २०७२ सालमा गएको महाभूकम्पपछि बाल श्रम बढेको छ । हाल, विभिन्न क्षेत्रमा रोजगारी गरेर जिविकोपार्जन गर्दै आएका बालबालिकाको संख्या धेरै छ ।
नेपालजस्तो अल्पविकसित देशमा गरिबीकै कारण धेरै बालबालिकाले मजदुरी गर्नुपर्ने बाध्यता छ । सरकारले यस्ता बालबालिकालाई सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरे पनि विपन्नताकै कारण उनीहरू विद्यालयमा नटिक्ने देखिएको छ ।
कोरोनाका कारण धेरै बालबालिका रोजगारीबाट वञ्चित हुँदा उनीहरूको जीविकोपार्जनमा समस्या उत्पन्न भएको परिषद्ले औंल्याएको छ । सरकारले उनीहरूका समस्या तत्काल समाधान गर्नुपर्ने परिषद्को सुझाव छ ।
प्रविधिमुखी बन्दै
पछिल्लो समय बालबालिका प्रविधिमा धेरै रमाउन थालेका छन् । जसका कारण उनीहरूलाई प्रविधिबाट नियन्त्रण गर्न अभिभावकलाई समस्या भइरहेको छ । बालबालिकामा बढ्दो सामाजिक सञ्जाल मोहले नकारात्मक असर पुर्याइरहेको छ ।
टेलिभिजन आउन कार्टुन, कम्प्युटर र इन्टरनेटको अत्यधिक दुरुपयोगले हिंसा, लडाईं, झगडा, मारकाट र यौनजन्य अश्लीलताजस्ता खराब संस्कारहरू बालबालिकाले सजिलै सिक्ने भएकाले यस्ता प्रविधिहरूको सही र सीमित प्रयोगका लागि अभिभावकद्वारा विशेष चासो देखाई निगरानी गर्नुपर्ने शिक्षाविद्हरू बताउँछन् ।
औपचारिक शिक्षा लिएका र नलिएका अभिभावकले आफ्ना नानीहरूलाई मौलिक ज्ञान सिकाउनतिर जोड दिनुपर्ने शिक्षाविद् डा.विद्यानाथ कोइराला बताउँछन् । प्रविधि आजको आवश्यकता हो । तर, प्रविधि बालबालिकामा कसरी प्रयोग हुँदै छ भन्ने मुख्य विषय भएको शिक्षाविद् डा.कोइरालाले बताए ।
‘प्रारम्भिक बालविकासका विद्यार्थीको सिकाइ पाठ कण्ठस्थ गर्नु होइन । समूहमा मिलेर बस्नु, खेल्नु पनि सिकाइ र प्रविधिका पनि राम्रा मात्र विषय हेर्ने अभिभावकले सिकाउनुपर्छ,’ उनले भने, ‘लेखपढ गर्न नसक्ने अभिभावकले जानेका सीपलाई सरकारले पुनः अभिमुखीकरण गराए पुग्छ, प्रत्येक अभिभावकसँग एउटा न एउटा सामान्य र धार्मिक ज्ञान हुन्छ । सोहीअनुसार संस्कार सिकाउनुपर्छ ।’
बालबालिकालाई अलमल्याउन मात्र प्रविधि प्रयोग गर्दा यसको नकारात्मक असर उनीहरूमा पर्ने उनको भनाइ छ । # शिलापत्र#
















































। २९ भाद्र २०७७, सोमबार