
फाइल तस्वीर
कालीबहादुर नेपाली , जाजरकोट ।
बारेकोट गाउँपालिका जस्वीर कामीले आरनको काम गर्न छाडेको दुई वर्ष भयो । ६५ वर्षीय जस्वीरले आरनको काम गर्न छाडेसँगै उनको गाउँमा अहिले आरनको काम गर्नेको संख्या कमै छ ।
आरन पेशामा आम्दानी नदेखेपछि उनका तीन भाई छोराले त्यो पेशामा हातै हालेनन् । उनको जेठो छोरा देविलाल नेपाली अहिले वैदेशिक रोजगारीमा भारत आउने जाने गर्छन् । उनले टेलिफोनमा भने, “अब बाबुले गरेको आरन पेशा नै गर्न हुन्थ्यो नि, त्यसमा आम्दानी पनि छैन, लगानी गर्न आफूसँग पूँजी पनि छैन, अहिले त फलामसम्बन्धी काम गर्ने ठूला ठूला पसल खुल्न थालिसके ।”
पुख्र्यौली पेशाका रुपमा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि पेशाबाट नै विस्थापित भएको जस्वीर कामीले बताए । लामो समयदेखि हँसिया, खुर्पा, बञ्चरो बनाएर परिवार पाल्दै आएका उनले बजारमा आएको आधुनिक सामग्रीका कारण यो पेशा सङ्कटमा परेको जानकारी दिए । उनल भने, “बजारमा आधुनिक हातहतियार र भाँडाकुँडा भित्रिने क्रम बढेसँगै पेशा नै सङ्कटमा पर्न थालेको छ । विगतमा यही पेशाबाटै राम्रोसँग घरखर्च चलिरहेको थियो । तर अहिले ती सामग्री नै बिक्री हुन छाडेपछि आफू यो पेशा छाडेको हुँ ।”
फलामलाई आगोमा पगालेर बनाइने सामग्री र बजारमा आयातीत सामग्रीको गुणस्तरमा धेरै नै फरक भए तापनि त्यसको महत्व नबुझेर मानिसहरुले आयातीत सामग्री प्रयोग गर्न थालेको उनको गुनासो छ ।
विगतमा यही पेशाको माध्यमबाट परिवार पाल्दै आए पनि अबको पुस्ता यो पेशाबाट बाँच्न नसक्ने अवस्थामा पुगेको जस्वीरको भनाइ छ । फलामलाई कोइलामा ताप दिई आकारप्रकार दिएर बनाइने खुर्पालगायतका औजार बलियो भए तापनि समयको परिवर्तनसँगै विस्थापित भएर जाने क्रममा रहेको उनको भनाइ छ ।
यसरी दलित समुदायले गर्दै आएको लुगा सिलाउने, जुत्ता सिलाउने र फलामको कामसम्बन्धी पुख्र्यौली पेशामा सोही समुदायका युवाको आकर्षण घटेपछि अहिले सङ्कटमा पर्दै गएको छ । पुस्तौँदेखि दलित समुदायले गर्दै आएको परम्परागत पेशामा आधुनिकीकरणसँगै राज्यले लगानी नगर्दा विस्थापित हुन पुगेको छ । दलित अधिकारकर्मी हजारी नेपालीले, दलित समुदायले गर्दै आएको परम्परागत पेशालाई राज्यले बेवास्ता गरेका कारण अहिले सङ्कटमा परेको बताइन् ।
उनले भनिन्, “दलित समुदायका विभिन्न जातिले गर्ने सीपमूलक पेशा र व्यवसायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा तथा राज्यले समेत उनीहरुको सीप र क्षमताअनुसार अनुदान नदिँदा युवा पुस्ताको आकर्षण घटेको हो, अब यो पेशालाई जीवित राख्नका लागि यसमा राज्यले नै लगानी गर्नुपर्ने आवश्यक छ ।”
दलित अधिकारकर्मी तथा जनता आधारभुत विद्यालयका प्रधानध्यापक धनबहादुर नेपालीले, दलितको परम्परागत सीप पछिल्लो समयमा लगानी गर्न सक्ने अन्य जातिलेसमेत सञ्चालन गर्न शुरु गरेपछि दलित समुदाय पलायन हुनुपरेको बताउँछन् । सामाजिक अपमान र राज्यकोसमेत सहयोग नहुँदा दलित युवा परम्परागत सीपमूलक व्यवसायप्रति आकर्षित नभएको दलित अधिकारकर्मीको भनाई छ ।
“राज्यको असहयोगका कारण दलित समुदायबाट यो पेशा खोसिएको छ, अपमानित हुने बेलामा दलितले काम गरे, पैसा कमाउने बेलामा गैरदलित आए, ठूलठूला व्यवसायका रुपमा अगाडि बढाए”, धनबहादुर नेपालीले भने । कुनैबेला दलित समुदायले मात्रै गर्ने टेलरिङ पेशा पछिल्लो समयमा दलितभन्दा गैरदलितले गर्दै आएका छन् ।
दलित समुदायले गर्दै आएको पेशा खोसिएको हुँदा उनीहरुलाई पुनः आफ्नै पेशामा फर्काउन राज्यले लगानी गर्नुपर्ने आवश्यकता देखिन्छ । आफ्नो पेशा व्यवसाय गरिरहेका दलित समुदायलाई अन्यसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने हुन्छ ।
















































। १ फाल्गुन २०७६, बिहीबार