बुलबुले ताल विस्तार

सुर्खेत-कर्णाली प्रदेशको चर्चित पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरिएको छ ।
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले ताल गुरुयोजना अनुरुप तालको क्षेत्रफल फराकिलो बनाइएको हो । बुलबुलेको गुरुयोजना कार्यान्वयनअन्तर्गत आर्थिक वर्ष ०७६-७७ मा उक्त काम गरिएको वन तथा वातावरण निर्देशनालय सुर्खेतका प्रदेश वन निर्देशक शिवराम अधिकारीले जानकारी दिए ।

उनका अनुसार पहिले ११ हजार वर्गमिटर रहेको ताल विस्तारपछि २८ हजार वर्ग मिटरमा फैलिएको छ । उनले ताल वरिपरि २० वटा सोलार बत्ती पनि राखिएको बताए । जसले गर्दा तालको अवलोकन रात्रीकालीन समयमा पनि गर्न सकिने छ ।

तालमा माछा मार्नका लागि फिसिङ डाइक र डुँगा सवारीका लागि बोडिङ डाइक पनि निर्माण गरिएको छ । निर्देशक अधिकारीले लकडाउनका कारण केही काम गर्नका लागि समस्या भए पनि तोकिएको समयमा काम सम्पन्न भएको जनाए । पहिलो चरणको कार्य सम्पन्न गर्न १ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ । वन निर्देशनालयले दोस्रो चरणको कामका लागि टेण्डर आह्वान भइसकेको जनाएको छ ।

निर्देशक अधिकारीका अनुसार इत्राम खोला ९ सय मिटर बुलबुले क्षेत्रभित्र पर्ने भएकाले ५ सय ५० मिटर कटानका लागि टेण्डर आह्वान भइसकेको र बाँकी कामका लागि मन्त्रालयलाई पत्र पठाइसकिएको छ । इत्राम खोला किनार कटान हुँदै आएकाले नियन्त्रण गर्नका लागि दोहोरो लाइनका लागि टेण्डर आह्वान गरिएको निर्देशक अधिकारीले बताए । बुलबुले ताल वरिपरि फुटपाथको व्यवस्था गर्न बाँकी रहेको उनले बताए । बुलबुले पर्यकीयस्थल भएकाले २ वटा सेल्फीप्वाइन्ट बनाउने योजना रहेको निर्देशक अधिकारीले जानकारी दिए ।

नगर विकास समितिले बुलबुलेको गुरुयोजना निर्माण गरी काम सुरु गरेको थियो । तत्कालीन सुर्खेत नगर उपत्यका समितिका अध्यक्ष नारायण कोइरालले गुरूयोजना बनाएर ताल विस्तारको प्रक्रिया थालेकोमा उनको कार्यकाल नसकिँदै वीरेन्द्रनगर नगरपालिका मातहतमा नगर विकास समिति आएको थियो । हाल सोही गुरुयोजनाअनुसार नै काम भइरहेको छ ।

वीरेन्द्रनगरमा छोटो समयको कामको शिलसिलामा होस् वा घुम्न आउँदा घुम्ने प्रमुख पर्यटकीयस्थल बुलबुले ताल हो । यहाँ तालका साथै बुलबुले उद्यान क्षेत्र पनि भएकाले मानिसहरू बाहिर जिल्लाबाट समेत पिक्निक खान आउने गर्दछन् ।

स्थानीय मानिससमेत उद्यानको आनन्द लिनका लािग त्यहाँ पुग्ने हुनाले विशेषगरी बिदाको दिन र अन्य दिनसमेत पर्यटकको घुइँचो हुने गर्दछ । बुलबुले तालको नामले रचिएका विभिन्न गीतले समेत राष्ट्रिय रूपमा चिनिएको बुलबुले तालमा घुम्न आउने पर्यटकले यसअघि सोचेअनुरुपन पाउँदा मन खिन्न बनाउने गरेकोमा पछिल्लो समय भने यसलाई व्यवस्थित गर्दै लगिएको छ । यो ताल पर्यटन वर्षका सन्दर्भमा उत्कृष्टमध्येको एक स्थानका रूपमा राखिएको थियो । #काराेबार#

तपाईको प्रतिक्रिया