
जुनबेला डेलोर्स गल सानै हुनुहुन्थ्यो हजुरआमाले उहाँलाई माला गाँस्न र सिउन सिकाउनुभयो । त्यही बेलादेखि क्री विरासतबाट प्रेरणा पाएको कलाबाट निर्मित सिर्जनाले तीन जनाको जीवनका उतार–चढावहरूको समाधान गर्न मद्दत मिलिरहेको छ । त्यसैले, जब कोरोनाभाइरस महामारी आयो तब उहाँको त्यो कला मास्क बनाउनमा सिर्जनाको परिवर्तित रूप बन्न पुग्यो ।
गलले मास्कबारे अनुसन्धान गर्न थाल्नुभयो । उहाँले १७औँ देखि १९औँ शताब्दीमा आएका महामारीमा चिकित्सकहरूले प्रयोग गरेका लामा तथा चराको चुच्चोझैँ देखिने मास्कका बारे तथ्यहरू भेट्नुभयो । ती मास्कमा सुगन्धित बासना राखिएका थिए । ती सुगन्धले ‘खराब हावा’बाट बचाउँछ भन्ने चिकित्सकहरूले गलत रूपमा बुझेका थिए ।
‘जब चिकित्सकले लगाएका मास्क देखेँ त्यसले मलाई हाम्रो सौर्यनृत्य ‘सनडान्स’ समारोह सम्झाइदियो’, डेलोर्सले आफ्नै निवास ओनतारिओ, क्यानडाबाट फोनमा भन्नुभयो, ‘त्यसपछि ‘आफैँ एउटा बनाउनुपर्छ’ भन्ने मैले सोचेँ ।’ सौर्यनृत्य एक इन्डियन धार्मिक समारोह हो । त्यसलाई एकपटक युरोपियन उपनिवेश शासकहरूले प्रतिबन्ध लगाएका थिए । जसका कारण समुदायका मानिसले सामूहिक नृत्य गर्न, गाउन तथा प्रार्थना गर्न पाएका थिएनन् ।
डेलोर्स भन्नुहुन्छ उहाँले जे बनाउनुहुन्छ त्यो सबै उहाँको संस्कार संस्कृतिको प्रेरणा हो । ‘जब म यसको सुगन्ध लिन्छु तब हरेकपटक बिँडी खाने ट्यान लुकाएर राखे जस्तो लाग्छ’, उहाँले भन्नुभयो, ‘यसले मलाई केही न केही बनाउन प्रेरित गर्छ ।’ ‘मलाई विश्वास छ कि म सांस्कृतिक परम्परामा रहेको छु र हाम्रा त्यस्ता कार्यहरू अझै जीवित छन् भनेर संसारलाई देखाउनु छ’, उहाँले भन्नुभयो ।
डेलोर्सको मास्क बिँडी खाने लामो चराको चुच्चो जस्तो देखिने ट्यानबाट बनेको छ । जसमा उहाँले महामारीबाट बचाउने परम्परागत औषधी भर्नुभएको छ । ‘हामी प्राथमिकतामा छैनौँ भन्ने लाग्छ’ पश्चिम ओन्तारिओमा क्री विरासतको कला झल्किने लाक ला रोन्ज इन्डियन ब्यान्डले आँखा लोभ्याउने मास्क बनाएको छ । ३८ वर्षीया वनेसा हाइजेन सास्कटुन मा बस्नुहुन्छ । उहाँका पेन्टिङहरू क्यानडाको विभिन्न स्थानमा भएका प्रदर्शनीमा प्रदर्शित भइसकेका छन् । उहाँ आफू प्रकृति, आफ्नो संस्कृति तथा स्थिरताले प्रेरित भएको बताउनुहुन्छ ।

‘यो माटोले हामीलाई सधैँ खुवायो र अहिले पनि खुवाइरहेको छ’, उहाँले भन्नुभयो, ‘जुन माटोमा हाम्रो घर छ । यो हो हाम्रो मातृभूमि अब यसले श्वास लिन पाउनुपर्छ ।’ वनेसा यो महामारीमा एक मूर्त सन्देश बनाउन चाहनुहुन्थ्यो जुन सधैँभरि ताजा भएर रहोस् । उहाँले बनाउनुभएको मास्क पनि यस्तै सदावहार छ । उहाँको मास्कले रात र दिनलाई प्रतीत गराउँछ । यस्तै सधैँ हरियो पातझैँ अनि सदावहार बगिरहने नदीझैँ मास्कले देखाउँछ ।
‘दिन रात भन्नाले हामी महामारीलाई बिर्सदै छैनौँ’, उहाँले भन्नुभयो, ‘युगान्तसम्मका लागि यो हाम्रो वास्तविकता हो ।’ उहाँलाई आदिवासी र नदीको बहावबीच सम्बन्ध छ भन्ने लाग्छ । ‘आदिवासीको स्वास्थ्य नदीको प्रणालीसँग सम्बन्धित छ भन्ने मलाई लाग्छ’, उहाँ भन्नुहुन्छ । तर आदिवासीलाई प्राकृतिक स्रोतहरूको उपयोगमा भेदभाव गरिएको भन्ने उहाँलाई लाग्छ । यसकै कारण आदिवासी समुदायमा गरिबी निम्तिरहेको छ । त्यस्तै आवास पनि राम्रा हुँदैनन् अनि सुरक्षित पिउने पानीको समेत अभाव आदिवासीमा भएको सधैँ उहाँलाई लाग्छ । सरकार र आदिवासीबीच भएको असमान सम्झौताका कारण यो सधैँ अभाव खेपिरहनु परेको छ । त्यसैले उहाँको मास्कले यसलाई पनि प्रतिविम्बित गर्छ ।

इतिहासको दस्तावेजीकरण
कलात्मक इनुभिक समुदायकी एलिजा फर्थलाई पनि कोरोना महामारीको प्रतिक्रिया जनाउनलाई सजिलै भएको छ । ६३ वर्षीया उहाँले रंगिन रेसमबाट मास्क बनाउनुभएको छ । झुन्डिएका चुच्चा भागहरूमा दुम्सीका काँडा राखिएका छन् । तिनको हरेक पाटामा सम्पूर्ण मानव जाति र सभ्यतालाई झल्काउने रातो, कालो, पहेँलो र सेतो रङ मिलाइका छन् ।
‘यसले हामी सबै सँगै छौँ भन्ने प्रतिविम्बित गर्छ’, उहाँले मास्कको अर्थ बताउनुभयो । यो बनाउन उहाँलाई एक महिना लाग्यो । उहाँका लागि यो अत्यन्तै संवेदनशील अनुभव थियो । उहाँ भन्नुहुन्छ, यसलाई उहाँ कहिल्यै भुल्नुहुने छैन । एलिजा दुई हप्ते अवधिको आइसोलेसनमा रहँदा मास्क बनाउन प्रेरित हुनुभएको थियो । त्यस समय उहाँले सामाजिक रूपमै एक्लिएको महसुस गर्नुभएको थियो । उहाँको कलात्मक सिर्जनाले महामारीको गम्भीरता र संकटलाई बिर्सन सहयोग गर्यो । तर यो बनाउँदै गर्दा उहाँले आमाका बारे सोच्न थाल्नुभयो, जो ट्वुबरक्लोसिस (टीबी) महामारीबाट बच्नुभएको थियो ।
विगतमा क्यानडामा आदिवासी समुदाय टीबीबाट विनाश भएको थियो । जब एलिजाकी आमालाई टीबी भयो, तब उहाँलाई घरभन्दा हजारौँ किलोमिटर पर एक इन्डियन अस्पताल पठाइएको थियो । त्यहाँ उहाँ दुई वर्षसम्म एकलै बस्नुभएको थियो । ‘यो उहाँको जीवनमा दुःखद समय थियो’, एलिजाले भन्नुभयो, ‘तनावबाट छुटकारा पाउन मेरी आमाले अस्पतालमा यस्तै कलात्मक माला सिउनुभयो ।’
एलिजाले मास्कको भित्रपट्टी चारवटा साना खल्ती बनाउनुभएको छ । तिनमा उहाँले सल्लाका पातसहितका औषधी राख्नुभएको छ, जुन उमालिएको छ । यसले श्वासप्रश्वास प्रणालीमा फाइदा गराउँछ । उहाँले स्थानीय फोटोग्राफरलाई आफूले बनाएको मास्कसहित फोटो खिचिदिन भन्नुभयो । फोटोग्राफर फेसबुक फोटो प्रतियोगितामा प्रवेश गर्नुभयो, त्यतिखेरसम्म एलिजालाई कसैले चिन्नुभएको थिएन । त्यो फोटो ४९ वटा फोटोबाट छानियो । फोटो अब आउँदो तीन वर्षभित्र क्यानडाभर प्रदर्शित हुनेछ । जसका कारण उहाँ अब धेरै मानिसमाझ चिनिनु हुनेछ ।
तर उहाँ भन्नुहुन्छ, उहाँले फेरि कहिल्यै यस्तो महामारीवाला मास्क बनाउनुहुने छैन । ‘म अनुमान गर्छु कि यस प्रोजेक्टको राम्रो पक्ष के हो मलाई थाहा थिएन’, उहाँले भन्नुभयो, ‘प्रदर्शनीमा छनोट हुनु मेरा लागि अद्भभूत र मेरो अहोभाग्य हो । तर म कहिल्यै यस्तो फेरि बनाउने छैन । यो एउटै बनाउँदा बढी भएको छ । यो इतिहासको दस्तावेजीकरण मात्र थियो । म यसैमा यसलाई छाडिदिने छु ।’
#हेल्थपाटी#
















































। २० भाद्र २०७७, शनिबार