
जाजरकोटमा न घोषित रुपमा लोडसेडिङ छ । न त नियमित रुपमा विद्युत आपुर्ती । हिजोआज जिल्लामा यही समस्याले सर्वसाधारण हैरान छन ।
दिनमा दर्जनौं पटक विद्युत लाइन जान्छ । छिनमै आउने र छिनमै जाने विद्युतका कारण उपभोक्ताहरु सास्ती भोग्न बाध्य छन । तर यसको समाधान खोज्ने तर्फ सम्बन्धीत निकायले खासै चासो दिएका छैनन । अझै कति समय यहाँका नागरिकले भोग्नुपर्ने हो, त्यो भन्न सकिने अवस्था छैन । रातको समयमा कम मात्र जाने बत्ती दिउँसोमा अत्याधिक मात्रामा जाने गरेको छ । यसले सर्वसाधारण उपभोक्तालाई त समस्या भएकै छ ।
त्यो भन्दा बढी समस्या उद्यागी र व्यवसायीलाई भएको छ । अझ मेसिनरी उपकरण प्रयोग गर्नेहरुको पीडा बयान गरी नसक्नु छ । झ्याप जाने र आउने बत्तीका कारण धेरै मेसिनरी सामानहरु बिग्रिएका छन । यसको क्षतिपुर्ती कसले दिने ? विना सुचना विद्युत अनियमित भएका कारण गुमेको नोक्सान कसले वेहोर्ने ? आज सर्वसाधारण यही प्रश्नको उतर खोजिरहेका छन । सामान्य हावा चल्दा र पानी पर्दा दिनहुँसम्म विजुली नहुने समस्या नयाँ होइन । खडेरीको समयमा पहिलेबाटै यहाँका बासिन्दाले यो समस्या भोग्दै आएका हुन ।
तर पछिल्लो समय अनियमित विद्युतले थप हैरान बनाएको छ । देश लोडसेडिङ मुक्त भएको झण्डै दुईवर्ष भइसकेको छ । हाल केन्द्रीय विद्युत प्रशारणलाइन पुगेका ठाउँमा कुनै पनि ठाउँमा लोडसेडिङ छैन । हिजोआज वर्षाको समय भएका कारण पनि विद्युत उत्पादन झनै बढेको छ । जिल्लामा विद्युत नियमित छैन । विद्युत नियमित नहुनुमा विद्युत कार्यालयको जवाफ छ उतै केही समस्या छ । यो कसले बनाउने हो ? समस्या समाधान गर्न किन चासो नदिएको ?
तर समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुको विद्युत कार्यालयले आउँछ भन्दै पन्छिने गरेको छ । स्थानीयलाई देखाएर प्राधिकरण कहिलेसम्म पन्छिने ? अनि नागरिकले कहिलेसम्म यसरी सास्ती भोगिरहने ? कुनै पनि वहानामा नागरिकलाई सास्ती दिने छुट कार्यालयलाई छैन ।
यसरी जनता बाट कर मात्र माग्ने नियमित सेवा नदिने हो भने स्थानीयले कसरी दिन्छन विद्युतको महसुल ? विद्युत नियमित आउने बाटो बनाऔँ । नागरिकलाई सास्ती दिदै नदिऔँ ।
















































। ९ भाद्र २०७७, मंगलवार