कारोनाबाट दक्षिण एसियामा भारत सबैभन्दा बढी प्रभावित, कहाँ कस्तो ?

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर २४ लाख ७ हजार जना संक्रमित भइसकेका छन् । १ लाख ६५ हजार भन्दा बढीको ज्यान गएको छ । ६ लाख २५ हजारको मात्र उपचार पछि निको भएको छ ।

विश्वका २१० राष्ट्र तथा प्रशासित क्षेत्रमा फैलिएको कोरोनाको प्रभाव दक्षिण एसियामा पनि परेको छ । त्यसको सबैभन्दा बढी मारमा छिमेकी भारत परेको छ । भारतमा अहिलेसम्म ५५९ जनाको ज्यान गइसकेको छ ।

वल्डोमिटरर्सका अनुसार भारतमा १७ हजार ६१५ जना संक्रमित भएका छन् । अप्रिल महिना लागेपछि भारतमा संक्रमित निकै बढिरहेका छन् ।

२ हजार ८५४ जनालाई निको भइसकेको छ ।

त्यस्तै अर्को राष्ट्र पाकिस्तानमा १६८ जनाको ज्यान गइसकेको छ । पाकिस्तानमा ८ हजार ३८४ जना संक्रमित रहेका छन् ।

पहिले भारत भन्दा अगाडि रहे पनि पाकिस्तानमा संक्रमित घटिरहेका छन् । पाकिस्तानमा १ हजार ८६८ जना लाई निको भएको छ ।

बंगलादेशमा २ हजार ४५६ जना संक्रमित रहेका छन् । मृतकको संख्या ९१ पुगेको छ । संक्रमितको तुलनामा निको भने कमैलाई मात्र भएको छ । बंगलादेशमा ७५ जनामात्र उपचारपछि निको भएका छन् ।

अफगानिस्तानमा ९९६ जना संक्रमित भएका छन् । मृतकको संख्या ३३ रहेको छ । अफगानिस्तानमा निको हुनेको संख्या १३१ रहेको छ ।

त्यस्तै श्रीलंकामा पनि स्थिति ठीकै रहेको छ । ७ जनाको ज्यान गएको भए पनि २७१ संक्रमितमध्ये ९६ जनालाई निको भइसकेको छ ।

माल्दिभ्समा ५२ जनालाई संक्रमण भएको छ भने १६ जनालाई निको भइसकेको छ ।

त्यसपछि नेपाल नै पर्दछ । अहिलेसम्म नेपालमा ३१ जनामा संक्रमण भएको छ भने ४ जनालाई निको भइसकेको छ ।

भुटानमा मात्र ५ जना संक्रमित रहेका छन् । २ जनालाई निको भइसकेको छ ।

तपाईको प्रतिक्रिया