नलगाडमा जल सम्मेलन


खलंगा । जाजरकोटको नलगाड नगरपालिकामा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) आयोजनाको सहजीकरणमा जल सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।

सम्मेलनमा विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी, ग्रामीण मर्मत सम्भार कार्यकर्ता (VMW), स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्मेलनमा क्ग्क्ध्ब् आयोजनाले सहजीकरण गरेको थियो । नगरपालिकामा आयोजित सम्मेलनमा करिब १५० जना उपभोक्ता समिति तथा ग्रामीण मर्मत सम्भार कार्यकर्ता (VMW) को सहभागिता रहेको थियो ।

सम्मेलनको सहजीकरण SUSWA आयोजनाका सुशासन विज्ञ इन्जिनियर निराजन श्रेष्ठ, त्यस आयोजनाका वास सल्लाहकार लगायत सम्बन्धित पालिकाका WASH युनिटका कर्मचारीहरुले गरेका थिए ।

सम्मेलनमा ग्रामीण खानेपानी योजनाहरुलाई दीर्घकालीन रूपमा दिगो, भरपर्दो र सुचारु बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। विशेषगरी योजनाको नियमित मर्मत सम्भार, स्रोत व्यवस्थापन, खानेपानी महसुल शुल्क संकलन, प्राविधिक जनशक्ति परिचालन तथा स्थानीय तहले अवलम्बन गरेका रणनीतिहरुबारे अनुभव आदान–प्रदान गरिएको थियो।

त्यसैगरी, उपभोक्ता समितिको संस्थागत विकास, पारदर्शिता, उत्तरदायित्व तथा समुदायको सक्रिय सहभागितालाई मजबुत बनाउँदै खानेपानी सेवाको गुणस्तर सुधार गर्नुपर्ने विषयमा सहभागीहरुले जोड दिएका थिए ।

सम्मेलनका क्रममा दिगोपना र सुचारुपनाका विभिन्न सूचकका आधारमा उत्कृष्ट सेवा प्रवाह गरिरहेका खानेपानी उपभोक्ता समितिहरुलाई सम्बन्धित पालिकाहरुले सम्मान तथा पुरस्कृत समेत गरेका थिए।

कार्यक्रमको अन्त्यमा सुरक्षित, भरपर्दो र दिगो खानेपानी सेवा सुनिश्चित गर्न सबै सरोकारवालाहरुले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै आगामी कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया