
जाजरकोट । जाजरकोट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर बुढा भारी मतान्तरले विजयी भएका छन्।
अन्तिम मत परिणाम अनुसार बुढाले २० हजार १४२ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपाका शक्तिबहादुर बस्नेतलाई पराजित गरेका हुन्। बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरेका छन्।
बुढाले बस्नेतलाई २ हजार ७३५ मतान्तरले पराजित गरेका हुन्।
यस निर्वाचनमा नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका राघव कार्कीले २ हजार ४७१ मत प्राप्त गरेका छन्।
जाजरकोटमा यसअघि लगातार तीन पटक प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका बस्नेतलाई पराजित गर्दै बुढाले पहिलो पटक संघीय संसदमा प्रवेश गरेका हुन्।
विद्यार्थी राजनीतिबाट उदाएका बुढा नेपाली कांग्रेस जाजरकोटका जिल्ला उपसभापति तथा कार्यवाहक सभापतिका रूपमा सक्रिय छन्।
यस निर्वाचनसँगै जाजरकोटमा लामो समयदेखि कायम रहेको माओवादी प्रभाव कमजोर भएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
जिल्लाको पश्चिम क्षेत्रबाट उम्मेदवार बनेका बुढाले क्षेत्रीय प्रतिनिधित्व र विकासको मुद्दालाई चुनावी एजेन्डा बनाएका थिए।
















































हाम्रो पहुँच संवाददाता । २३ फाल्गुन २०८२, शनिबार