
खलंगा । जाजरकोटमा निर्वाचनको माहोल ताते पनि मतदाताको उत्साह भने अपेक्षित रूपमा बढेको छैन । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन्, तर मतदाताको मनमा भरोसाको खोजी अझै जारी छ ।
मौन अवधिअघि नै गाउँघर मौनजस्तै देखिएका छन् । राजनीतिक दलका झण्डा, चुनाव चिन्ह, पर्चा–पोष्टर र घोषणापत्रले बजारदेखि बस्ती रङ्गिए पनि मतदाताको मन भने अझै खुल्न सकेको छैन । उम्मेदवारहरू मुस्कानसहित विकास र समृद्धिको प्रतिबद्धता दोहोर्याउँदै मत मागिरहेका छन्, तर मतदाताले प्रश्नको जवाफ खोजिरहेका छन् ।
आश्वासनप्रति बढ्दो अविश्वास
गाउँका चौतारा र बजारका चिया पसलमा मतदाताहरू अघिल्ला निर्वाचनका वाचा पूरा नभएको गुनासो गरिरहेका छन् । विकासका योजना कागजमै सीमित भएको उनीहरूको बुझाइ छ । रोजगारी सिर्जना, सडक स्तरोन्नति, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत समस्या अझै समाधान नभएको मतदाताको टिप्पणी छ ।
“चुनावका बेला धेरै आश्वासन दिन्छन्, तर जितेपछि फर्केर हेर्दैनन्,” स्थानीय मतदाताको गुनासो छ । युवाहरूले विशेषगरी रोजगारी, सीपमूलक तालिम र स्वदेशमै गरिखाने वातावरणको माग गरिरहेका छन् । महिलाहरूले सुरक्षासँगै सहज सेवा प्रवाहको अपेक्षा राखेका छन् ।
मतदाता अब प्रश्नकर्ता बने
यसपटक मतदाता केवल समर्थन गर्ने भूमिकामा छैनन् । उम्मेदवारलाई जवाफदेही बनाउन उनीहरू प्रश्न गरिरहेका छन्—घोषणापत्रका प्रतिबद्धता किन पूरा भएनन् ? विकासका एजेण्डा किन कार्यान्वयन भएनन् ?
सामाजिक सञ्जालको पहुँच बढेसँगै मतदाताले उम्मेदवारको विगत र कार्यशैलीबारे जानकारी लिन थालेका छन् । यसले निर्णय प्रक्रियालाई झनै सोचविचारपूर्ण बनाएको छ ।
युवा मतदातामा उत्साह
यद्यपि पुराना मतदातामा निराशा देखिए पनि नयाँ पुस्तामा भने मतदानप्रति जिज्ञासा र उत्साह बढेको छ । पहिलोपटक मतदान गर्ने युवाहरूले आफ्नो मत भविष्य निर्माणको आधार हुने बताएका छन् ।
दुर्गम क्षेत्रका युवादेखि सहर केन्द्रित विद्यार्थीसमेत यसपटक सचेत मत प्रयोग गर्ने सोचमा छन् । उनीहरूको प्राथमिकतामा गुणस्तरीय शिक्षा, रोजगारी, पारदर्शी शासन व्यवस्था र स्थानीय समस्याको समाधान गर्ने नेतृत्व परेको छ ।
“भाषण होइन, काम चाहिएको छ,” युवाहरूको साझा आवाजजस्तै बनेको छ ।
निर्वाचनलाई ‘उत्सव’ मान्ने नयाँ पुस्ता
पहिलोपटक मतदान गर्न लागेका युवाहरू निर्वाचनलाई लोकतान्त्रिक उत्सवका रूपमा हेर्न थालेका छन् । मतदाता शिक्षा कार्यक्रमहरूले पनि मतदानप्रतिको आत्मविश्वास बढाएको सहभागीहरूको भनाइ छ ।
“अब हामी दर्शक होइनौँ, निर्णय प्रक्रियाका सहभागी हौँ,” नयाँ मतदाताको साझा धारणा छ ।
निर्णय मतदाताकै हातमा
चुनावको अंकगणित जति जटिल भए पनि अन्तिम फैसला मतदाताले नै गर्नेछन् । विकासको निरन्तरता रोज्ने कि नयाँ विकल्प खोज्ने भन्ने प्रश्न जाजरकोटको निर्वाचनको मुख्य बहस बनेको छ ।
फागुन २१ ले जाजरकोटको राजनीतिक भविष्यमा नयाँ अध्याय सुरु गर्नेछ—निरन्तरता वा परिवर्तन, निर्णय अब मतदाताको हातमा छ ।
















































हाम्रो पहुँच संवाददाता । १८ फाल्गुन २०८२, सोमबार