जाजरकोटी जनताको जीवनस्तर बदल्न चाहान्छन्  डम्बर सिंह

कोरोना महामारी होस् वा जाजरकोटमा गएको विनाशकारी भूकम्प— डम्बर सिंह सधैँ अग्रमोर्चामा देखिए। कोरोना कालमा औषधि, राहत र समन्वयमा सक्रिय भूमिका खेलेका उनी भूकम्पपछिको उद्धार, राहत वितरण र पुनर्निर्माणका विषयमा निरन्तर खबरदारी गर्ने नेतामध्ये अग्रपंक्तिमा रहे। “संकटमा नेता देखिनुपर्छ” भन्ने उनको मान्यता व्यवहारमै देखियो।


जाजरकोट । राजनीतिलाई पद र शक्तिको माध्यम होइन, जनताको जीवन परिवर्तन गर्ने साधन ठान्ने नेताको खोजी जाजरकोटमा धेरैले गरिरहेका छन्। यही खोजको उत्तरका रूपमा अगाडि आएका छन्— डम्बर बहादुर सिंह।

शिक्षकको सम्मानित पेशा त्यागेर नेकपा एमालेको राजनीतिक यात्रामा होमिएका सिंह पछिल्लो दुई दशकदेखि जाजरकोटको राजनीतिमा इमान्दारिताको पर्याय बनेका छन्। संगठनप्रतिको निष्ठा, निरन्तर संघर्ष र त्यागको राजनीति देखेर उनीप्रति आफ्नै पार्टीका कार्यकर्ता मात्र होइन, अन्य दलका नेता–कार्यकर्तासमेत प्रभावित देखिन्छन्।

एक दशक अध्यक्ष, संगठनको मेरुदण्ड

डम्बर सिंह एक दशकभन्दा बढी समय नेकपा एमाले जाजरकोटका अध्यक्ष रहे। यो अवधिमा पार्टी संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै कार्यकर्तामा आशा र भरोसा जगाउने काम उनले गरे। सत्ता हुँदा पनि र नहुँदा पनि जनतासँगै रहने नेता भनेर चिनिएका सिंह कहिल्यै विवादित राजनीतिमा फसेनन्।

संकटमा अग्रमोर्चामा

कोरोना महामारी होस् वा जाजरकोटमा गएको विनाशकारी भूकम्प— डम्बर सिंह सधैँ अग्रमोर्चामा देखिए। कोरोना कालमा औषधि, राहत र समन्वयमा सक्रिय भूमिका खेलेका उनी भूकम्पपछिको उद्धार, राहत वितरण र पुनर्निर्माणका विषयमा निरन्तर खबरदारी गर्ने नेतामध्ये अग्रपंक्तिमा रहे। “संकटमा नेता देखिनुपर्छ” भन्ने उनको मान्यता व्यवहारमै देखियो।

भौतिक विकास मात्रै होइन, जीवनस्तर परिवर्तनको एजेन्डा

प्रतिनिधि सभा सदस्यका रूपमा उम्मेदवारी दर्ता गराउँदै सिंहले स्पष्ट सन्देश दिएका छन्—
“अब जाजरकोटलाई सडक र भवन मात्र होइन, अवसर चाहिन्छ।”

उनका प्राथमिकता यस्ता छन्:

शिक्षा: गुणस्तरीय सरकारी विद्यालय, शिक्षक व्यवस्थापन र प्राविधिक शिक्षा

स्वास्थ्य: पहुँचयोग्य स्वास्थ्य सेवा, विशेषज्ञ सेवा र औषधिको सुनिश्चितता

रोजगारी: स्थानीय उत्पादन, सीप विकास र युवालाई आफ्नै ठाउँमा काम

पर्यटन: जाजरकोटको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक पहिचानलाई रोजगारीसँग जोड्ने योजना

जनताको आवाज संसदसम्म

“अब जाजरकोट सधैँ पछाडि परिरहनु हुँदैन,” सिंह भन्छन्, “यहाँका जनताको जीवनस्तर बदल्ने समय आएको छ, र त्यसका लागि इमानदार नेतृत्व आवश्यक छ।”

शिक्षकबाट राजनीतिमा आएका डम्बर सिंह आज अनुभव, इमान्दारिता र संघर्षको जगमा उभिएर प्रतिनिधि सभामार्फत जाजरकोटको आवाज राष्ट्रिय राजनीतिमा बुलन्द गर्ने लक्ष्यसहित मैदानमा छन्।

जाजरकोटी जनताले खोजेको परिवर्तनको चाहना पूरा गर्न सक्ने नेतृत्वका रूपमा डम्बर सिंहलाई धेरैले आशाको पात्र का रूपमा हेर्न थालेका छन्।

तपाईको प्रतिक्रिया