भेरीमा बालमैत्री स्थानीय शासनबारे दुई स्थानमा वृहत संवाद

स्याउली बजार र खलंगामा सम्पन्न कार्यक्रमले बाल अधिकार र सहभागितामा नयाँ बहस

 

जाजरकोट । भेरी नगरपालिकाका दुई स्थानमा बालमैत्री स्थानीय शासन सम्बन्धी संवाद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। हिमालय पत्र मिडिया प्रा.लि. जाजरकोटको आयोजनामा तथा भेरी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रम माघ ३ गते स्याउली बजार र माघ ५ गते भेरी नगरपालिकाको सभाहल, खलंगामा सञ्चालन गरिएको हो।

माघ ३ गते स्याउली बजारमा सम्पन्न कार्यक्रममा भेरी नगरपालिका वडा नं. ७, ८, ९, १०, ११ र १२ का बाल क्लब, बाल सञ्जाल, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता थियो भने माघ ५ गते खलंगामा सम्पन्न कार्यक्रममा वडा नं. १, २, ३, ४, ५, ६ र १३ का प्रतिनिधि, बालबालिका तथा सरोकारवाला निकाय सहभागी थिए।

कार्यक्रममा भेरी नगरपालिका उपप्रमुख सीता जैसी, १३ वटै वडाका वडाध्यक्षहरू, शिक्षा शाखा प्रमुख प्रमोद विष्ट, महिला तथा बालबालिका शाखा प्रमुख शारदा शर्मा, स्वास्थ्य शाखा प्रमुख दीपक वली, बाल कल्याण अधिकारी सन्तोष पुन, गैरसरकारी संस्था महासंघ जाजरकोटका अध्यक्ष सहदेव बस्नेत लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

संवाद कार्यक्रममा बालमैत्री स्थानीय शासनलाई व्यवहारमा कसरी लागू गर्ने भन्ने विषयमा गहन छलफल गरिएको थियो। सहभागी बालबालिकाले आफ्ना समस्या, अनुभव र अपेक्षा खुला रूपमा राखेका थिए भने जनप्रतिनिधि तथा विज्ञहरूले नीति, योजना र कार्यान्वयनका पक्षमा धारणा राखेका थिए।

प्रमुख छलफल विषयहरू

कार्यक्रममा विशेषगरी यी विषयहरूमा केन्द्रित रहेर छलफल गरिएको थियोः

बालमैत्री वडा घोषणा प्रक्रिया

बाल सहभागिता र निर्णय प्रक्रियामा समावेशीकरण

विद्यालय, स्वास्थ्य र संरक्षणका सवाल

बाल क्लब तथा बाल सञ्जालको भूमिकाको सुदृढीकरण

छलफलका क्रममा बालमैत्री स्थानीय शासन केवल कागजी नीतिमा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिइएको थियो। वडास्तरदेखि नगरस्तरसम्म बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न संरचनागत सुधार आवश्यक रहेको सहभागीहरूको निष्कर्ष थियो।

कार्यक्रमका उपलब्धि

दुई दिनसम्म चलेको संवाद कार्यक्रमबाट बालमैत्री स्थानीय शासनबारे साझा बुझाइ विकास भएको, बालबालिकाले आफ्ना सवाल प्रत्यक्ष रूपमा राख्ने अवसर पाएको र स्थानीय सरकार तथा बालबालिकाबीचको समन्वय थप सुदृढ भएको आयोजकले जनाएको छ। साथै आगामी दिनमा भेरी नगरपालिकामा बालमैत्री नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनप्रतिनिधिहरूले व्यक्त गरेका छन्।

स्थानीय तहमा बाल अधिकार, संरक्षण, विकास र सहभागितालाई संस्थागत गर्ने दिशामा यो कार्यक्रम महत्वपूर्ण आधार बनेको सरोकारवालाहरूको भनाइ छ। भेरी नगरपालिकालाई बालमैत्री नगर निर्माण गर्ने लक्ष्यतर्फ उन्मुख गराउन यस्तो संवाद कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया