नरेश पुनले अनाथालयका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गर्दै  मनाए जन्मदिन 

जाजरकोट । नलगाड नगरपालिका–७ मा रहेको बुद्धभूमि मानव सेवा आश्रममा आश्रित बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गर्दै नरेश पुनले आफ्नो २७औँ जन्मदिन मनाएका छन्।

आफ्नो जन्मोत्सवलाई केक काट्ने र पार्टी गर्ने औपचारिकतामा सीमित नराखी, अभिभावकविहीन तथा असहाय बालबालिकासँग खुशी साट्दै सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले पुनले उक्त कार्यक्रम आयोजना गरेका हुन्।

कार्यक्रमका क्रममा आश्रममा बसोबास गरिरहेका ९ जना विद्यार्थीलाई कापी, कलम, किताबजस्ता शैक्षिक सामग्रीका साथै न्यानो कपडा वितरण गरिएको थियो। जाडोको मौसममा न्यानो कपडा र पढाइमा आवश्यक सामग्री पाएपछि बालबालिकामा खुसी र उत्साह देखिएको थियो।

जन्मदिनको अवसरमा बोल्दै नरेश पुनले भने, “अरूले जस्तै पार्टी गरेर जन्मदिन मनाउनु भन्दा पनि अभिभावकविहीन बालबालिकालाई सानो भए पनि हौसला र राहत दिन सकियो भने त्यो नै साँचो खुशी हो भन्ने लागेर यो निर्णय गरेको हुँ।”

बुद्धभूमि मानव सेवा आश्रमका प्रतिनिधिहरूले पुनको यस मानवीय कार्यको प्रशंसा गर्दै, यस्ता सहयोगले बालबालिकाको मनोबल बढ्नुका साथै समाजमा सकारात्मक सन्देश जाने बताएका छन्।

सामान्य उत्सवलाई सामाजिक सेवामा रूपान्तरण गर्दै नरेश पुनले मनाएको जन्मदिन स्थानीयस्तरमै उदाहरणीय बनेको छ।

तपाईको प्रतिक्रिया