जाजरकोट — जिल्ला प्रहरी कार्यालय जाजरकोटले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार पछिल्लो एक महिनामा जिल्लामा १४ वटा मुद्दा दर्ता भएका छन्।
तीमध्ये जघन्य १, गम्भीर ५ र सामान्य ८ मुद्दा रहेका छन्। चालु मुद्दामा ७ जना प्रतिवादी पक्राउ परेका छन् भने सार्वजनिक चासोका मुद्दामा सफल अनुसन्धान भएको प्रहरीले जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ उजुरी नपरेको जनाइएको छ। घरेलु हिंसाका २ वटा उजुरीमध्ये दुवै मिलापत्रमार्फत समाधान गरिएको छ।
यस अवधिमा ७ वटा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु र १७ जना घाइते भएका छन्। दुर्घटनाको प्रमुख कारण क्षमता भन्दा बढी यात्रु बोक्ने, तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउनु रहेको प्रहरीले जनाएको छ। चेकजाँचका क्रममा १०८ सवारी कारबाही गरी रु. १३ लाख ५० हजार राजस्व संकलन गरिएको छ।
अवैध हातहतियारतर्फ १ थान एयरगन बरामद गरिएको छ। विपद्, अवैध मदिरा, लागू औषध, प्राकृतिक सम्पदा दोहन तथा आत्महत्याका घटना भने नभएको प्रहरीले जनाएको छ।
शान्ति सुरक्षाका लागि नियमित तथा विशेष गरी २६५ वटा प्रहरी ड्युटी परिचालन गरिएको थियो। समुदाय–विद्यालय केन्द्रित ४० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन भएका छन् भने १७० जनाको सहभागिता रहेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीर कुमार खड्काले अपराध नियन्त्रण, शान्ति सुरक्षा र नागरिक सेवामा प्रहरी सक्रिय रहेको जानकारी दिएका छन्।
















































हाम्रो पहुँच संवाददाता । ३ पुष २०८२, बिहीबार