
जाजरकोट। दशकौँदेखि जाजरकोटलाई पछि पार्दै आएको राजनीतिक सिन्डिकेट, भोट किनबेच, कमजोर शिक्षा–स्वास्थ्य प्रणाली र बढ्दो युवा पलायन अन्त्य गर्ने दृढ संकल्पसहित राधब कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
जाजरकोट सदरमुकाम खलङ्गामा जन्मिनुभएका कार्कीले त्रिभुवन माध्यमिक विद्यालय, थाप्लेबाट माध्यमिक तहसम्मको शिक्षा हासिल गर्नुभएको हो। त्यसपछि नेपालगञ्जमा कानुन विषयमा स्नातक तथा जन प्रशासनमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभएको छ। कुनै राजनीतिक दल, समूह वा व्यक्तिको प्रतिनिधि नभई सम्पूर्ण जाजरकोटी जनताको साझा प्रतिनिधिका रूपमा आफू चुनावी मैदानमा उत्रिएको उहाँको भनाइ छ।
उम्मेदवारी घोषणा कार्यक्रममा कार्कीले भन्नुभयो, “जाजरकोटको भौगोलिक कठिनाइ, जर्जर शिक्षा र स्वास्थ्य, बेरोजगारी, नशाजन्य समस्या र राजनीतिक सिन्डिकेटका कारण जिल्ला निरन्तर पछाडि पारिएको छ। अब भाषण होइन, परिणाम दिने नेतृत्व आवश्यक छ।”
२१ बुँदे सुधार कार्यक्रम सार्वजनिक
कार्कीले जाजरकोटलाई “नेपाली नक्सामा गर्व गर्न लायक जिल्ला” बनाउने लक्ष्यसहित २१ बुँदे सुधार कार्यक्रम सार्वजनिक गर्नुभएको छ। कार्यक्रम अन्तर्गत—
शिक्षा र स्वास्थ्य:
प्रत्येक पालिकामा मोडेल सामुदायिक विद्यालय, जिल्ला अस्पतालको स्तरोन्नति, २४ घण्टा स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य तथा नशा नियन्त्रण केन्द्र स्थापना।
रोजगारी र अर्थतन्त्र:
हरेक वर्ष कम्तीमा ३ हजार युवालाई सिप र रोजगारी दिने ‘जाजरकोट युवा रोजगारी कार्यक्रम’, स्थानीय उत्पादनमा आधारित अर्थतन्त्र, ‘जाजरकोट ब्राण्ड’ विकास, सहकारीमार्फत सामूहिक खेती, साना तथा मझौला उद्योग प्रवर्द्धन र पर्यटन विकास विशेष योजना।
सुशासन र पारदर्शिता:
सबै विकास बजेट सार्वजनिक हुने अनलाइन ड्यासबोर्ड, नागरिक सहभागितामा विकास निगरानी समिति, प्रत्येक तीन महिनामा अनिवार्य जनसुनुवाइ, भ्रष्टाचारप्रति शून्य सहनशीलता नीति।
समावेशी विकास:
युवा, महिला, दलित तथा सीमान्तकृत समुदाय लक्षित कार्यक्रम, डिजिटल जाजरकोट अभियान, दिगो सडक–बिजुली–इन्टरनेट विस्तार र दीर्घकालीन ‘जाजरकोट भिजन २०९०’ निर्माण।
‘भाषण होइन, काम’
उम्मेदवारी घोषणाको अन्त्यमा कार्कीले भन्नुभयो, “सिन्डिकेट होइन सेवा, पलायन होइन उत्पादन, भाषण होइन काम—जाजरकोटको भविष्य जाजरकोटमै बनाउने अठोटका साथ म तपाईंहरूसामु स्वतन्त्र उम्मेदवारका रूपमा उभिएको छु।”
उनको उम्मेदवारीलाई जिल्लामा नयाँ आशा, वैकल्पिक र उत्तरदायी नेतृत्वको सम्भावनाका रूपमा हेरिएको छ।
















































हाम्रो पहुँच संवाददाता । ३ पुष २०८२, बिहीबार