नेताको भाषणमा समाजवाद आयो व्यवहारमा आएन् : आकाश कार्की

समाजवादी युवा संगठन नेपाल देशमा विद्यमान कालोबजारी, वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी, शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारीकरणजस्ता गम्भीर समस्याविरुद्ध निरन्तर आवाज उठाउँदै आएको संगठन हो। यी विषयहरूमा स्पष्ट र कठोर धारणा राखेकै कारण कतिपयले यस संगठनलाई ‘कट्टर’ वा ‘अराजक’ रूपमा चित्रण गर्ने प्रयास गरेका छन्। तर वास्तविकतामा यो संगठन श्रमिक, किसान, युवा र उत्पीडित समुदायको हक–अधिकारका लागि शान्तिपूर्ण वैचारिक संघर्षमा केन्द्रित छ।

वर्तमान राजनीतिक अवस्था र संकट

आज नेपाली राजनीतिमा व्यापक भ्रष्टाचार, घुसखोरी र सत्ताको दुरुपयोगले गहिरो संकट सिर्जना गरेको छ। यसले समाजलाई अस्थिरतातर्फ धकेलेको छ र देशलाई सीमित शक्तिकेन्द्रको ‘निर्णयको बन्दी’ बनाएको छ। यस्तो अवस्थामा केवल उत्पादन बढाउने कुरा मात्र पर्याप्त छैन। उत्पादन त अहिले सत्तामा रहेका दलहरूले पनि गरिरहेको दाबी गर्छन्, तर मुख्य समस्या उत्पादनको न्यायोचित वितरण प्रणाली नहुनु हो।

आज उत्पादन भएका वस्तुहरू सीमित पूँजीपति र व्यापारिक घरानाको हातमा केन्द्रित छन्। उदाहरणका रूपमा, ठूलो परिमाणमा उत्पादन भए पनि त्यसको स्वामित्व र मुनाफा सीमित व्यक्तिहरू—जस्तै ठूला उद्योगपति—सम्म मात्र सीमित हुन्छ। यस्तो प्रणालीले समाजलाई होइन, सानो वर्गलाई मात्र फाइदा पु¥याउँछ। यो मूलतः पूँजीवादी संरचनाकै निरन्तरता हो।

हाम्रो वैकल्पिक दृष्टिकोण

समाजवादी युवा संगठन नेपालको दृष्टिकोण यसभन्दा फरक छ। हामी बहु–उत्पादन प्रणालीलाई अनिवार्य गर्नुपर्ने पक्षमा छौँ, जहाँ समाजका सबै नागरिक उत्पादन प्रक्रियामा सहभागी हुन्छन्। उत्पादनसँगै आवश्यकतामा आधारित वितरण प्रणाली लागू गरिनुपर्छ।

परिवारको आकार, आवश्यकता र सामाजिक अवस्थालाई आधार मानी समान वितरणको व्यवस्था गरिनुपर्छ। जब समाजका सबै नागरिकले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत सेवाहरू सहज रूपमा प्राप्त गर्छन्, तब मात्र वास्तविक समान समाज निर्माण सम्भव हुन्छ।

जातीय विभेद र सामाजिक न्याय

नेपालमा जातीय विभेद अझै पनि गहिरो सामाजिक चुनौतीको रूपमा विद्यमान छ। इतिहासमा केही समाजवादी अभ्यास भएका देशहरूमा जातीय विभेदको समस्या तीव्र रूपमा नभए पनि नेपालजस्तो बहुजातीय समाजमा यसविरुद्ध स्पष्ट संघर्ष आवश्यक छ। समाजवादी युवा संगठन नेपाल जातीय, क्षेत्रीय, लैंगिक तथा वर्गीय सबै प्रकारका विभेदविरुद्ध दृढतापूर्वक उभिन्छ।

‘हामी नेपाली, एउटै जाति’ भन्ने मूल नारासहित संगठन अगाडि बढिरहेको छ। राष्ट्रिय एकता, सामाजिक न्याय र समानतामै आधारित समाजवाद हाम्रो लक्ष्य हो।

समाजवादको नाममा भ्रम

नेपालमा समाजवादको नाम धेरैले लिएका छन्—कसैले बीपीको समाजवाद भने, कसैले प्रचण्डको समाजवाद। तर व्यवहारमा ती धारणा स्पष्ट देखिँदैनन्। समाजवादी संविधानको कुरा गर्नेहरू स्वयं त्यसको मर्मअनुसार अघि बढ्न असफल भएका छन्। पुरानै संरचना र संविधानभित्र सीमित भएर गरिने चुनावले समाजमा गुणात्मक परिवर्तन ल्याउन सकेको छैन।

निष्कर्ष

समाजवादी युवा संगठन नेपाल केवल नारामा सीमित समाजवाद होइन, व्यवहारमा लागू हुने समाजवादी प्रणालीको पक्षधर हो। उत्पादन, वितरण, सामाजिक न्याय र राष्ट्रिय एकताका सवालमा स्पष्ट दृष्टिकोणसहित संगठन अगाडि बढिरहेको छ। हाम्रो लक्ष्य सत्ता होइन, समान, न्यायपूर्ण र आत्मनिर्भर समाज निर्माण हो ।

 

लेखक कार्की समाजवादी यूवा संगठन नेपालको केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया