थलह बजारमा संयुक्त बजार अनुगमन, म्याद सकिएका सामग्री नष्ट

जाजरकोट । छेडागाड नगरपालिका– ५ थलह बजारमा संयुक्त अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा गरिएको उक्त अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीदेखि दर्ता नगरेका पसलहरू सम्म पाइएका छन् ।

अनुगमन टोलीमा कार्यालय प्रमुख थिरकुमार न्यौपाने, जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत दीपेन्द्र शाही, स्वास्थ्यकर्मी, अभियान्ता, सुरक्षा निकायका प्रतिनिधि तथा कर्मचारीहरू सहभागी थिए ।

अनुगमनका क्रममा म्याद सकिएका खाद्य वस्तु, खुला तथा अव्यवस्थित रूपमा बिक्री भैरहेका सामग्री, दर्ता नवीकरण नभएका व्यवसाय समेत भेटिएको कार्यालयले जनाएको छ । अनुगमनमा करिब ११ हजार रुपैयाँ बराबरका अवैध तथा म्याद सकिएका सामग्री तत्कालै बरामद गरी नष्ट गरिएको हो ।

कार्यालय प्रमुख थिरकुमार न्यौपानेले भने, “उपभोक्ताको स्वास्थ्य जोखिममा पर्ने कुनै पनि गतिविधि सह्य छैन । नियम विपरीतका सामान बिक्री वितरण गरे तत्कालै कारबाही हुन्छ।”

त्यस्तै, प्रशासकीय अधिकृत दीपेन्द्र शाहीले बजार स्वच्छ, सुरक्षित र व्यवस्थित राख्न नियमित अनुगमनलाई निरन्तरता दिने बताए । “व्यवसाय गर्न कसैलाई रोकावट छैन, तर उपभोक्ताको अधिकार कुण्ठित हुने गतिविधि कडाइका साथ नियन्त्रण गर्छौं,” उनले भने ।

अनुगमन टोलीले व्यापारीलाई बिल अनिवार्य रूपमा उपलब्ध गराउने, दर्ता नवीकरण समयमै गर्ने, म्याद सकिएका तथा अनुचित तरिकाले भण्डारण गरिएका सामग्री नराख्ने चेतावनी समेत दिएको छ ।

थलह बजारमा गरिएको यो अनुगमनले स्थानीय उपभोक्तामा सुरक्षा र भरोसा वृद्धि गरेको छ ।

https://www.facebook.com/share/v/1S5LFBBr2x/

तपाईको प्रतिक्रिया