
जाजरकोट — जाजरकोटमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाप्रति जनचासो तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाभरका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यालयका प्रमुख डा. सुरदर्शन पोखरेलका अनुसार कार्यक्रममा जिल्लामा सञ्चालनमा रहेका सबै आयुर्वेद अस्पताल तथा स्वास्थ्य केन्द्रका प्रतिनिधिहरू सहभागी थिए। सहभागीहरूले गत वर्षभरि सञ्चालन भएका सेवा, चुनौती र आगामी वर्षका प्राथमिकताबारे विस्तृत छलफल गरेका थिए।
जाजरकोटमा पछिल्ला वर्षहरूमा आयुर्वेद उपचारप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढ्दो छ। जडीबुटीको प्रयोग, योग, प्राकृतिक उपचार पद्धति र जीवनशैली–आधारित आयुर्वेदिक विधिप्रति जनमानसको रुचि बढ्नु स्वास्थ्य सचेतनाको सकारात्मक संकेत भएको सरोकारवालाहरूको भनाइ छ।

कार्यक्रममा गैर–सरकारी संस्था महासंघ जाजरकोटका अध्यक्ष सहदेव बस्नेतले आयुर्वेदलाई ग्रामीण जनताको पहुँचमा अझै प्रभावकारी रूपमा पुर्याउन संस्थागत समन्वय र स्रोत परिचालन अत्यावश्यक रहेको बताए।
यस्तै, निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र शाहीले आयुर्वेद सेवालाई स्थानीय तह र समुदायमा प्रवद्र्धन गर्न प्रशासन सधैं सहयोगी रहेको बताउँदै प्रभावकारी सेवा विस्तारका लागि आवश्यक सुझाव प्रदान गरे।
समीक्षा कार्यक्रममा आगामी वर्ष आयुर्वेद सेवाको पहुँच विस्तार, जनचेतना अभिवृद्धि र जडीबुटी संरक्षण–प्रशोधन सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाइएकाे छ ।
















































हाम्रो पहुँच संवाददाता । १० मंसिर २०८२, मंगलवार