रुकुम पश्चिमको आठबिसकोटमा मोटरसाइकल र जिप ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

आठबिसकोटमा मोटरसाइकल र जिप ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
जाजरकाेट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ सिमपाखामा मोटरसाइकल र बोलेरो जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज आठबिसकोटको राडीबाट चिसापानी आइरहेको जिप र राडी तर्फ गइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जाजरकोट नलगाड नगरपालिका ८ का ३५ वर्षीय टिकाराम चदाराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार दुर्घटनामा गम्भीर घाइते चदाराको आठबिसकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलमै सवार अन्य २ जना घाइते भएका छन् ।

घाइते हुनेमा नलगाड नगरपालिका ८ जाजरकोटका १६ वर्षीय नवराज चदारा र आठबिसकोट नगरपालिका ९ का १४ वर्षीय कमल सुनार रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । उनीहरूको अवस्था मध्यम रहेको उहाँले बताउनुभयो । उनीहरूको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकलमा तीन जना सवार रहेका थिए । प्रहरी निरीक्षक पुनका अनुसार क.प्र. ०३००१ ह ०९२० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर लु १ ज ४५७९ नम्बरको बोलेरो जिपमा ठोक्किन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया