सल्यानका सबै पालिकामा कोरोना विपद कोष

सल्यान : कोरोना भाइरसबाट उत्पन्न विपद् सामना गर्न जिल्लाका दशवटै पालिकामा विपद कोष स्थापना गरिएको छ। तीन नगर तथा सात गाउँपालिकाले छुट्टाछुट्टै कोष बनाएर रकम जम्मा गर्न थालेका हुन्। बागचौर नगरपालिकाले तीन करोड, शारदा नगरपालिकाले २५ लाख बनगाड कुपिण्डे नगरपालिकाले १० लाखको कोष स्थापना गरेका छन्।

यस्तै छत्रेश्वरी गाउँपालिका ८ लाख, त्रिवेणी गाउँपालिका ४ लाख, कालिमाटी गाउँपालिकाले १२ लाखको कोष स्थापना गरेका छन्। यस्तै सिद्ध कुमाख गाउँपालिका ८ लाख, दार्मा गाउँपालिका ८६ लाख र कुमाख गाउँपाकिला १ करोड २२ लाख र कपुरकोट गाउँपालिकाले १० लाखको कोष स्थापना गरिसकेका छन्। विपद् कोषको रकम कोरोना रोकथाम र राहतमा खर्च भइरहेको सिद्ध कुमाख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले बताए। ‘गाउँपालिकाले विनियोजन गरेको रकमले कोभिड १९ काविरुद्ध सचेतनामूलक कार्यक्रम र राहत वितरणमा खर्च गरिरहेका छौं’ उनले भने।

कर्णाली प्रदेश सरकारले प्रदान गर्न थालेको १५ लाख रुपैयाँ आएमा बजेट पर्याप्त हुने उनको भनाई छ। दार्मा गाउँपालिकाका जनप्रतिनिधिले एक महिना र कर्मचारीले पाँच दिनको सेवा-सुविधा बराबरको रकम जम्मा गरेका छन्। जनप्रतिनिधि र कर्मचारीको तर्फबाट ६ लाख बढी रुपैयाँ जम्मा भएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी अरुणले बताए। गाउँपालिकाले मात्र ८६ लाख रकम कोरोना विपद् कोषमा जम्मा गरेको उनको भनाई छ।

बनगाड कुपिण्डे नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले भने आवश्यक परे अरु बजेट पनि व्यवस्था गर्ने गरी हाललाई १० लाखको राहत कोष मात्र जम्म गरिएको बताए। उनले भने, ‘कार्यविधिमा नै स्पष्ट रुपमा चालु बजेटबाट खर्च गर्नु भनेकाले कुनै समस्या नहोला।’ जिल्ला प्रशासन कार्यालयमा भने ५० लाखको राहत कोष स्थापना गरिएको छ।

तपाईको प्रतिक्रिया