
जाजरकोट — जाजरकोट जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा ऐतिहासिक उपलब्धि हासिल गर्दै दर्ता भएका मुद्दामध्ये ८० प्रतिशत फछर्यौट गरेको छ । वार्षिक ७५ प्रतिशतको लक्ष्य पार गर्दै अदालतले ४ सय ११ मध्ये ३ सय ३१ मुद्दा टुंग्याएको हो ।
सर्वाधिक सम्बन्ध विच्छेदका १ सय ९८ मुद्दामध्ये १ सय ७२ फछर्यौट भएका छन् भने अंशबण्डा, सम्पत्ति, करणी, चोरी, विवाहसम्बन्धी र गालीबेइज्जतीजस्ता मुद्दामा पनि उल्लेखनीय प्रगति भएको छ ।
कैद सजाय र जरिवानामा पनि अदालतले उत्कृष्ट कार्यसम्पादन देखाएको छ । ६ सय ४७ वर्ष २ महिना १५ दिन कैद सजाय कायम हुँदा ३ सय ६६ वर्ष ३ महिना १ दिनको सजाय कार्यान्वयन भइसकेको छ । त्यस्तै, १ करोड ५० लाख २० हजार ७७५ रुपैयाँ जरिवाना कायम गर्दै ३६ लाख १५ हजार ८६२ रुपैयाँ फछर्यौट भएको छ ।
स्रेस्तेदार इन्द्र बहादुर कार्कीका अनुसार, यो उपलब्धिमा जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको नेतृत्व र सक्रियताले निर्णायक भूमिका खेलेको छ । वैतनिक वकिल भिम बहादुर सिंहले पनि न्यायिक कार्यक्षमतामा देखिएको प्रगतिको प्रशंसा गरेका छन् ।
जाजरकोट जिल्ला अदालतले देखाएको यो प्रदर्शनले स्थानीय न्यायिक सेवाप्रति जनविश्वास अझ बढाएको देखिन्छ ।
दुनियाँवादी देवानी, सरकारवादी देवानी, सरकारवादी फौजदारी, विशेष ऐन अन्तरगत सरकारवादी फौजदारी, दुनियाँवादी फौजदारी गरी जाजरकोट जिल्ला अदालतमा आर्थिक बर्ष २०८१÷०८२ मा ४ सय ११ वटा मुद्धा दर्ता भएका थिए ।
दर्ता भएका ४ सय ११ वटा मुद्धाहरुमा ३ सय ३१ वटा मुद्धा फछ्र्यौट भएको जाजरकोट जिल्ला अदालतका स्रेस्तेदार इन्द्र बहादुर कार्कीले जानकारी दिए । स्रेस्तेदार कार्कीले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०८१÷०८२ मा दर्ता भएकाबाट ८० वटा मुद्धा फैसला हुन बाँकी रहेका छन् ।
४ सय २० वटा मुद्धा दर्ताको लक्ष्य लिएको जिल्ला अदालतमा ४ सय ११ वटा मुद्धा दर्ता भएको स्रेस्तेदार कार्कीले बताए । ३०७ वटा मुद्धा फछर्यौट गर्ने लक्ष्य लिएको जिल्ला अदालतले ३ सय ११ वटा मुद्धा फछ्र्यौट गर्न सफल भएको स्रेस्तेदार कार्कीको भनाइ रहेको छ । ७५ प्रतिशत मुद्धा फछर्यौट गर्ने बार्षिक लक्ष्य लिएका थियौं स्रेस्तेदार कार्कीले भने, ‘दर्ता भएका मुद्धाको संख्याका आधारमा ८० प्रतिशत मुद्धा फछर्यौट गर्न सफल भएका छौं ।’
जिल्ला अदालतमा सबै भन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको जानकारी दिदै स्रेस्तेदार कार्कीले दर्ता भएका १ सय ९८ वटा सम्बन्ध विच्छेदका मुद्धामध्ये १ सय ७२ वटा फछर्यौट गरि २६ वटा फछर्योट गर्न बाँकी रहेको जानकारी दिए ।
स्रेस्तेदार कार्कीले दिएको जानकारी अनुसार अंशबण्डा सम्बन्धि दर्ता भएका २२ वटामध्ये १७ वटा मुद्धा फछर्यौट भएका छन् भने, ५ वटा बाँकी रहेका छन् । सम्बन्ध विच्छेद, अंशबण्डा लगाएतका पारिवारिक विवाद तर्फका दर्ता भएका २२६ वटा मुद्धामध्ये १ सय ९४ वटा फछर्यौट भएका छन् भने, ३२ वटा मुद्धा बाँकी रहेका छन् ।
त्यसैगरी सम्पति सम्बन्धीका दर्ता भएका ४२ वटा मुद्धा मध्ये १७ वटा फछर्यौट भएका छन् भने, २५ वटा बाँकी रहेका छन् । विविध देवानी तर्फ दर्ता भएका ५ वटा मुद्धा मध्ये ३ वटा फछर्यौट भएका छन् भने, २ वटा बाँकी रहेका छन् ।
सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर सम्बन्धी दर्ता भएका २ वटै मुद्धा फछर्यौट भएका छन् । हात हतियार तथा खरखजना सम्बन्धी दर्ता भएको एक वटा मुद्धा फछर्यौट भएको छ । बहुँविबाह, बालबिवाह जस्ता विवाह सम्बन्धीको कसुरमा दर्ता भएका ४ वटै मुद्धा फछर्यौट भएका छन् ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या गर्न दुरुत्साहन लगायतका ज्यान सम्बन्धीको कसुरमा दर्ता भएका २० वटा मुद्धामध्ये १७ वटा फछर्यौट भएका छन् भने, ३ वटा बाँकी रहेका छन् । अपहरण कसुरमा दर्ता भएका १ वटा मुद्धा फछर्यौट भएको छ । जवरजस्ती करणी, हाडनाता करणी, जवरजस्ती करणी उद्योग, बाल यौन दुरुपयोग लगाएतका करणी सम्बन्धीको कसुरमा दर्ता भएका ३७ वटा मुद्धामध्ये ३५ वटा फछर्यौट भएका छन् भने, २ वटा बाँकी रहेका छन् ।
साधारण चोरी, नकवजनी चोरी, डाँका चोरी लगाएतका चोरी तथा डाँका कसुर सम्बन्धीका दर्ता भएका ४ वटै मुद्धा फछर्यौट भएका छन् । मुद्रा सम्बन्धीको कसुरमा दर्ता भएका ११ वटा मुद्धामध्ये ७ वटा फछर्यौट भएका छन् भने, ४ वटा बाँकी रहेका छन् । लिखत सम्बन्धीको कसुरमा दर्ता भएका २ वटा मुद्धामा १ वटा फछर्यौट भएको छ भने, १ बाँकी रहेको छ ।
सवारी ज्यान वा अङ्गभङ्ग वा घाइते भएको कसुर सम्बन्धी दर्ता भएका १० वटा मुद्धामध्ये ९ वटा फछर्यौट भएका छन् भने, १ वटा बाँकी रहेको छ । वन÷वन्यजन्तु सम्बन्धीको कसुरमा दर्ता भएका २ वटै मुद्धा फछर्यौट भएका छन् ।
ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धीको कसुरमा दर्ता भएका १ वटा मुद्धा फछर्यौट भएको छ ।
जालसाजी सम्बन्धी दर्ता भएका १० वटा मुद्धामध्ये १ वटा फछर्यौट भएको छ भने, ९ वटा बाँकी रहेका छन् । लुटपीट जस्ता अपराधिक प्रवेश तथा अपराधिक उपद्र सम्बन्धी दर्ता भएका ११ वटै मुद्धा फछर्यौट भएका छन् ।
गाली वेइज्जती सम्बन्धीको कसुरमा दर्ता भएका ७ वटै मुद्धा फछर्यौट भएका छन् । चेक अनादर सम्बन्धी दर्ता भएका १४ वटा मुद्धमध्ये १३ वटा फछर्यौट भएका छन् भने, १ वटा बाँकी रहेको छ ।
दण्ड जरिवाना तर्फ पनि उल्लेखिय उपलब्धी हासिल गर्न सफल भएको जाजरकोट जिल्ला अदालतले जानकारी दिएको छ । ४ सय ५१ बर्ष ४ महिना ४ दिनको कैद सजायको बार्षिक लक्ष्य लिएको जिल्ला अदालतमा ६ सय ४७ बर्ष २ महिना १५ दिनको कैद सजाय कायम भएको अदालतले जानकारी दिएको छ ।
अदालतले दिएको जानकारी अनुसार ३ सय ६६ बर्ष ३ महिना १ दिनको कैद सजाय फछर्यौट भएको छ भने, २ सय ८१ बर्ष १४ दिनको कैद सजाय फछर्यौट हुन बाँकी रहेको छ । १ करोड ८ लाख ९९ हजार ७ सय ६० जरिवाना कायम गर्नुको साथै ५५ लाख २ हजार ४३ रुपैयाको जरिवाना फछर्यौट गर्ने बार्षिक लक्ष्य लिएको जिल्ला अदालतले १ करोड ५० लाख २० हजार ७७५ जरिवाना कायम गरि ३६ लाख १५ हजार ८६२ जरिवाना फछर्यौट गरेको जिल्ला अदालतमा कार्यरत तहशिलदार धर्म बहादुर बुढाले जानकारी दिए ।
बार्षिक लक्ष्य भन्दा बढी मुद्धा फछर्यौट गर्न सफल हुनुमा जिल्ला न्याधीश श्यामलाल घिमिरेको महत्वपूर्ण भुमिका रहेको वैतनिक वकिल भिम बहादुर सिंहको भनाइ रहेको छ ।
गत मंसिर २ गते भन्दा पछाडी जाजरकोट जिल्ला अदालतमा हाजिर भएका जिल्ला न्याधीश घिमिरेले जिल्ला अदालतमा हाजिर भए लगतै गत मंसिर १६ गते जिल्लाको नलगाड नगरपालिकाको उप–प्रमुख पदका लागि र कुशे गाउँपालिका–७ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन गराउनु परेको थियो । उपनिर्वाचनको कार्य तालिकाले अदालतमा दर्ता भएका मुद्धा हेर्न जिल्ला न्याधीश घिमिरेलाई केही दिन ढिलाइ भएको थियो ।
हाम्रो पहुँच संवाददाता । ३१ श्रावण २०८२, शुक्रबार