
डिल्ली थापा “चिन्तन” बारेकोट-२ जाजरकोट(हाल दाङ)
रङ्गी चङ्गी छ बन हरिया, रङ्ग फेर्दै रहेका ।
सेता सेता हिमशिर त्यहाँ, मुस्कुराई रहेका ।।
कस्तूरीले मग मग गरी, गन्ध फेर्दै रहेकी ।
मैना बोल्छे मन र मुटुमा, चुल्बुलाई रहेकी ।।
अध्यारोमा टह टह सधै, पूर्णिमाको जुनेली ।
छेरा खोला कल कल गरी, हाल्न थाल्यो शुसेली ।।
लोभै लाग्दो जगत बनमा, बन्छ यो कर्म भूमि ।
स्वर्गै जस्तो झलमल सधै, हुन्छ यो जन्मभूमि ।।
डाँफे बोल्छे मधुर लयमा, चाखुरेमा डुलेर ।
भैंसी डुल्यो बनचहुरमा, दर्द पीडा भुलेर ।।
द्याैता नाच्ने नुमुलि बिचमा, उड्न थाल्यो परेवा ।
नसिङ्खोला तिर तिर सधै, घुम्न थाल्यो चखेवा ।।
साई क्वारी युग युग त्यहाँ, डग्मगाई रहेको ।
रेड्पाण्डा यो मुलुकभरिनै, मग्मगाई रहेको ।।
साँचेकै छन् प्रकृति पथमा, स्वर्ग झै जन्मभूमि ।
नाँचेकै छन् छम छम मुना, झुण्ड भै कर्मभूमि ।।
काफल् बोट्मा बन बन डुली, न्याउलीले कराई ।
देख्दा देख्दै दिन र दिनमा, कोइलीनै हराई ।।
जन्तेको त्यो हिमशिखरमा, छैन मैले पुगेको ।
कैलाशेको शिरउपरमा, छैन डुल्नै सकेको ।।
मुस्कान् छाड्ने शिशिर पछिमा, पालुवा ती पलाई ।
बारै कोट्मा हरदिन पुगे, भन्दछाै को मलाई ।।
देबी द्याैता रमझम गरी, रम्छ यो जन्मभूमि ।
को भन्दैनन् कुसुम कलिलो, स्वर्ग झै कर्मभूमि ।।
धर्ती हाम्रो प्रकृतिपथमा, भन्छु हामी रमाऊ ।
बास्ना छर्दै मन र मुटुमा, फूल संगै सजाऊ ।।
जन्मेको त्यो हरदिन अहो, गाउँमा भुल्न पाऊ ।
हाँस्दै खेल्दै रन र बनको, भूमिमा डुल्न पाऊ ।।
















































। १ बैशाख २०७७, सोमबार