जाजरकोट प्रहरीको वार्षिक प्रगति सार्वजनिक : एक वर्षमा १४०२ रोपनी अफिम नष्ट, १३५ आपराधिक मुद्दा दर्ता

अपराध अनुसन्धान शाखाअन्तर्गत १३५ मुद्दा दर्ता भएका छन्, जसमा ७० वटा मुद्दा फछ्र्यौट भएका छन् भने ६५ मुद्दा बाँकी छन् । ती मुद्दाहरूमा कर्तव्य ज्यान (३), ज्यान मार्ने उद्योग (६), भवितव्य ज्यान (३१), अभद्र व्यवहार (७), बाल यौन दुरुपयोग (४), बैंकिङ्ग कसूर (१५) लगायतका रहेका छन् ।


जाजरकोट । जिल्ला प्रहरी कार्यालय, जाजरकोटले आ.व. २०८१÷८२ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, महिला तथा बालबालिका सुरक्षाजस्ता क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।

प्रहरीले वर्षभरि १४०२ रोपनी जमिनमा अवैध रूपमा खेती गरिएको अफिम नष्ट गरेको जनाएको छ । तीमध्ये नलगाड नगरपालिकामा १३९२ रोपनी, भेरी नगरपालिकामा ७ रोपनी र बारेकोट गाउँपालिकामा ४ रोपनी क्षेत्रफलमा अफिम नष्ट गरिएको  िजल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

१३५ आपराधिक मुद्दा, १०० जना प्रतिवादी पक्राउ

अपराध अनुसन्धान शाखाअन्तर्गत १३५ मुद्दा दर्ता भएका छन्, जसमा ७० वटा मुद्दा फछ्र्यौट भएका छन् भने ६५ मुद्दा बाँकी छन् । ती मुद्दाहरूमा कर्तव्य ज्यान (३), ज्यान मार्ने उद्योग (६), भवितव्य ज्यान (३१), अभद्र व्यवहार (७), बाल यौन दुरुपयोग (४), बैंकिङ्ग कसूर (१५) लगायतका रहेका छन् ।

जम्मा १२६ जना प्रतिवादीमध्ये १०० जना पक्राउ परेका छन्, जसमा ४८ जना पुर्पक्षमा, ३७ धरौटीमा, ७ जना साधारण तारेखमा र ८ जना हाल हिरासतमा रहेका छन् । २६ जना प्रतिवादी फरार रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

लागुऔषध नियन्त्रणमा कडा अभियान
लागुऔषध (अफिम) सम्बन्धी ३ मुद्दा दर्ता भएका छन् । ६ जना प्रतिवादी पक्राउ परेका छन् भने ८ जना फरार छन् । प्रहरीले ९ केजी १५० ग्राम अफिम बरामद गरेको छ ।

महिला तथा बालबालिका सेवा केन्द्रको प्रभावकारी काम
घरेलु हिंसासम्बन्धी ८० उजुरी दर्ता भई सबै फछ्र्यौट भएका छन् । हराइरहेका ७९ जनामध्ये सबैजना फेला पारिएकोमा महिलाः ३३, बालिकाः २२, बालकः ७, पुरुषः १७ जना छन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध २७ मुद्दा दर्ता भएका छन्, जसमा जबरजस्ती करणी, बाल यौनदुरुपयोग, बहुविवाह लगायत मुद्दा रहेका छन् ।

पहिरो र चट्याङले बढी असर
यस वर्ष ५९ वटा दैवी प्रकोपका घटना घटेका छन्, जसमा ९ जनाको मृत्यु र ३४ जना घाइते भएका छन् । सबैभन्दा धेरै घटनाहरू पहिरो (२२), चट्याङ (१२) र आगलागी (९) बाट भएका हुन् । भूकम्पका कारण ११८ घरमा क्षति पुगेको छ ।

सवारी कारबाहीः २७२१ साधनलाई कारवाही
प्रहरीले सवारी क्षेत्रलाई व्यवस्थित गर्न २७ सय २१ सवारी साधनलाई कारबाही गर्दै २८ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । बैशाख, जेठ र असार महिनामा मात्र ४८२ सवारी साधन कारबाहीमा परेका छन् । सवारी दुर्घटनामा ६५ दुर्घटनाहरूमा २१ जनाको मृत्यु र १६७ जना घाइते भएका छन् ।

सामुदायिक प्रहरी कार्यक्रमः १९ हजार बढी लाभाम्बित
सामुदायिक शाखाबाट ५ सय २१ कार्यक्रम संचालन गरिए, जसबाट १९ हजार २६५ जना प्रत्यक्ष लाभाम्बित भएका छन् । लागुऔषध विरुद्ध मात्र ११७ कार्यक्रम गरी ७ हजार ५४८ जनालाई सन्देश दिइएको हो । आत्महत्या न्यूनीकरण, ट्राफिक नियम, महिला हिंसा, बालविवाह, छाउपडी, जातीय भेदभाव, जुवातास नियन्त्रण लगायतका कार्यक्रम पनि सञ्चालन गरिएका छन् ।

तपाईको प्रतिक्रिया