
जाजरकोट – राष्ट्रिय स्वतन्त्र पार्टी, जिल्ला कार्यसमिति जाजरकोटले भिजिट भिसाको नाममा बढ्दो मानव तस्करी र संगठित अपराधप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ।
श्री प्रमुख जिल्ला अधिकारीमार्फत् संघीय सरकारलाई बुझाइएको ज्ञापनपत्रमा हालैका दिनहरूमा हजारौं नेपाली नागरिकहरू भिजिट भिसाको नाममा दुबई लगायतका मुलुक हुँदै गैरकानुनी रूपमा तेस्रो देश पुर्याउने कार्यमा संगठित गिरोहहरू सक्रिय रहेको उल्लेख गरिएको छ।
पार्टीका जिल्ला सभापति महेश सिंहले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ, “ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, अध्यागमन कार्यालय तथा केही कूटनीतिक नियोगहरू समेतको संलग्नतामा भइरहेको यस्ता अवैध गतिविधिहरू नेपाली कानुनी शासन र मानवअधिकारमाथिको गम्भीर प्रहार हो।”
ज्ञापनपत्रमा पार्टीले पाँच मुख्य बुँदामा सरकारको ध्यानाकर्षण गराएको छ।
१. विगतका वर्षहरूमा भएका भिजिट भिसाका नाममा गरिएका मानव तस्करी तथा संगठित अपराधको गम्भीर अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन।
२. छानबिन समितिको कार्यक्षेत्र, संरचना, व्यवस्थापन र अधिकार तोक्ने कार्यसम्पादन समिति एक दिनभित्र गठन।
३. गृह, परराष्ट्र, अध्यागमन, नागरिक उड्डयन लगायत सम्बन्धित निकायहरूको समन्वयमा पारदर्शी र तथ्यमा आधारित छानबिन सुनिश्चित।
४. दोषीमाथि कडा कानुनी कारबाही र पीडितको संरक्षण, राहत तथा क्षतिपूर्ति सुनिश्चित।
५. गम्भीर मानव तस्करी प्रकरणमा राजनीतिक तथा प्रशासनिक जवाफदेहिता सुनिश्चित गर्दै गृहमन्त्रीको राजीनामा माग।
रास्वपाले यसअघि पनि संसद र विभिन्न मञ्चहरूमा निरन्तर यो विषय उठाउँदै आएको स्मरण गराउँदै पार्टीले अब सरकारबाट ठोस र कडा कदम अपेक्षा गरिएको उल्लेख गरेको छ।
पार्टीले छानबिन समितिको गठन र काम कारबाही पूर्ण पारदर्शिता, समयबद्धता र निष्पक्षताका साथ अघि बढाउन जोड दिएको छ। साथै दोषीलाई कारबाही नगरे सरकार स्वयं मानव तस्करीको संरक्षणकर्ता हुने आरोप पनि जनमानसमा उठ्न सक्ने चेतावनी दिइएको छ।

















































हाम्रो पहुँच संवाददाता । ८ असार २०८२, आईतवार