
जाजरकोट । राष्ट्रिय खेलकुद परिषद् (रा.खे.प.) को आयोजनामा काठमाडौंमा यही जेठ २८ देखि ३० गतेसम्म सञ्चालन हुने १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्न प्रदेशस्तरीय छनोट प्रतियोगिता संचालन हुने भएको छ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष घनश्याम भण्डारीको अध्यक्षतामा मिति २०८२ जेठ २१ गते बसेको निर्णयअनुसार, कर्णाली प्रदेशस्तरीय छनोट प्रतियोगिता जेठ २४ र २५ गते सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ।

यस अन्तर्गत, जाजरकोट जिल्लाबाट तोकिएको कोटामा खेलाडीहरूको सहभागिता अनिवार्य गरिएको छ। छनोटमा सहभागी हुन चाहने खेलाडी तथा सम्बन्धित निकायलाई जेठ २२ गतेभित्र आवश्यक प्रतिवेदन तथा नामावली पठाई, जेठ २३ गते साँझ ५ बजेसम्म वीरेन्द्रनगरमा उपस्थित गराउने व्यवस्था मिलाउन सामाजिक विकास कार्यालयले अनुरोध गरेको छ।
सुविधाहरू:
यात्रा सुविधा: सदरमुकामदेखि वीरेन्द्रनगरसम्मको बस भाडा प्रचलित दरअनुसार उपलब्ध गराइनेछ।
आवास र खाद्यान्न: सहभागिता गर्ने खेलाडी तथा प्रशिक्षकलाई ३ दिनको खाजा, खाना, बास तथा स्थानीय यातायात वापत प्रतिदिन रु. १२०० उपलब्ध गराइनेछ।
जाजरकोटका खेलाडीका लागि अवसर
यस प्रतियोगिता कर्णाली प्रदेशका उत्कृष्ट खेलाडीहरू छनोट गर्ने आधार भएकाले जाजरकोटका युवा खेलाडीहरूका लागि यो महत्वपूर्ण अवसर हो। शारीरिक क्षमता, अनुशासन र खेलकुदमा अब्बलता प्रदर्शन गर्ने खेलाडीहरूले काठमाडौंमा हुने राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्डमा प्रदेश प्रतिनिधित्व गर्ने मौका पाउनेछन्।

















































हाम्रो पहुँच संवाददाता । २२ जेष्ठ २०८२, बुधबार