जाजरकोट । जिल्लामा पहिलोपटक औपचारिक रूपमा पेट्रोल पम्प सञ्चालनमा आएको छ । भेरी नगरपालिका–४ बोहरामा ‘मुक्ति बस्नेत सप्लायर्स’ ले पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो ।
नेपाल आयल निगम लिमिटेडले इन्धन आपूर्तिमा थप सहजता र पहुँच विस्तार गर्ने उद्देश्यले जाजरकोटमा ‘मुक्ति बस्नेत सप्लायर्स’ लाई आफ्नो आधिकारिक विक्रेताका रूपमा सञ्चालनमा ल्याएको छ । अबदेखि जाजरकोटका उपभोक्ताहरूले पेट्रोल, डिजेल, मट्टीतेल लगायतका इन्धन सामग्रीहरु सरल, सहज र सुनिश्चित रूपमा प्राप्त गर्न सक्नेछन् ।

एक औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले पेट्रोल पम्पको उद्घाटन गरे । उनले पेट्रोल पम्प नहुँदा स्थानीयवासी तथा कार्यालयहरूलाई ठुलो समस्या हुने गरेको उल्लेख गर्दै अब सहज आपूर्ति हुने विश्वास व्यक्त गरे ।
‘शुद्धता कायम हुनुका साथै अब उपभोक्ताले महँगो तिर्नुपर्ने बाध्यताबाट मुक्ति पाउनेछन्,’ खत्रीले भने । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जिल्लामै पहिलोपटक नेपाल आयल निगमअन्तर्गतको पेट्रोल पम्प सञ्चालनमा आउनु सुखद पक्ष भएको बताए ।
‘सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बैंकजस्ता संस्थाहरूको सवारीसाधन चलाउन सहजता आउनेछ,’ प्रजिअ मग्रातीले भने । यातायात व्यवसायी भीमबहादुर बुढाले पेट्रोल पम्प सञ्चालनसँगै अब सवारीसाधनमा तेल भर्न सहज हुने प्रतिक्रिया दिएका छन् ।

पम्प सञ्चालक वीरबहादुर बस्नेतले दश वर्षअघिदेखि सुरु गरेको प्रयास अहिले आएर सफल भएकोमा खुसी व्यक्त गरे । ‘सबैको सहयोग र साथले आज यो सम्भव भएको हो ।’ स्थानीय स्तरमै विश्वसनीय इन्धन सेवा दिन पाउँदा आफू गर्वित भएको बताए । उनले भने, “हामी सेवा, पारदर्शिता र उपभोक्ता सन्तुष्टिलाई प्राथमिकता दिनेछौं ।”

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी, सर्वसाधारण तथा गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यस सेवा केन्द्रको सञ्चालनसँगै जाजरकोटका बासिन्दालाई टाढासम्म जानुपर्ने झन्झट अन्त्य हुने विश्वास गरिएको छ । साथै, यसले स्थानीय रोजगारीमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
















































हाम्रो पहुँच संवाददाता । ९ बैशाख २०८२, मंगलवार