जाजरकोट : भ्रष्टाचारको अखडा बन्दै मालपोत कार्यालय, खुलेआम सेवाग्राहीसँग असुल्दै पैसा

‘हामी लेखापढी व्यवसायीलाई पैसा दिन्छौं, एक सेवाग्राहीले भने, ‘उहाँहरु पछि कार्यालयमा बुझायौं, हामीलाई दिनुहोस् भन्दै बाटोमा पैसा माग्न आउनुहुन्छ, मैले त धेरै पटक दिईसकेको छु ।’


जाजरकोट । छेडागाड नगरपालिकाका गणेश अधिकारी जिल्ला मालपोत कार्यालय जाजरकोटमा जग्गा साटफेर गर्ने कामका लागि पुगे । सबै कागजी प्रक्रिया पु¥याएर आएका उनको काम अघि बढेन् ।

‘मैले सबै कागजात मिलाएर आएको थिए, उनले भने, ‘कर्मचारीले तपाईको कागजात मिलेन हुन्न भन्दै थर्काए, अव के गर्नुपर्ने भयो त ? भन्दै मैले सोधे ।’

‘त्यसपछि नजिकै रहेका अन्य सेवाग्राही सँग बुझ्दा कर्मचारीलाई थोरै पैसा दिनुपर्छ नत्र काम हुदैन्, उनले थपे, ‘मैले पनि त्यसपछि केही पैसा दिए, अनि मेरो काम भयो, म सँग होटल बस्ने पैसा थिएन् केही पैसा कर्मचारीलाई दिने वित्तिकै मेरो काम भयो म घर लागे ।’

उनी मात्रै होइनन् मालपोतका कर्मचारीले पैसा मागेका सेवाग्राही । पछिल्लो समय मालपोत कार्यालय खुलेआम भ्रष्टाचारको अखडामा परिणत भएको आरोप सेवाग्राहीहरूबाट उठ्न थालेको छ । सामान्य कामकाजका लागि आउने सेवाग्राहीहरू सेवाको साटो घुस नतिरी सेवा नपाउने अवस्था रहेको गुनासो गर्छन् ।

सेवाग्राहीहरूका अनुसार साना कागजी प्रक्रिया पूरा गर्न समेत कर्मचारी वा लेखापढी गर्ने व्यवसाय मार्फत रकम तिर्नुपर्ने बाध्यता छ । “फर्म भर्ने, नापी मिलाउने वा नामसारी जस्ता सामान्य काममा समेत खुलेआम पैसा मागिन्छ । नतिरेको खण्डमा काम अघि बढ्दैन”, एक सेवाग्राहीले भने । सामान्य नागरिकले आफ्नो जग्गा दाखिला, नामसारी, कित्ताकाट वा लालपुर्जा लिन जाँदा अनेकौं सास्ती भोग्नुपरेको गुनासो दिनहुँजसो सार्वजनिक भइरहेका छन् ।

मालपोत कार्यालय वरिपरि सक्रिय रहेका लेखापढी व्यवसायको चलखेल झनै बढ्दै गएको देखिन्छ । यी व्यवसायीहरु कर्मचारीसँग मिलेमतोमा सेवाग्राहीसँग मनपरी रकम असुल्ने गरेको आरोप छ ।

दोहोरो मारमा सेवाग्राही
कानुन बमोजिम लेखापढी व्यवसायलाई दिनुपर्ने पैसा दिएपनि कर्मचारी र व्यवसायीलाई पैसा बुझाउँदा सेवाग्राहीहरु दोहोरा मारमा पर्ने गरेको गुनासो गरेका छन् ।

‘हामी लेखापढी व्यवसायीलाई पैसा दिन्छौं, एक सेवाग्राहीले भने, ‘उहाँहरु पछि कार्यालयमा बुझायौं, हामीलाई दिनुहोस् भन्दै बाटोमा पैसा माग्न आउनुहुन्छ, मैले त धेरै पटक दिईसकेको छु ।’ उनले थपे, ‘मैले कानुनबमोजिम तिर्नुपर्ने सबै रकम तिरे, तरपछि पैसा भित्र कर्मचारीलाई बुझाउनुपर्छ भन्दै माग्नुभयो ।’

बेलुका कर्मचारीलाई पैसा बुझाउनुर्छ
‘कार्यालय प्रमुख देखि कर्मचारी सबैको सेटिङ हुन्छ, एक लेखापढी व्यवसायीले भने, केही प्रतिशत पैसा माग्छन्, नदिए लिएको फाईल फालिदिन्छन्, पैसा बुझाउने लेखापढी व्यवसायीको काम सरासर गरिदिन्छन् ।’

सेवाग्राहीको काम समयमै सक्न कर्मचारीलाई पैसा दिने गरेको उनको भनाई छ । ‘दिनभरी कति काम हुन्छ, उनले थपे, ‘त्यही अनुसार हामीले कर्मचारीलाई पैसा दिन्छौं ।’ ‘पैसा नदिए काम गर्नै मान्दैनन्, हामीलाई सेवाग्राही अत्याउँछन्, त्यसपछि सेवाग्राहीको मन जित्न हामी पैसा दिन्छौं’ उनले भने ।

एक महिना अघि त प्रत्येक काम वापत कर्मचारीलाई पैसा बुझाउने गरेको उनले बताए । त्यसपछि केही विवाद भयो, अनि अहिले खुलेआम माग्न सकेका छैनन्, काम रोकिदिएपछि दिनैपर्ने बाध्यता रहेको उनको भनाई छ । बेलुका लेखापढी व्यवसायी बाट पैसा माग्ने गरेको उनले बताए ।

अनुमति विना प्रवेश निषेध

लेखापढी व्यवसायीको सक्रियता उच्च
मालपोत कार्यालय परिसरभित्रै देखिने लेखापढी व्यवसायीको सक्रियताले अवस्था झनै भयावह बनाएको देखिन्छ । यी व्यवसायीहरुले सेवाग्राही र कर्मचारीबीच ’डिल’ मिलाइदिने काम गर्ने गरेको देखिन्छ । घुसको निश्चित भाग उनीहरू आफैँ पनि राख्छन् । यस्तो चलनले राज्यलाई राजस्वमा ठूलो घाटा पुगेको छ भने सेवाग्राहीको विश्वास समेत गुमेको देखिन्छ ।

फरकफरक शुल्क लिन्छन् लेखापढी व्यवसायी
लेखापढी ब्यबसायीहरुमा एकरुपता नहुँदा मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले समस्या भोग्ने गरेका छन् । लेखापढीहरुले प्रदान गर्ने सेवा शुल्क तोकिएपनि ब्यबसायीहरुमा एकरुपता नहुँदा कुन सेवा लिए बापत कति शुल्क तिर्ने भन्ने बिषयमा सेवाग्राहीहरु दुबिधामा पर्ने गरेका हुन् । मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई सेवा दिने उदेश्यले बसेका लेखापढी ब्यबसायीहरुले एकै प्रकारको सेवा दिने भएपनि फरकफरक शुल्क लिने गरेको मालपोत कार्यालयका कर्मचारीहरु बताउँछन् ।

लेखापढी ब्यबसायीहरु प्रतिस्प्रर्धात्मक रुपमा काम गर्ने गर्छन् मालपोत कार्यालयका एक कर्मचारीेले भने, ‘लेखापढी कसैले पनि समितीले निर्धारण गरेको दररेट अनुसार काम गर्दैनन्, कसैले दररेट भन्दा बढी लिन्छन् कसैले त्यो भन्दा अलि कम ।’ लेखापढी ब्यबसायीहरुले आफुखुसी पैसा लिने गरेको हुँदा सेवाग्राहीहरुले कुन सेवा लिए वापत कति रकम तिर्ने भन्ने कुरामा अन्योलता आउने गरेको उनले बताए । व्यबसायीहरुले समितीले तोकेको दररेट अनुसारको शुल्क लिने गरेमा उनीहरुले प्रदान गर्ने सेवा सुबिधा प्रभावकारी हुुनसक्ने सेवाग्राहीहरु बताउँछन् ।

‘हामी सेवाग्राही त जस्ले सस्तोमा गर्दिन्छ उसैको बाट सेबा लिने हो मालपोत कार्यालयमा आएका एक सेवाग्राहीले भने, ‘एउटै कामका पैसा एउटाले कम अनि अर्काेले धेरै पैसा लिएर गर्दा लेखापढी गर्ने एउटा न एउटा त कर्ममा पर्छ । त्यसैले कसैले कम कसैले धेरै गर्नुभन्दा सबैले बराबर काम गर्ने बराबर पैसा लिने गर्नुपर्छ ।’

मालपोत कार्यालयमा आउने सेवाग्राहीहरु सुबिधा लिएको शुल्क तिर्न पनि दुबिधामा पर्ने गरेको भन्दै उनले गुनासो गरे । कुन काम गरेको पैसा कति तिर्ने हो भन्ने कुरा नै हामीलाई थाहै हुँदैनु उनले भने, ‘लेखापढीहरुले काम गरीदिए पछि पैसा माग्दा आफ्नो काम गरे बापत त्यती पैसा लाग्ने होकी हैन । आफुले लिएको सेबा सुबिधाको बापत उनीहरुले मागे अनुसार पैसा दिनु पर्ने होकी हैन भन्दै दुविधामा पर्नुपर्छ ।’

ताेकिएकाे शुल्क

दिँदैनन् व्यवसायीले सेवाग्राहीलाई रसिद
लेखापढी ब्यबसायीहरुले सेवाग्राहीसँग आफु खुसी पैसा लिने र रसिद पनि नदिने गरेको स्वयमं ब्यबसायीहरु आफैँले स्वीकार गर्ने गरेका छन् । लेखापढी ब्यबसायीहरुले रसिद नकाटि सेबा सुबिधा दिने गर्दा राज्यलाई केही प्रतिशत कर घाटा लाग्छ भने मनपरी शुल्क लिने गर्दा सेवाग्राहीहरुमा अन्योलता देखिने गरेको पाईन्छ ।

पहिले पहिले रसिद पनि काट्ने गरिन्थ्यो र दररेट अनुसार नै शुल्क लिने गरिन्थ्योु मालपोत कार्यालय जाजरकोटमा लेखापढी गर्ने एक ब्यबसायीले भने, ‘रसिद काटेर जम्मा भएको रकम समितिकै मान्छेले हिनामिना गरे । त्यसपछि समितिमा बिरोध सिर्जना भयो अनि लेखापढी ब्यबसायीहरु आफ्नो आफ्नो तरिकाले के गर्दा आफुलाई फाईदा हुन्छ भनेर काम गर्न थालेका हुन् । समितीका बस्ने पदाधीकारीहरुको गैरजिम्मेवारीपन र लाप्रवाहीका कारण सेवा शुल्कमा एकरुपता हुन नसकेको ब्यबसायीहरु बताउँछन् ।

यता, कार्यालय प्रमुख डिल्ली बहादुर केसी भने यस्ता आरोपलाई अस्वीकार गर्छन् । “हामी सेवाग्राहीलाई सहज र पारदर्शी सेवा दिने प्रयासमा छौं, कसैले गलत कार्य गरेको प्रमाण भए कारवाही हुनेछ ।’ सेवाग्राही तथा लेखापढी व्यवसायी सँग कुनै पैसा नलिएको उनले दावी गरे । मालपोत कार्यालयमा आएका सेवाग्राही सँग कुनै पैसाको कुरा भएको छैन्, गलत मनसायले प्रचार भईरहेको समेत उनले बताए ।

नियमन गर्ने निकायको उदासीनता
भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएतापनि मालपोत कार्यालयमा नियमित निगरानीको अभाव देखिन्छ । अख्तियारको प्रतिनिधी प्रमुख जिल्ला अधिकारी भएपनि प्रशासनको नजर समेत पुगेको छैन् । प्रशासनले वेलावेला छड्के अनुमगन गर्दा पनि यस्ता केही समस्या हल हुने देखिन्छ ।

तर प्रशासन मौन देखिन्छ । जिल्लाभित्र रहेका भष्ट्राचारका हरेक विषयम प्रशासन नबोल्नु निकै दुःखद कुरा भएको स्थानीय बताउँछन् । जिम्मेवार निकायको उदासिनताले सुशासन कायममा समेत बाधा पु¥याईरहेको छ ।

मालपोत कार्यालयको सेवा प्रवाहमा देखिएको भ्रष्टाचार तत्काल नियन्त्रण गर्न नसकिए, सर्वसाधारणको प्रशासनप्रतिको विश्वास झनै घट्दै जानेछ । यसका लागि जिम्मेवार निकायको ध्यान जान आवश्यक छ । दिनहुँजसो बढ्दै गएको गुनासो र असन्तुष्टि मध्यनजर गर्दा मालपोत कार्यालयमा सुधार आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया