भूकम्पपछि जाजरकोटका स्थानीयहरू खुला स्थानमा

No description available.
जाजरकाेट। शुक्रबार राति जाजरकोटको कुसे गाउँपालिका–९ पैक केन्द्रविन्दु भएर गएको दुई पटकको भूकम्पपछि स्थानीयहरू खुला स्थानमा रात बिताउन बाध्य भएका छन् ।

राति ८ बजेर ७ मिनेट र ८ बजेर १० मिनेटमा ५.२ र त्यसभन्दा कमजोर अर्को धक्का महसुस गरिएको हो । स्थानीय बासिन्दा त्रसित छन् ।

लगातार धक्का महसुस भएपछि उनीहरू घर छाडेर सडक र खुला स्थानमा ओछ्यान लगाएर बसेका छन् ।

No description available.

पैक गाउँका ६६८ घरधुरीमध्ये केही घर चर्किएको प्रारम्भिक जानकारी आएको छ। यद्यपि, अहिलेसम्म मानवीय क्षतिको पुष्टि भने भइसकेको छैन ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी समिर गौतमका अनुसार क्षतिको विस्तृत विवरण संकलन गर्न प्रहरी परिचालन गरिएको छ ।

कहाँ कति क्षति भयो भन्ने तथ्यांक संकलन भइरहेको छ, उनले भने, ‘स्थानीयलाई थप भूकम्पको जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।’

भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार धक्का जाजरकोटका साथै छिमेकी जिल्ला सल्यान, रुकुम पश्चिम, दैलेख र सुर्खेतसम्म महसुस गरिएको थियो।

स्थानीयहरू अझै पनि सुरक्षित स्थानमा नै बसिरहेका छन् । घर चर्किएको छ, फेरि ठूलो भूकम्प आयो भने ज्यानको जोखिम हुन्छ, स्थानीयवासीको भनाइ छ ।

तपाईको प्रतिक्रिया