
जाजरकोट । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यतालिका अनुसार ५ चैत्रमा निर्वाचन हुदैछ । त्रिविविका सबै आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचनको तयारी तीव्र छ । विद्यार्थी संगठनहरु नजिता आफ्नो पक्षमा पार्न कस्सिएरै लागेका छन् । पश्चिम जाजरकोटको दशेरामा रहेको जनज्ञानकुञ्ज क्याम्पस त्रिविविको आंगिक क्याम्पस हो ।
अहिले क्याम्पसको मुल गेटमा ठूलो ताला झुन्डिएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूले क्याम्पसमा तालाबन्दी गरेका छन् ।
संगठनहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली काँग्रेस निकट नेवि संघले निर्वाचन कार्यतालिकाको उल्लंघन गरेको भन्दै क्याम्पसमा तालाबन्दी गरेका हुन् ।
प्रेस विज्ञप्तीमा भनिएको छ, ‘जाजरकोट जिल्ला छेडागाड नगरपालिका —३ मा रहेको जन ज्ञानकुञ्ज क्याम्पस दशेरामा त्रिभुवन विश्वविद्यालयको निर्वाचन कार्यतालिका अनुसार हिजो २०८१ फागुन २७ गते दिउँसो ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्र उम्मेदवारी दर्ताको समय सीमा रहेको र उक्त समय सीमा भित्र अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादी निकट अनेरास्ववियू मात्र मनोनयन दर्ता गरेका थियौं, निर्धारित समय सीमा भित्र अरु कुनै पनि संगठनले मनोनयन दर्ता नगरेको क्याम्पस प्रशासन, पुलिस प्रशासन, लगायत हामी सबैलाई जगजाहेर छ ।’
‘सत्ताधारी पार्टीका विद्यार्थी संगठनले नीति नियमलाई मानी हामी समय सीमाभित्र पुग्न सकेनौं भनेर आफ्नो कमजोरीलाई महसुस गर्दै स्ववियू निर्वाचनलाई सफल बनाउन समय सीमाभित्र उम्मेदवारी मनोनयन गरेका संगठनहरुको उम्मेदवारहरुको नामावली प्रकाशन गर्नुको सट्टा शक्ति र सत्ताको आडमा नियम कानुनलाई मिच्दै पुलिस प्रशासनलाई हातमा लिई क्याम्पस प्रशासनलाई दादागिरी शैलीमा घेरा हालेर आफ्नो रवैया देखाउने काम अनेरास्ववियु र नेवि संघले गरेका छन्, यसको घोर भर्सना गर्दछौं । समय सीमा भित्र उम्मेदवारी मनोनयन भएका संगठनको उम्मेदवारी नामावली प्रकाशन गर्नका सट्टा समय सीमा क्रस भईसकेपछि बेलुका ५ बजेसम्म मनोनयन दर्ता भएका संगठनको उम्मेदवारहरुको नामावली प्रकाशन गर्नु खेदजनक छ ।’ अनेरास्ववियूको तर्फबाट इकाई कमिटी अध्यक्ष मोहन बुढा र अखिल (क्रान्तिकारी) क्याम्पस ईकाई कमिटी अध्यक्ष प्रकाश थापाद्दारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तो छ प्रेस विज्ञप्ती

स्वच्छ निर्वाचनको माग
छेडागाड नगरपालिका ३ दशेरा जनज्ञाकुञ्ज क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हस्तक्षेप भएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गम्भीर आपत्ति जनाएका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्दै निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र अवाध रूपमा सञ्चालन गर्न माग गरेका छन् ।
उम्मेदवारी दर्ताका क्रममा गरिएको हुलहुज्जत र अवरोधप्रति ध्यानाकर्षण गराउँदै, त्रिभुवन विश्वविद्यालयले तोकेको कार्यतालिकाअनुसार निर्वाचन तत्काल अघि बढाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा, नेविसंघ जाजरकोटका अध्यक्ष अनिश कार्की र अनेरास्ववियु जाजरकोटका अध्यक्ष प्रकाश मान सिंहले हस्ताक्षर गर्दै निर्वाचन प्रकृयालाई प्रभावित पार्ने गतिविधिहरूको विरोध गरेका छन्। साथै, यदि निर्वाचन प्रक्रिया अघि नबढाए सशक्त आन्दोलन गर्ने चेतावनी दिँदै, त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने स्पष्ट पारेका छन् ।
उक्त विज्ञप्ति जिल्ला प्रशासन कार्यालय, जाजरकोट र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौंमा समेत पठाइएको जानकारी दिइएको छ ।
ताला खोल्ने के छ तयारी ?
क्याम्पसमा लगाईएको ताला खोल्ने कुनै तयारी नभएको स्ववियू निर्वाचन समितिका सदस्य कर्ण थापाले बताए । ताला खोल्ने विषयमा विद्यार्थी संगठन र राजनीतिक पार्टी सँग छलफल गर्ने तयारी भएपनि ताला कतिवेला खोल्न भने सहमति हुन सकेको छैन् । ‘संगठनहरु समयमै आएका थिए, पहिला अखिल क्रान्तिकारी र अनेरास्ववियू आउनुभयो, त्यसपछि निर्धारित समयमै अनेरास्ववियु र नेविसंघको टोली पनि आयो, त्यही दिन बाट विवाद सुरु भएको थियो, थापाले भने, ‘अखिल (क्रान्तिकारी) र अनेरास्ववियूले ताला लगाएका छन् ।’
चार वटा संगठनहरु दर्ता भएका छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु र अनेरास्ववियूले क्याम्पसमा इकाइ कमिटी गठन गरेको थापाले बताए । अखिल क्रान्तिकारी र अनेरास्ववियूले आरोप मात्र लगाएको थापाले बताए । उनले भने, ‘सबै संगठनहरु समय सीमामै आउनुभएको थियो, दर्ता गर्दागर्दै ढिला भयो, त्यसपछि उहाँहरु माइनट लिएर भाग्नुभयो, त्यसपछि भोलीपल्ट अन्तिम नामावली प्रकाशन गर्दा क्याम्पसमा ताला लगाउनु भएको हो ।’
















































हाम्रो पहुँच संवाददाता । ३० फाल्गुन २०८१, शुक्रबार