विकासमा बेतिथि : ११ करोडको निर्माणाधीन पुल चर्किएपछि पूरै भत्काइयो


कालीकोट । कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्मगाड खोलाको पक्की पुल संचालनमा नआउँदै चर्किएपछि भत्काइएको छ ।

कर्णाली राजमार्गको कालीकोटको तिलागुफा नगरपालिका र जुम्लाको तिला गाउँपालिका जोड्ने नाग्मस्थित पक्की पुल निर्माण सुरु भएको ६ वर्षपछि गत असारमा सकिने बेला चर्किएपछि पुन: निर्माण गर्न भत्काइएको हो ।

‘प्रिटेस्ट गर्ने क्रममा बन्दाबन्दैको पुल चर्कियो । पक्की पुलबाट गाडी गुडाउने सपना अधुरै छ,’ स्थानीय नवराज कटुवालले भने । पुलमा कमसल खालको निर्माण सामग्री र कमजोर जनशक्ति खटाइएकोले पुल चर्किएको भन्दै भत्काइएको उनले बताए ।

०७५ चैत्रमा सम्पन्न गर्ने गरी ०७४ कात्तिक ३० गते सुर्खेतस्थित सूर्य कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भए पनि म्याद थप गर्दै ६ वर्ष लम्ब्याइएको थियो । पुल सम्पन्न गरेर बुझाउने बेलामा चर्किएपछि सडक विभागले तीन सदस्यीय समिति गठन गरेर स्थलगत अनुगमन गरेको थियो । ठेकेदारकै कमजोरी देखिएकाले पुन: निर्माण गर्न पुलको पूरै संरचना भत्काइएको छ । कर्णालीमा बन्ने भौतिक संरचनामा करौडों रकम खर्च भए पनि गुणस्तरीय नबन्ने समस्या रहेकाले आफ्नो पहलमा चर्किएको पुल पूरै भत्काएर पुन: नयाँ निर्माण गर्न सहजीकरण गरिएको जुम्लाका प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले बताए ।

दुई जिल्ला जोड्ने पुल कसैको लापरबाहीको शिकार बन्नु हुँदैन । उनले भने, ‘ठेकेदारले पुन: निर्माण गर्नुपर्छ ।’ उनले कर्णालीमा ठूला योजना नआउने र आएका पनि गतिलो काम नभएर अलपत्रपत्र अवस्थामा छाड्ने गरिएको उनले बताए ।

यसैबीच, जुम्लाको सिँजा उपत्यका हुँदै बग्ने हिमा खोलामा सडक निर्माणको क्रममा ०६२ मा नेपाली सेनाले बनाएको फलामे बेलिब्रिज पनि जीर्ण भइसकेको छ । बेलिब्रिज निर्माण भएको झण्डै २० वर्ष पुगिसकेकाले जतिखेर पनि भाचिनसक्ने अवस्था रहेको स्थानीय मायालाल महताराले बताए । खियाले डण्डी खाएको र नटबोल्ट पनि खुस्किएकाले सवारीहरूको जोखिमपूर्ण यात्रा भइरहेको स्थानीयहरू बताउँछन् ।

नाग्मगाड पुल र छिडेना खोला पुल सडक डिभिजन कार्यालय सुर्खेतले ६ वर्षअघि टेण्डर गरेर सूर्य कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको थियो ।

चार पटक म्याद थप गरेर उक्त निर्माण कार्य ०७९ असार ३० गते सम्पन्न गर्नुपर्ने थियो । तर पुलमा प्राविधिकि समस्या आएकाले भत्काउन लगाइएको बताइएको छ । साइडका पिलर पुरानै कायम हुने गरी पूरै ढलान नयाँ गरेपछि पूरै भुक्तानी दिने गरी ग्यारेन्टी वापतको ७९ लाख रकम सडक डिभिजन कार्यालयको खातामा छ ।सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोपनारायण पौडेलका अनुसार भ्याटसहित कूल ठेक्का रकम रु ११ करोड ३१ लाख १ हजार ५२ मध्ये ठेकेदारलाई सव स्टक्चरसम्को रु ६ करोड ९९ लाख ६३ हजार भुक्तानी भइसकेको छ । हाल ठेकेदारले आफ्नै खर्चमा पुन ढलान गर्ने गरी काम भइरहेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

१२ वर्षपछि टाकुल्ला पुल निर्माण सुरु

कर्णाली राजमार्गको तिलागुफा ७ टाकुल्ला खोला पुल निर्माण सुरु भएको १२ वर्षसम्म अलपत्र परेर पुन: टेण्डरबाट निर्माण थालिएको छ । निर्माणको जिम्ला लिएको ठेकेदार पेस्की रकम लिएर केही काम गरेर भागेपछि अलपत्र परेको पुल पुन: ठेक्काबाट निर्माण थालिएको हो ।

पुरानो ठेक्का तोडेर पुरानै पिलर कायम हुने गरी राकमबाट फलामे बेलिब्रिज हाल्ने र दायाँबायाँ सडक बनाउने गरी नयाँ ठेक्का भएर काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपक विष्टले बताए ।

टाकुल्लाको ठाडो खोलामा वर्षा याममा पानी परेको बेला गाडी तर्न नसकेर यात्रु अलपत्र पर्ने गरेका थिए । हाल सडक विभागले एक वर्षभित्र निर्माण सक्ने गरी पुल बनाउन सम्झौता गरिएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया