गाउँ गाउँमा पुगेर उपचार गर्दै विदेशी चिकित्सक मार्ता


हुम्ला । सिमकोट र खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बस्तीमा पुगेर स्पेनिस चिकित्सक मार्ताले बिरामीको निःशुल्क उपचार गर्नुभएको छ । नेपाल घुम्न आएको बेला हुम्ला पुग्नुभएको मार्ताले दुर्गमका बिरामीलाई गाउँमै पुगेर उपचारमा सहभागिता जनाउनुभएको हो ।चिकित्सक मार्ताले पेसाले चिकित्सक हुनुहुन्छ र नेपाल घुम्ने क्रममा हुम्ला जिल्लामा पुगेपछि दुुर्गमका बस्तीमा बस्दै आउनुभएका बिरामीलाई उपचारमा सरिक हुनु आवश्यक ठानेपछि बिरामीको चेकजाँचमा सहभागिता जनाएको बताउनुभयो । स्पेन अध्ययनका क्रममा सँगैको चिकित्सक साथि हर्कसिंह भण्डारीलाई भेट्न हुम्ला पुग्नुभएको हो । हुम्ला पुगेकै समयमा उहाँले बिरामीको उपचारका लागि एक दिन पैदल हिँडेर गाउँतिर लाग्नुभएको हो ।

स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएको हेल्थ अस हुम्लाका एचए नारायण फडेराले चिकित्सक मार्ताले चार दिन लगाएर गाउँका बिरामीको उपचारमा सहभागिता जनाएको बताउनुभयो । एउटा बस्तीबाट उहाँले चारदेखि पाँच घण्टा पैदल हिँडेर उपचारमा सहभागिता जनाउनुभएको हो । यो बीचमा उहाँले २५ जना जटिल खाले र अन्य सामान्य बिरामीको निःशुल्क उपचार गर्नुभएको थियो ।उहाँले चिकित्सक मार्ताले चेकजाँच गर्ने र हेल्थ असले बिरामीका लागि आवश्यक औषधिको व्यवस्था पनि निःशुल्क गरेको बताउनुभयो । सबै खाले बिरामीलाई निःशुल्क उपचार र औषधिको व्यवस्था गरिएपछि बिरामी समेत निक्कै हर्षित हुनुभएको थियो । चिकित्सक मार्ताले उपचार गरेका गाउँहरुमा सिमकोट गाउँपालिका– १ र २ को ठेहे र दोजाम तथा खार्पुनाथ गाउँपालिका–५ को ताक्ला बाम्टा गाउँका बिरामीहरु रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया