जंगलमै कुहिन्छ बहुगुणी बेल


जाजरकोट । मानव स्वास्थ्यका लागि बहुगुणी मानिएको बेलको महत्त्व नबुझ्दा वनमै झरेर खेर गइरहेको छ ।

जाजरकोट भेरी नगरपालिकाको वन क्षेत्रमा पाइने आयुर्वेदिक औषधिका रुपमा प्रयोग हुने बेल सङ्कलन नगरिँदा वनमै कुहेर जाने गरेको छ । यसको महत्त्वबारे जानकारी नहुँदा बेल दाउरा र सोत्तरका रुपमा प्रयोग हुन थालेको छ ।

भेरी नगरका वडाहरू १०, ११, १२ मा बेलका रुख प्रशस्त रहेका छन् । बेलको प्रयोग धार्मिक अनुष्ठान र यसको फलको रस मानव स्वास्थ्यका लागि अचुक औषधिका रुपमा रहेको भए पनि धेरैलाई यसबारे जानकारी नहुँदा नासिँदै गएको छ । जङ्गली जनावरको आहाराको रुपमा प्रयोग हुँदै आएको बेलको फल प्रशोधन गर्नुपर्नेमा स्थानीयवासी पदम बहादुर बुढा बताउनुहुन्छ ।

“सामुदायिक वनका उपभोक्ताको आयस्तरमा वृद्धि गर्न सकिने हुन्छ” उहाँले भन्नुभयो । जुनसुकै ठाउँमा पनि बेलका बिरुवा हुर्कन सक्ने भएकाले वनको बाँझो जग्गामा यसको बिरुवा रोप्नुपर्ने उहाँको भनाइ छ ।

बुढाका अनुसार केही वर्ष अघि स्थानीय महिला समूहले बेल प्रशोधन गरी बेलको जुस उत्पादन गरि विक्री वितरण गरिएपनि उचित तालिम र आर्थिक स्रोतको अभावमा उत्पादन र विक्री वितरण रोकिएको थियो । त्यसपछि सम्बन्धित निकायले चाँसो नदिँदा बेल जङ्गलमा खेर गइरहेको छ ।

आयुर्वेदिक औषधिका रुपमा समेत बेलको पात, जरा, बोक्रा र फललाई प्रयोग गरिँदै आएको छ ।

बेलपत्र शिवरात्रि, गणेशको पूजनका बेला अनिवार्य चढाउनु पर्ने चलन छ । बेलको महत्त्वबारे धार्मिक ग्रन्थ ऋग्वेद, शिवपुराण, अग्नि पुराण, स्वस्थानी व्रतकथा लगायतमा वर्णन गरिएको छ । बेलको आयुर्वेदमा उपयोग गरिँदै आएको छ । प्राचीनकालदेखि नै ऋषिमुनिले बेलको प्रयोगलाई विभिन्न रोग निवारणका लागि प्रयोग गरिँदै आएको पौराणिक धार्मिक ग्रन्थमा उल्लेख छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका कार्यालय प्रमुख देवेन्द्र ठाकुरले बेल पेट दुखेका बेला, आउँ परेका बेला, झाडापखाला लागेमा, अजीर्ण भएमा, बान्ता रोक्न कब्जियत निको पान यो फल एकदमै फलदायी हुने बताउनुहुन्छ ।

उता वन डिभिजन कार्यालय जाजरकोटका कार्यालय प्रमुख राधाकृष्ण दासले बेल संरक्षणका लागि आर्थिक बर्ष २०७७।७८ मा ६ हेक्टर जङ्गलमा तारवार गरेको र आउँदो वर्ष बेल जुस उत्पादनको लागि मन्त्रालयसँग समन्वय गरिरहेको र अब जाजरकोटको बेल खेर नजाने गरी काम भइरहेको बताउनुभयो ।

बेल औषधिका रुपमा र धार्मिकरुपमा समेत महत्वपूर्ण भएकाले वनमा खेर जाँदै गरेका फललाई प्रयोगमा ल्याउन र नासिँदै गएका क्षेत्रमा रुख जोगाउन अनिवार्य देखिएको छ ।

तपाईको प्रतिक्रिया