गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा


दैलेख । दैलेखको नारायण नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। बिहीवार बसेको कार्यपालिका बैठकले गर्भवती तथा सुत्केरीहरूका लागि निःशुल्क एम्बुलेन्सले सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

नगरपालिकाभित्रका गर्भवतीलाई छिटो सेवा दिने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बताए। उनले स्थानीय तहको निर्वाचनका वेला नागरिकसँग गरिएको ‘वाचा’अनुसार नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बताए।

‘हामीले स्थानीय तहको निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धताअनुसार क्रमशः काम गर्दै गएका छौँ, निर्वाचित भएको करिब एक वर्षभित्र चुनावी ‘वाचा’अनुसार खानेपानीमा न्यूनतम शुल्क मिनाहा भएको छ। नागरिकको घरटोलमा स्वास्थ्य सेवा पुर्‍याएका छौँ। गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ’, नगरप्रमुख शर्माले भने।

नगर उपप्रमुख तप्ताकुमारी थापाले नागरिकलाई स्थानीय सरकारको आभास गराउने उद्देश्यले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा विस्तार गरिएको बताइन्। उनले गर्भवतीको आवश्यकताका आधारमा एम्बुलेन्समार्फत निःशुल्क सेवा दिइने बताइन्।

नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य अधिकृत लालबहादुर खड्काले नगरपालिकाले सुचारु गरेको गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवाले नव मातृ मृत्युदर घटाउनमा सहयोग पुर्‍याउने बताए।

उनले वडामा रहेका बर्थिङ सेन्टरमा उपचार सम्भव नभएका गर्भवती÷सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा निकै प्रभावकारी हुने बताए।

खड्काले आमा बच्चामा हुने जटिलतामा समेत निःशुल्क एम्बुलेन्स सेवाले ठूलो मद्दत पुर्‍याउने बताएका छन्।

भौतिक विकासका कामलाई तीव्र रूपमा अघि बढाउँदै आएको नारायण नगरपालिकाले नागरिकको घरटोलमा स्वास्थ्य सेवादेखि गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउँदै गाउँका सरकार जनताका लागि हुन् भन्ने आशा जगाएको देखिन्छ।

तपाईको प्रतिक्रिया