पक्की पुल निर्माण अलपत्र


हुम्ला । हिल्सा–सिमकोट सडक खण्डको यांगार खोलामा पक्की पुल निर्माणका लागि ४ वर्ष पहिले धुलिखेल/निसान जेभीले जिम्मा पायो । कम्पनीले २ वर्षमा पुल निर्माणको काम सम्पन्न गर्ने भनेर ४ करोड ७० लाख रुपैयाँ लागतामा हिल्सा–सिमकोट सडक आयोजनासँग सम्झौता गरेको थियो । तर उसले ४ वर्ष बित्दासमेत खोलाको वारिपारि ४ मिटरको खाल्डो पनि खनेको छैन ।अहिलेसम्म पुल बनेर गाडी गुड्नुपर्नेमा सानो काठे पुलको भरमा सवारीसाधन वारपार गरिरहेका छन् । निर्माण कम्पनीले काम नगरेरै ३ पटक म्याद थपेको र ठेकेदारले राजनीतिक पहुँचका कारण निर्माणमा बेवास्ता गरिरहेको सडक आयोजनाका प्रमुख इन्जिनियर वीरेन्द्रकुमार यादवले गुनासो गरे । उनका अनुसार कम्पनीले २०७८ वैशाख ९ गतेभित्र सक्ने गरी उक्त निर्माण कम्पनीले २०७६ वैशाख १० मा पुल निर्माणको सम्झौता गरेको थियो  हिल्सा–सिमकोट सडकअन्तर्गत यांगारखोलासहित सल्लीखोला, ताग्रुखोला र हेप्का खोला गरी अन्य ३ वटा पुल निर्माणको काम भइरहेको छ । अन्य खोलामा काम अन्तिम चरणमा पुगे पनि यांगारमा भने समस्या देखिएको उनले बताए । उनका अनुसार सल्लीखोलामा पुल निर्माणको जिम्मा पाएको स्वच्छन्द/काग्री जेभीले दायाँबायाँतर्फको बिमको ढलानसहित अन्य सबै काम पूरा गरी झन्डै ७० प्रतिशत निर्माण सकेको छ ।

ताग्रुखोला र हेप्काखोलामा पुल निर्माणको जिम्मा पाएको सपना/धुलिखेल जेभीले दायाँबायाँतर्फको फाउन्डेसन उठाई आधा बिम ढलान गरेको उनले बताए । उनका अनुसार दुवै पुलको झन्डै ५० प्रतिशत काम सकिएको छ । यांगारमा भने १० प्रतिशत पनि काम नभएको आयोजना प्रमुख यादवले बताए । उनका अनुसार सल्लीखोलामा १० करोड ५४ लाख, हेप्काखोलामा ११ करोड २९ लाख र ताग्रुखोलामा १० करोड ५७ लाख रुपैयाँमा ठेक्का भएको हो ।सबै पुल निर्माणको सम्झौता सँगसँगै भएको थियो । यांगार खोला पुलको निर्माण कम्पनीका प्रतिनिधि अहिले सम्पर्कमा नरहेको उनले गुनासो गरे । ‘हामीले विभिन्न माध्यमबाट ताकेता गर्दा पनि उनी सम्पर्कमा छैनन्,’ उनले भने, ‘सडक विभागबाट म्याद थपेको जानकारी मात्र आउँछ तर काम हुँदैन, हामीसँग ठेकेदारलाई कारबाही गर्ने अधिकार नहुँदा पनि समस्या भएको छ ।’

सलीसल्लामा बेलिब्रिज बन्दै

चंखेली र सर्केगार्ड गाउँपालिकालाई जोड्न सलीसल्लामा बेलिब्रिज बन्ने भएको छ । सलीसल्लामा पुल नहुँदा कर्णाली करिडोरको बाटो भएर आउने यातायातका साधन सलीसल्लामा रहेको कर्णाली नदी पारि नै सामान झारेर फर्कनुपर्ने बाध्यता छ । अब बेलिब्रिज बनाउने प्रक्रिया सुरु गरिएको हिल्सा–सिमकोट सडक आयोजना कार्यालयले जनाएको छ ।पुल नहुँदा नदीपारि ढुवानी भएका सामान नदीमाथि बनाइएको तुइनबाट महँगो ढुवानी भाडा तिरेर तार्दै आएको स्थानीय कमल विकले बताए । उनका अनुसार यात्रुहरू भने झोलुंगे पुल तर्दै आउजाउ गर्छन् । उक्त बेलिब्रिज निर्माणका लागि आयोजनाले टेण्डर आव्हान गरी कंगी निर्माण सेवालाई छनोट गरेको र केही दिनमा सम्झौता हुने आयोजना प्रमुख यादवले बताए ।

निर्माण कम्पनीलाई असार मसान्तसम्मको म्याद दिइने उनको भनाइ छ । ५० मिटर लामो र ४ मिटर चौडाइको बेलिब्रिज झन्डै एक करोडको लगानीमा निर्माण हुन लागेको हो ।

तपाईको प्रतिक्रिया